प्रदेश–२ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदले सो प्रदेशको विकासलाई आर्थिक वर्ष ०७५÷७६ को बजेटमा विशेष महत्व दिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

११ जना सांसदले प्रधानमन्त्री निवास वालुवाटारमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न २४ वटा विषय समेटेर ज्ञापनपत्र बुझाएका हुन् । कृषि, उद्योग, पर्यटन, यातायात, स्वास्थ्य, चुरे संरक्षण तथा नदी नियन्त्रण, शिक्षा तथा खेलकुलगायत विषय समावेश गर्न माग गरेका छन् । प्रदेश–२ विकास सूचांकमा पछाडि परेको भन्दै यो प्रदेशलाई अन्नको भण्डार र औद्योगिक क्षेत्रको रूपमा विकास गर्न माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले सरकारले तिव्र विकास गर्न चाहेकाले सबै क्षेत्रलाई समेटेर बजेट आउने जानकारी गराएका छन् । ‘विकासका लागि अरूको मुख ताक्ने र दोष अरूलाई दिएर आफू उम्कने होइन’ उनले अगाडी भने, ‘विकासका लागि आफैं अग्रसर हुनुपर्छ । अरूको मुख ताकेर पनि हुदैन ।’
तराइको ठूलो जनसंख्या विदेशमा गएर काम गरिरहेकोले त्यो जनसंख्यालाई स्वदेशमै फर्काएर काममा लगाउनुपर्ने धारणा व्यक्त गरे । सरकार देशमा सुशासन, भ्रष्टाचार नियन्त्रण, शान्ति सुव्यवस्था कायम गर्न लागिपरेको भन्दै प्रधानमन्त्री ओलीले देशमा कृषिबाट मात्र क्रान्ति सम्भव हुने बताए । उनले देशमा प्रशासनिक खर्च धेरै भएर विकासमा केही कठिनाइ भएको भनाइ राखे ।
सांसदले सुनकोसी मारिन वागमती सिँचाइ आयोजना, सुनकोसी कमला डाइभर्सन, गण्डक नहर पुनः संरचना, आर्गेनिक मल कारखाना स्थापना, कृषि विश्वविद्यालय स्थापना, राष्ट्रियस्तरको प्रविधियुक्त कृषिबजारको निर्माण, प्रदेश–२ लाई कृषि जोन घोषणा, लोकमार्गको उत्तरतर्फ पशुपालन, फलफूल तरकारी खेती चिया खेती र लोकमार्गको दक्षिणतर्फ माछापालन, अन्न उत्पादन र बीउबिजन उत्पादन लगायतका विषय वजेटमा समावेश गर्न माग गरेका छन् ।
त्यस्तै, बन्द भएका जनकपुर चुरोट कारखाना, वीरगञ्ज कृषि औजार कारखाना र वीरगञ्ज चिनी कारखाना लगायतका उद्योगहरूलाई आधुनिकीकरण गरी पुर्नसंरचना तथा रौतहटलगायत सबै जिल्लामा औद्योगिक क्षेत्र स्थापनाको माग पनि गरिएको छ ।
कोसी वन्यजन्तु आरक्षण, छिन्नमस्ता भगवती मन्दिर सखडा, राजा सलहेस दरबार सिरहा तथा फूलबारी धाम, जनकपुरको जानकी मन्दीर, मणीमण्डप, तथा धनुषाधाम, महोत्तरीको जलेश्वरनाथ मन्दिर, रौतहट नुनथर, बाराको गडीमाई, पर्साको विन्धवासिनीमाई र पर्सा वन्यजन्तु आरक्षण केन्द्रलाई पर्यटनको सर्किट बनाउनुपर्ने माग पनि गरिएको छ ।
जनकपुर जयनगर, बर्दिवासदेखि सिमरासम्मको रेल मार्ग द्रुत गतिमा निर्माण, हुलाकीमार्ग निर्माण, प्रत्येक जिल्लाको सदरमुकाम हुँदै भारतको सिमासम्म चार लाइनको सडक, लोकमार्गदेखि मध्यपहाडी मार्गसम्मको सडक, निजगढको प्रस्तावित अन्तर्राष्ट्रिय हवाई मार्ग विमानस्थल यथाशिघ्र निर्माण, निजगढ काठमाडौ फास्ट ट्रयाक अविलम्ब निर्माण, राजविराजको एयरपोर्टमा कार्गो सेवा सञ्चालन, जनकपुर एयरपोर्टलाई प्रदेश स्तरउन्नति गर्दै रात्री सेवा सञ्चालन गर्ने, रामायण सर्किटलाई जनकपुर, धनुषा धाम र धारापानीसम्मको चारलाइनको सडक, कञ्चन रूपनगरपालिका–१२ चौबाटो वस्तप्सुर हुँदै उदयपुर सिँचाइसम्मको सडकलगायतका विषयमा पनि बजेटमा समावेश हुनुपर्ने सांसदहरूले माग गरेका छन् ।(सौर्यदैनिक)

