कविता अधिकारी
विश्वकै अग्लो शिखर सगरमाथाको चुचुरोमा पुगेर कल्पना महर्जनसहितको महिला पत्रकारको टोली मंगलबार काठमाडौं ओर्लियो । एयरपोर्टमा परिवारका सदस्यले न्यानो स्वागत गरेका उनीहरु बुधबार दिनभरी शुभेच्छुक आफन्तसँग रमाइलो गरे । विश्वकै पहिलो महिला पत्रकारको टोली, त्यसमध्ये पनि महर्जन परिवारबाट पहिलो महिला सगरमाथा आरोही कल्पनाको घरमा बधाई दिन बुधबार दिनभरी चहलपहल थियो । नेवारी समुदायमा कुनै राम्रो कामगरी घर फर्कदा जो कोहीलाई सगुन दिएर सम्मान गर्ने चलन छ । कल्पनाको घरमा सगुन दिनेको घुँइचो थियो ।

ललितपुरको ठेचोमा रहेको उनको पुरानो पुख्र्यौली घरमा दही, फलफुल, अण्डा, माछा सगुन लिएर आउने आफन्त अनि आएका आफन्तलाई टिका लगाउँदै सगुन बाँढ्न व्यस्त थिइन कल्पनाकी सासु भ्यान्टी महर्जन । आफन्तले दिएको सगुन खाँदै आउनेजाने आफन्तलाई सगरमाथाको अनुभव सुनाउन व्यस्त थिइन कल्पना, बीचबीचमा फोन उठाउन पनि उनलाई भ्याइ नभ्याइ थियो । यतिनै बेला बालुवाटारबाट फोन आयो । कल्पना र उनको परिवारका दुई सदस्यलाई प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार चारबजे खाना खानेगरि आउन भनिएको रहेछ । यो सुनाउँदै कल्पना दंग परिन् । एकैछिन बालुवाटार को को जाने भन्ने कुरामा छलफल भयो । अनि कल्पनाले नै निर्णय गरिन सासु र श्रीमानलाई लानु पर्ला । डेढ महिनादेखिको हिमालको बसाइबाट फर्किएकी कल्पनाको अनुहारले बिस्तारै रंग फेदै थियो । हिउँका डल्लाले हिर्काएर पटपटी फुटेका रातारात गाला, कालो बनाएको ओठ र महिनौ दिनदेखि ननुहाएको खर्सो कपालले उनी निक्कै थाकेकी जस्ती देखिन्थिन् । सगरमाथा जाने पाँचजना महिला पत्रकारको टोलीमा उनीमात्रै बच्चाकी आमा थिइन् । अरु सबै साथीहरु अविवाहित थिए । बिभिन्न सञ्चारमाध्यमममा कार्यरत महर्जन, देउराली चाम्लिङ, रोशा बस्नेत, रोजिता बुद्धाचार्य र प्रियालक्ष्मी कार्कीले सगरमाथा जाने निर्णय लिई बिगत डेढबर्षदेखि त्यसका लागि तालिममा निस्किएका थिए । प्रियालक्ष्मी भने समस्या देखिएपछि वेसक्यामबाट फर्किन् ।
सगरमाथाको चुचुरो टेक्ने उदेश्यले हिंडेकी कल्पना शुरुमै बिरामी भइन् । शरीरमा अक्सिजनको कमि भएपछि बेडमै भर्ना भएकी उनलाई डाक्टरले एक हप्ता रेष्ट गर्न भनेका थिए । बेलाबेला घरमा सम्पर्क गदै अगाडि बढिरहेकी उनलाई हरेक पटक सानो छोराले भन्थ्यो ‘ममी टपमा पुग्यौ ?’ उनले भनिन,–‘बिरामी भएर हस्पिटलको बेडमा छु, जान पाउने हो÷होइन थाहा छैन, छोरासँग बोल्दा टपमा पुग्यौं ? मात्रै भन्थ्यो मेरो त आँखाबाट आँसु नै आयो अनि मैले साहस गरे मैले सानो छोरालाई जवाफ दिनका लागि भएपनि निको हुनुपर्छ, सगरमाथा चढनुपर्छ ।’
यसो भनिरहँदा उनको बोली टक्क अडियो, आँखा टलपल टलपल आँसुले भरिए । एकहप्ता आराम गर्न भनेपनि उनी तीनदिनमै ठिक भएर सगरमाथा चढ्ने अठोटले आँट कसिन् । हिमाल चढ्न बेसक्याम्पबाट शुरुभयो उनीहरुको चुचुरोमा पाइला टेक्ने अभियान । हिमाल चढ्न पहिला नै त्यहाँ डोरी फिक्स हुनेरहेछ कल्पनाले भनिन,–‘त्यही डोरीमा चढेर चिरा परेको ठाउँमा भरयाङ्ग लगाउँदै पहाड छिचोल्दै रातदिन उनीहरु हिंडे । टिममा गएपनि हरेकका आआफनै शेर्पा गाइड भएकाले छरिएर हिंडेका थिए उनीहरु ।
‘हिमाल चढ्दा सबैभन्दा डेन्जर जोन खुम्बु आइस रहेछ,’ कल्पनाले भनिन, ‘त्यहाँ पुगेपछि त हावा खुव चल्थ्यो, आइसफल पनि हुने डेन्जर नै थियो । अझ माथि क्याम्प फोरमा पुग्दा बाल्कोनी भन्छ । त्यहाँ मानिसको लास पनि देखे, मैले त्यही हो लास नजिकबाट हेर्न पाएको ।’
हिमाल चढ्दा साथी चिप्लिएर लड्यो या समस्यामा प¥यो भने कसैले केही गर्न सकिदैन । । हिमाल चढ्दा दुईजना हिंडिरहदा हातखुट्टा चलुञ्जेल एकले अर्कालाई साथ दिने नत्र छाडेर अघि बढ्नुपर्ने अवस्था आउँछ । ‘तर मैले प्रयास गर्न छोडे मेरो हात खुटटा चल्न छोड्यो लड्यो भने तपाइले मेरो साथ छोडिदिनुहुन्छ । किन भने मलाइ बोक्दा तल झ¥दा तपाई आफै खस्नु हुन्छ अनि कस्ले बोकेर तलमाथि गर्छ ? अरुको उद्धार गर्दा आफु मर्छ भने अरुले किन त्यस्तो गर्छ ? त्यहाँको स्थिती त्यस्तो हुन्छ ’उनले भनिन् ।
सगरमाथाको चुचुरोमा टेक्ने पहिलो महिला पासाङ्गल्हामु शेर्पाको जीवन कहानी कितावमा पढ्न पाएकी कल्पनाले ७ हजार ९ सय मिटर पुगेपछि पासाङ्गलाई सम्झिइन । ‘क्याम्प फोरलाई बाल्कोनी भन्छ । बाल्कोनीमा पुग्दा मैले पासाङ्ग ल्यामु शेर्पालाइ एकदमै सम्झिए, यही ठाउँमा पुग्दा पासाङ्ग ल्यामुले यस्तो गरिन् होला, अक्सिजन फेरिन होला भन्ने मनमा आयो । बाल्कोनी कटेपछी हिलारी स्टेप आउँछ, त्यहाँ अक्सिजन चेक गरिन्छ, हिलारी स्टेपमा चाहि एकदमै डरलाग्यो मलाई । सानो बाटो त्यहाँबाट लड्यो भने त बाँच्ने चान्स नै हँुदैन थियो, म त हिलारी स्टेपदेखि नै रुन थालिसकेको थिएँ । अव टप आइपुग्न लाग्यो भन्ने मनमा पनि भयो’ उनले सुनाइन् ।
सगरमाथाको शिखर चुम्न बेसक्याम्पबाट हिंडेको कतिदिनमा पुगेको भन्न उनलाई याद छैन । तर २३ तारिखको विहान ६.३५ मा सगरमाथाको शिखरमा चुम्न पाउँदा खुसीले केही सोच्नै नसकेको उनले बताइन । ‘काठमाडौंबाट त्यतातर्फ लाग्दा चारैजना साथीहरु भन्थे सगरमाथाको चुचुरोमा पुगेपछि राष्ट्रिय गीत गाउने भिडियो बनाउने के के गर्ने धेरै योजना थिए, तर टपमा पुगेपछि दिमागले केही सोचेन । मलाई त रुनमात्रै मन लाग्यो’ उनले भनिन् ।
हिमालको चिसोले फुटेर चिराचिरा परेका गाला सुम्सुम्याउँदै उनले भनिन,–‘सगरमाथाको टुप्पोमा बसेर त्यहाँबाट तलतिर हेर्दाको रमाइलो क्षण शब्दमा व्याख्या नै गर्न सक्दिन । त्यो हेर्दा त लाग्यो सिरियलमा देखेको भगवानहरु बस्ने ठाउँ जस्तै, सिरियलमा देखेको हिमालयको कथा भगवानहरु बसेको ठाउँ अनि स–साना हिमालको बिस्कुन’ उनी भन्दै थिइन ।
सगरमाथाको शिखरमा पुगेपछि उनीहरुले त्यहाको अवस्था राम्रोसँग नियाले । कल्पनाले सगरमाथाको शिखरमा मन्दिरमा पुजागर्ने जस्तै सानो घण्टी, बुद्ध ध्वजाहरु, हिउँले ढाकिएको बृद्धको मुर्ति, पृथ्वीनारायण शाहको मुर्ति देखिन् । सगरमाथाको चुचुरोमा उनीहरुले करिव एक घण्टा बिताए ।
माथि टपमा जाँदा कहिले पुगिन्छ भन्ने मात्रै ध्यान दिएका उनीहरुले फर्कदा धेरै कुरा नियाल्दै फर्किए । ‘सगरमाथा त कति फोहोर, म्याट पनि त्यही छोडेको, दुई तिनसय पिस जति चम्चा काँटा त्यही फालिएको । क्याम्प फोर त एकदमै फोहोर दिसा पिसाव पनि त्यही मानिस मरिरहेको पनि । त्यो देखेर रुन मन लाग्यो । अनि टुरिजम व्यवसायप्रति रिस उठ्यो अन्तराष्ट्रिय बजारमा कसरी कुन मुख लिएर मार्केटिङ्ग गर्न जान्छन होला भन्ने लाग्यो’ कल्पनाले भनिन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा छ भनेर नेपालीहरुले गर्वका साथ विश्वमा प्रचार गरिरहेका छन् । त्यहाँको फोहोरको व्यवस्थापन नभएको देख्दा गएका सबै आरोहीहरु छक्क पथ्र्ये । कल्पनालाई पनि त्यहाँको फोहोर देखेर दुःख लाग्यो । भन्छिन,‘नेपाल सगरमाथाको देश हो भनेर कुन मुखले मार्केटिङ गर्ने विदेश जान्छन होला ? कस्ले सफा गर्ने ? हिउले पुरिएको छ ? काठमाडौको हालत र सगरमाथाको हालत उस्तै रहेछ धेरै नै फोहोर । काठमाडौ जस्तै ग्रसित छ सगरमाथा किनभने त्यहाँको फोहोरले त्यहाँ चढ्ने अधिकांशलार्ई बिरामी बनाएको छ ।’
साभार- चक्रपथ अनलाइन

