पाकिस्तानद्वारा स्वागत: भारतद्वारा बिरोध
संयुक्त राष्ट्रसंघ मानवअधिकार कार्यालयले कश्मिरको विवादित क्षेत्रमा भएको मानवअधिकार उल्लंघनको स्वतन्त्र छानविन गर्न आव्हान गरेको छ । राष्ट्रसंघको मानवाधिकार कार्यालयले तयार पारेको प्रतिवेदन कश्मिरमा भएका मानवअधिकार उल्लंघनका घटनाबारे समेत उल्लेख छ ।

संयुक्त राष्ट्रसंघले कश्मिरबारे तयार पारेको यो प्रकारको पहिलो प्रतिवेदन हो । राष्ट्र संघ मानवअधिकार कार्यालयको सो प्रतिवेदन जुलाई २०१६ मा विद्रोही हिज्बुल्ला मुजाहिद्धिनका कमाण्डर २२ वर्षीया बुरहान बानीको हत्यापछि भारतीय सुरक्षाकर्मीबाट भएको ज्यादतीसँग सम्बन्धित रहेको छ ।
सो प्रतिवेदनमा भारत र पाकिस्तानका समेत सुरक्षा फौजले मानवअधिकारको उल्लंघन गरेको र यसरी मानवअधिकार उल्लंघनमा सहभागीलाई कारबाही गर्नुको साटो प्रश्रय दिँदा दण्डहीनता बढेको उल्लेख गरिएको छ । कश्मीर भारत र पाकिस्तान प्रशासित क्षेत्रका रुपमा विभाजित छ ।
दुवै देशले कश्मीरमाथि आफ्नो दाबी गर्दै आएका छन् । कश्मिरकाविषयलाई लिएर दुई पटक युद्ध समेत भइसकेको छ ।
राष्ट्रसंघीय मानवअधिकार कार्यालयका प्रमुख जैद राद अल हुसेनले आगामी साता सुरु हुने मानवअधिकार परिषदको नयाँ सत्रमा आफूले कश्मिरमा भएको मानवअधिकार उल्लंघनका घटनाबारे छानविनका लागि स्वतन्त्र आयोग बनाउन आग्रह गर्ने समेत जानकारी दिएका छन् ।
यो प्रकारको उच्च स्तरीय आयोग सिरिया युद्धका क्रममा भएको भनिएको मानवअधिकार उल्लंघनका घटनाजस्तै संसारमा गम्भीर मानवअधिकार उल्लंघनको छानविनका लागि गठन गर्ने गरिन्छ ।
भारत र पाकिस्तानको नियन्त्रण रेखामा हिंसात्मक घटना भएको केही दिनपछि यो प्रतिवेदन बाहिर आएको हो । बुरहान बानीको हत्यापछि कश्मिरमा भड्किएको हिंसाको अध्ययनका लागि मानवअधिकारवादीले त्यहाँ प्रवेशको माग गरेपनि भारत सरकारले अनुमति दिएको थिएन ।
राष्ट्रसंघीय मानवअधिकार कार्यालयको यो प्रतिवेदन पनि पछिल्ला दुई वर्षदेखि हिंसात्मक अवस्थामा रहेको भारत प्रशासित कश्मिरका विषयमा बढी केन्द्रित रहेको बताइएको छ । हिज्बुल्ला नेताको हत्यापछि भारतीय सेनाले गरेको ज्यादतीका कारण १ सय ५० जना भन्दा बढीको मृत्यु भएको छ भने सयौं घाइते तथा अपांग बनेका छन् । यस्तै विद्रोहीको आक्रमणमा परी २० जनाभन्दा बढीको मृत्यु भएको छ ।
जैदले भनेका छन्, ‘भारतीय सुरक्षाकर्मीले कश्मिरमा गरेको अत्याधिक बल प्रयोगको पुनरावृत्तिबाट बच्नु आवश्यक छ ।’ यसैगरी पाकिस्तान प्रशासित कश्मिरमा पनि मानवअधिकार हननका शृङखला जारी रहेको उल्लेख गरिएको छ ।
कार्यालयले पाकिस्तान प्रशासित कश्मिरमा अभिव्यक्ति र सभासम्मलेन गर्न पाउने स्वतन्त्रताको कमीका कारण मानवअधिकारको स्थितिबारे अध्ययन गर्न कठिन भएको उल्लेख गरिएको छ । पाकिस्तानले शान्तिपूर्ण राजनीतिक र नागरिक गतिविधि र असन्तुष्टि व्यक्त गर्ने जनतामाथि कारबाही गर्न आतंकवादविरोधी कानुनको दुरुपयोग रोक्नुपर्ने कार्यालयको जोड छ ।
भारत प्रशासित कश्मिरमा करिब ५ लाख भारतीय सेना तैनाथ गरिएको छ । तर, कश्मिरीहरुले लामो समयदेखि स्वतन्त्रताका लागि संघर्ष गरिरहेका छन् ।
पाकिस्तानद्वारा स्वागत
यसैबीच, पाकिस्तानको विदेश मन्त्रालयले कश्मिर घटनाको छानविनका लागि आयोग गठन गर्ने राष्ट्रसंघीय मानवअधिकार कार्यालयका प्रमुखको भनाईको स्वागत गरेको छ । पाकिस्तानले सन् २०१६ मा कश्मिरमा हिज्बुल्ला नेता बुरहान बानीको हत्यापछि भड्किएको हिंसामा भारतीय सेनाले गरेको ज्यादतीको छानविन हुनुपर्ने माग गर्दै आएको थियो ।
भारतीय सेनाले प्रदर्शनकारीमाथि गोली चलाउनुका साथै, अश्रुग्याँस प्रयोग गर्दा हजारौं प्रभावित बनेका थिए । यस्तै कतिपय स्थानमा सुरक्षाफौजबाट यौन शोषणका घटना समेत भएको पाकिस्तानको दाबी छ ।
भारतको विरोध
भारतले भने संयुक्त राष्ट्रसंघले कश्मिरमा भएको मानवअधिकार उल्लंघनबारे जारी गरेको प्रतिवेदन खारेज गरेको जनाएको छ । भारतले यो प्रतिवेदनमाथि तिखो प्रतिक्रिया व्यक्त गर्दै भ्रामक, पक्षपातपूर्ण भएको प्रतिक्रिया दिएको छ ।
भारतीय विदेशमन्त्रालयले यो रिपोर्ट पूर्ण रुपमा पूर्वाग्रहबाट प्रेरित रहेको र गलत तस्बिर पेश गरेको आरोप समेत लगाएको छ । यस्तै उसले यसले भारतको सम्प्रभुता र क्षेत्रीय अखण्डताको उल्लंघन गरेको टिप्पणी पनि गरेको छ । भारतले सम्पूर्ण जम्मू कश्मिर भारतको अभिन्न अंग भएको उल्लेख गरेको छ । पाकिस्तानले भने भारतले कश्मिरमाथि जबरजस्ती कब्जा जमाएको आरोप लगाउँदै आएको छ ।
भारतीय विदेशमन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘यो रिपोर्टमा भारतीय क्षेत्रलाई गलत तरिकाले व्याख्या गरिएको छ जो कि क्षतिपूर्ण, भ्रामक र अस्वीकार्य छ । गिलगित–बाल्टिस्तान र आजाद कश्मिर जस्तो कुनै पनि क्षेत्र छैन ।’ पाकिस्तान प्रशासित कश्मिरलाई पाकिस्तानले ‘आजाद कश्मिर’ भन्ने गर्दछ ।
भारत प्रशासित कश्मिरमा गोली हानाहान
श्रीनगर/एजेन्सी– भारत प्रशासित कश्मिरमा बिहीबार सुरक्षा अधिकारी र आतंककारीबीच भएको दाहोरो गोली हानाहानमा परी एक सैनिक र दुई विद्रोहीको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले सो भिडन्तमा परी तीन जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
कश्मिरको राजधानी श्रीनगर शहरबाट करिब ६५ किलोमिटर उत्तरमा रहेको बान्दिपोरा जिल्लाको पाना जंगलमा दोहोरो गोली हानाहान भएको सरकारी स्रोतले जानकारी दिएको छ । जंगलमा भएको सो दोहोरो गोली हानाहानमा परी दुई आतंककारी र एक सैनिकको मृत्यु भएको कर्नेल राजेस कालियाले जानकारी दिएका छन् ।
सो इलाकामा विद्रोहीहरुको खोजी कार्य जारी रहँदा भिडन्त भएको बताइएको छ । सो क्षेत्रमा विगत लामो समयदेखि हिंसात्म भिडन्तहरु हुँदै आएका छन् । गत आइतबार पनि कुप्वाला जिल्लाको तल्लो इलाकामा भारतीय सेनाको कारबाहीमा परी कम्तीमा ६ जना विद्रोही मारिएका थिए ।
– एजेन्सी

