-प्रा.डा. बाबु राम ज्ञवाली
श्रीमद्भगवद्गीता अध्याय १८ सहजज्ञानले दु:ख निवारण
१.सन्न्यास जरुरी कि त्याग
अर्जुन उवाच
सन्न्यासस्य महाबाहो तत्त्वमिच्छामि वेदितुम् ।
त्यागस्य च हृषीकेश पृथक्केशिनिषूदन ।।१।।
अर्जुनले भने– हे महाबाहु, हे हृषीकेश, हे केशिनिसूदन, मैले सन्न्यास र त्यागलाई यथार्थरुपमा पृथक् पृथक् जान्न चाहन्छु ।।१।।
श्रीभगवानुवाच
काम्यानां कर्मणां न्यासं सन्न्यासं कवयो विदु ः ।
सर्वकर्मफलत्यागं प्राहुस्त्यागं विचक्षणा ः ।।२।।
श्रीभगवान्ले भन्नु भयो– विद्वान्हरुले काम्यकर्मको त्यागलाई सन्न्यास ठान्दछन् र अरु विचक्षणले सबै कर्मको फल त्याग गर्नुलाई त्याग भन्दछन् ।।२।।

अध्यायको सुरुमा अर्जुनले प्रश्न गर्छन्– हे हृषीकेश, हे, मैले सन्न्यास र त्यागलाई अलि राम्रो गरी बुझ्न चाहन्छु । यी दुईमा फरक के छ ?
भगवान् श्रीकृष्णलाई गीतामा अच्युत, अनन्त, वासुदेव, योगेश्वर इत्यादि ३२ नामले सम्बोधन गरिएको छ । यस अध्यायको सुरुमा अर्जुनले कृष्णलाई तीनवटा सम्बोधन गरेका छन्– महाबाहो, हृषीकेश, र केशिनिसूदन । प्रत्येक सम्बोधन विशिष्ट छ । महाबाहोको अर्थ हुन्छ– श्रेष्ठ वीर । केशिन् नाम गरेको दैत्यको संहार गरेकोले केशिनिसूदन भनिएको हो । हृषीकेशका दुई अर्थ हुन्छन् । हर्षित् केश अर्थात् ठाडो कपाल हुने तथा हृषीक ईश इन्द्रियका स्वामी ।
तर अर्जुनले एकै पटक तीन तीनवटा नामले सम्बोधन किन गरेको होला ? कुनै व्यक्तिले अर्कालाई यसरी एक साथ धेरै नामले सम्बोधन गर्नुका दुई कारण हुन सक्छन्– कि त उ सारै हडबडाएको छ कि उसमाथि असाध्य प्रेम उम्लिएर आएको छ । गीता सुरु ह“ुदा अर्जुन हडबडाएका, अनिश्चित र विषादग्रस्त थिए । यस बाहेक धेरै नाम लिएर एघारौं अध्यायमा सम्बोधन गरिएको छ । त्यहा“ कृष्णको विश्वरुप देखेर अर्जुनले आत्तिएर धेरै नाम लिएका थिए । तर विश्वरुपदर्शन पछि उनी ढुक्क छन् । त्यसैले यी बढी सम्बोधन अतिशय विश्वास र प्रेमका सूचक हुन् भन्न सकिन्छ । अनि यस प्रेमवश धेरै नाम लिएका हुन् ।
अब त अर्जुन कर्म गर्न मनमनै तैयार भइसकेका छन् । तर उनलाई त्याग गर्ने कि सन्न्यास लिने ? जीवनका लागि जरुरी के हो ? यसमा फेरि अलमल भयो । अर्जुनलाई त्याग र सन्न्यास दुइ बिलकुल फरक विषय देखिएका छन् ।
भगवान्ले भन्नु हुन्छ– कविहरुले काम्य कर्मको त्यागलाई सन्न्यास ठान्दछन्…।
गीतामा भनिएको कविको अर्थ केवल गद्य वा पद्यमा कविता लेख्ने साहित्यकार होइन । यहा“ कविको अर्थ हो– सबै कुरा जान्ने । ज्ञानको विश्वकोश, विद्वान् । शास्त्रीय ज्ञानको गहिराईसम्म पुगेको । त्यसैले शुक्रलाई पनि कवि भनिन्छ । र उनलाई अमित प्रज्ञ महायशाः भनिएको छ । (महाभारत खण्ड ५, वि.सं.२०६१) स्वयं भगवान् कृष्णले आफ्ना विभूतिहरु बताउंदा आफुलाई कविनां उशना कवि भन्नु भएको छ ।
काम्य कर्म भनेका ती कर्महरु हुन्, जुन कामना पूरा गर्ने उद्देश्यले गरिन्छ । यस्ता काम्य कर्मको त्यागलाई विद्वान्हरुले सन्न्यास भन्दछन् । स्वाभाविक हुने कर्म होइन । सामान्य हिंडडुल गर्नु स्वाभाविक कर्म हो तर कुनै गाडी समाउनका लागि दौड्नु काम्य कर्म हो । काम्यकर्मको त्याग नै सन्न्यास हो ।
सन्न्यासका विविध अर्थ हुन्छन् । एउटा अर्थ हो सम्यक् न्यास । उचित तरिकाले स्थापन गर्नु । जसले हरेक क्रिया उचित तरिकाले सम्पन्न गर्छ त्यो सन्न्यासी हो । चार आश्रम मध्ये सन्न्यास एक हो । हिन्दु संस्कृतिमा व्यक्तिको व्यक्तित्व विकासका लागि चार आश्रम ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यासको व्यवस्था गरिएको छ । पूर्णायुलाई १०० वर्ष मान्दै प्रत्येक आश्रम २५ वर्ष मानिएको छ ।
प्रथम आश्रम ब्रह्मचर्य आश्रम अन्तर्गत व्यक्तिले गुरुको आश्रममा रहेर कठोर अनुशासन पालन गर्दै विद्याध्ययन गर्नु पर्दथ्यो । ब्रह्मचर्य समाप्त भए पछि गृहस्थ आश्रम प्रारम्भ हुन्छ । गृहस्थ आश्रमको आरम्भ २५ वर्षको उमेर पछि मानिएको छ । यस आश्रममा धर्मानुकूल उपायहरुद्वारा विवाह, जीविकोपार्जन, सन्तानको पालन, देव, पिता, अतिथि र आश्रितको यथायोग्य सत्कार गर्नु पर्छ ।
तेस्रो अवस्थालाई वानप्रस्थ र चौथोलाई सन्न्यास भनिएको छ । दुवै अवस्थामा शुद्धतापूर्वक जीवनयापलाई जोड दिइएको छ । तर तेस्रो अवस्था जिम्मेवारी सन्तानलाई हस्तान्तरण गर्दै नियममा बस्ने अवस्था हो भने चौथो पूर्णतया जिम्मेवारीमुक्त शुद्धता साथ जीवनयापन गर्ने अवस्था हो । गीतामा ब्रह्मचर्य र सन्न्यासको स्पष्ट तथा गृहस्थ र वानप्रस्थको सांकेतिक विवरण उपलब्ध छ । (रामसुखदास, वि.सं.२०६७) जीवनका यी चार विभाजनलाई संक्षिप्तमा निम्न्लिखित प्रकार व्यक्त गर्न सकिन्छ–
तालिका १.१. आश्रम व्यवस्थामा समय विभाजन

यी चार कुराहरुबाट मानव जीवन पूर्ण हुन्छ भन्ने वैदिक मान्यता रहिआएको छ । म्याक्समुलरले द लाइफ अफ् रामकृष्ण एन्ड हिज सेईंग्समा भनेका छन्– पहिलो र दोस्रो सबैले बुझ्छन् । तेस्रो र चौथो जीवन पवित्रता र त्यागका साथ बिताउने अवस्था हो तर त्यागपूर्ण जीवन अर्थात् सन्न्यास कस्तो हो यो हामी युरोपेलीलाई थाहा छैन । दुवै जीवनको मुख्य अन्तर के हो भने एउटामा वन बाहिर बस्ने हो जसमा परिवारसंग जीवन बिताउन सकिन्छ । केटाकेटीको रेखदेख हुनसक्छ । हवन पूजा हुनसक्छ । ती सबै कुरा जुन धर्मशास्त्रमा उल्लेख छन्, ती सबै काम गर्न सकिन्छ । अन्तिम जीवनमा एक्लै कसैको सहारा बिना बस्नु पर्छ । सबै कुरा छोडेर बस्नु पर्छ । (म्याक्समुलर, सन् १९७०) सन्न्यासका बारेमा स्वामी विवेकानन्दले के भनेका छन् भने विश्वमा यो परम्परा हिन्दुहरुले सुरु गरेका हुन् ।
वास्तवमा सन्न्यास भन्ने शब्दसंग संस्कृत साहित्य र परम्पराका अनुयायीले जति सजिलोसंग बुझ्न सक्छन् त्यति सजिलोसंग युरोपियनले बुझ्दैनन् । उनीहरुको भाषामा यसका लागि कुनै उचित शब्द पनि छैन । कोहीले उनीहरुलाई जंगलमा बस्ने पिछडिएको जाति भनेर पनि बुझ्न सक्छन् । ज्ञानको भण्डार र सबै सुख सयल जानेको भोगेको र त्यागेको भनेर बुझ्न कठिन मान्दछन् । उनीहरुले सुरुमा सन्न्यासीलाई जिप्सी जस्तो कुनै घुमन्ते जाति भनी बुझ्दथे । अलेक्जेन्डरको विवरण दिने इतिहासकारहरुले पनि सन्न्यासीहरुलाई वनमा बस्ने अनौठा व्यक्तिहरु भनेका छन् । युरोपियन समाजमा ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ, र सन्न्यास आश्रमको अन्तर पाईंदैन ।
संस्कृतमा वानप्रस्थ र सन्न्यास अवस्थाहरुको अलग अलग नाम उल्लेख पाइन्छ र दुवैको अन्तर के हो भने संसारको सामान्य त्याग वानप्रस्थ हो भने संसारिक तृष्णाको पूर्ण त्याग र सबै कृत्यहरुको परिसमाप्ति, मनमा कुनै चाहना नराख्नु र निश्चित वास स्थान नहुनु सन्न्यास हो । सन्न्यासीको अर्को नाम अवधूत पनि हो । जसको शाब्दिक अर्थ हुन्छ जसका सारा बन्धन समाप्त भए । (म्याक्समुलर, सन् १९७०)
सन्न्यासको प्रसंग बृहदारण्यक उपनिषदमा छ तर त्यस उपनिषदबाट वानप्रस्थ र सन्न्यासको अन्तर स्पष्ट हुंदैन । चारवटै आश्रमको अन्तर स्पष्ट गर्ने वाक्यांश जाबालोपनिषद, खण्ड ४ मा पाइन्छ । राजा जनकले सन्न्यास के हो र कसरी लिनु पर्छ भनी गरेको प्रश्नको उत्तरमा जसमा याज्ञवल्क्यले ब्रह्मचर्य, गृहस्थ, र वानप्रस्थ पछिका सन्न्यासको विवरण दिएका छन् । सन्न्यास लिने विस्तृत विधिहरु उपनिषद्हरुमा वर्णित छन् । तुरीयातीतोपनिषद्मा अवधूत मार्गको विवरण, नारदपरिव्राजकोपनिषद्मा आतुर सन्न्यास लिने तरिका तथा सन्न्यासीले पालन गर्नु पर्ने नियमहरु बताइएको छ । (आचार्य, सन् २०१०)
ऐतिहासिक युगका महानतम सन्न्यासी आदि शंकराचार्यले आठ वर्षको उमेरमा आतुर सन्न्यास लिएको विवरण प्राप्त हुन्छ । बालक शंकरले सन्न्यास लिन चाहन्थे तर आमाबाट स्वीकृति प्राप्त भइरहेको थिएन । एक दिन स्नान गर्न जांदा खोलामा उनलाई गोहीले समात्यो । आफु जीवित बस्ने आशा नभए पछि उनले आत्तिएर आमालाई भने– माता, सन्न्यास नलिइकन मुक्ति हुंदैन । त्यसैले सन्न्यासको आज्ञा दिनु होस् । आमाले हुन्छ भने पछि आतुर सन्न्यास लिए ।
आचार्य शंकरका अनुसार, सन्न्यास दुइ प्रकारका हुन्छन– मुख्य र गौण । मुख्य सन्न्यास पनि दुइ प्रकारका हुन्छन् । एक ज्ञान लाभका लागि– विविदिषा र अर्को ज्ञान लाभ अनन्तर– विद्वत्सन्न्यास । गौण सन्न्यास तीन प्रकारको हुन्छ– सात्विक, राजस र तामस । ज्ञान लाभका लागि जुन विविदिषा सन्न्यास हो त्यो गेरुवा वस्त्रधारीका लागि विधान हो । श्रवण, मनन र निदिध्यासन यसको मुख्य साधन हो । यसमा केवल शरीर धारण गर्न जति कर्मको आवश्यकता पर्छ त्यति कर्म मात्रै गर्नु पर्छ । लोकसंग्रह आदि यसको गौण लक्ष्य हो । ज्ञानलाभ पछि स्वतः कर्मत्याग हुन गई भएको विद्वत् सन्न्यासलाई वास्तवमा सन्न्यास भनिन्छ । (अपूर्वानन्द, वि.सं.२०७१)
सन्न्यासी पनि सक्कली र नक्कली हुन सक्छन् । अझ नक्कली सन्न्यासीको चुरीफुरी धेरै हुने गर्छ । सक्कली र नक्कली सन्न्यासीमा त्यही फरक हुन्छ जुन असल मुद्रा र कमसल मुद्रामा हुन्छ । तर असल र कमसल दुवै मुद्रा चलनमा छन् भने स्वाभाविक रुपमा कमसलले असललाई चलन बाहिर गराइदिन्छ । अर्थशास्त्रमा यसलाई ग्रेशमको नियम भनिन्छ । शिवपुरी बाबाको बारेमा धेरैले मृत्यु पछि मात्र थाहा पाए । पाइलटबाबाले नेपालका साधुसंग योग सिकेको बताएका छन् । धेरै नेपालीलाई ती सन्न्यासीको बारेमा कुनै जानकारी छैन ।
भगवान् कृष्ण भन्नु हुन्छ–…तर विचक्षण मानिसहरुले सबै कर्मको फल त्याग गर्नुलाई त्याग भन्दछन् । भगवान् कृष्णको विचक्षणताको एउटा उदाहरण हो यो श्लोक ।
एक दिन अकबरले आफ्ना मन्त्री बीरबललाई सोधे– बीरबल, म ठुलो कि तिम्रो भगवान् विष्णु ?
बीरबलले तत्काल उत्तर दिए– यो पनि कुनै सोध्ने प्रश्न हो र सरकार ? हजुर नै ठूलो ।
अकबरले खुशी भएर भने– किन म ठुलो ? भगवान् विष्णुले गर्न नसक्ने मैले के गर्न सक्छु ?
बीरबल– सरकारले मलाई देश निकाला गर्न सक्नुहुन्छ । भगवान् विष्णुले त्यो गर्न सक्नुहुन्न ।
बीरबल जस्तो व्यक्तिलाई विचक्षण भनिन्छ ।
२.कुन अत्याज्य कुन त्याज्य
त्याज्यं दोषवदित्येके कर्म प्राहुर्मनीषिण ः ।
यज्ञदानतपःकर्म न त्याज्यमिति चापरे ।।३।।
कुनै मनीषीले के भन्दछन् भने कर्म जति सबै दोषयुक्त छन्, त्यसैले त्याग्नु पर्छ । र अन्यले के भन्दछन् भने होइन यज्ञ, दान, र तपको त्याग गर्नु हुंदैन ।
निश्चयं शृणु मे तत्र त्यागे भरतसत्तम ।
त्यागो हि पुरुषव्याघ्र त्रिविधः सम्प्रकीर्तितः ।।४।।
हे भरत श्रेष्ठ, सन्न्यास र त्याग यी दुवैमध्ये त्यागको बारेमा तिमी मेरो निश्चय सुन । हे पुरुषसिंह, त्याग तीन प्रकारको बताइएको छ ।
यज्ञदान तपः कर्म न त्याज्यं कार्यमेव तत् ।
यज्ञो दानं तपश्चैव पावनानि मनीषिणाम् ।।५।।
यज्ञ, दान तथा तपरुप कर्मलाई त्याग्नु उचित छैन (यी क्रिया अवश्य गर्नु पर्छ) किनभने यज्ञ, दान, र तपले मनीषिहरुलाई पवित्र बनाउंछन् ।।५।।
एतान्यपि तु कर्माणि संगं त्यक्त्वा फलानि च ।
कर्तव्यानीति मे पार्थ, निश्चितं मतमुत्तम् ।।६।।
तर हे अर्जुन, यी कर्महरु पनि आसक्ति तथा फललाई त्यागेर गर्नु उचित हुन्छ । यस्तो मेरो निश्चित र उत्तम मत छ ।।६।।
एक थरी मनीषीले के भन्दछन् भने कर्म जति सबै दोषयुक्त छन्, त्यसैले त्याग्नु पर्छ । र अर्काथरीले के भन्दछन् भने होइन यज्ञ, दान, र तपको त्याग गर्नु हुंदैन ।
मनीषीको अर्थ हो जसले मनन गरेर बोल्छ । जसले बोले पछि दुर्जनहरु पनि शान्त हुनजान्छन् । विचार गरेर बोल्नेले कसैको पनि कुभलो बोल्दैन । त्यसैले त्यो माननीय पनि हुन्छ । रघुवंशमा भनेको छ– माननीयो मनीषिणाम्…। (रघुवंश १-११, आप्टे, (मिति नलेखिएको) बाट उदधृत)
सबै कर्म दोषपूर्ण हुन्छन् । जसरी रोग निको पार्ने औषधिको प्रत्यवाय (साइड इफेक्ट) हुन्छ भन्दैमा त्यसको त्याग गर्नु हुंदैन त्यसै गरी यज्ञ, दान र तपलाई त्याग्नु हुदैन । यो कुरा केही अन्यले भनेका छन् । यहा भगवान् कृष्णले आफ्नो नाम नलिइकन यज्ञ, दान, र तप त्याग गर्नु हुदैन भन्नु भएको छ । यो कृष्णको विचक्षणताको उदाहरण हो । श्रीकृष्णले यज्ञ, दान, तप त्याग गर्ने कुराको समर्थन नगरेको स्पष्ट बताउनु भएको छ । किनभने यिनै कर्मले व्यक्तिको आन्तरिक अनुभूति तिख्खर पार्छन् । यहा“निर स्मरणीय के छ भने छान्दोग्य उपनिषदमा केवल तीन कुराहरुलाई धर्मको आधार बताइएको छ– यज्ञ, अध्ययन, र दान । गीतालाई सर्वोपनिषदो गावो दोग्धा गोपालनन्दनः त्यत्तिकै भनिएको होइन ।
कबीरले भनेका छन्– ज्यों गुगे ही को गुड अन्तरगत ही भावै । कुनै लाटोले गुड खायो । सारै मीठो लाग्यो । तर बताउने कसरी ? केवल ईशारा वास्तविक अभिव्यक्ति होइन । बोल्यो कि दोष हुन जान्छ । (कबीर अमृतवाणी, वि.सं.२०७१, गीताप्रेस,वि.सं.२०६५)
यहुदीहरु, जुन संसारका प्राचीनतम जाति मध्येको एक हो, मा एउटा अनौठो परम्परा छ । उनीहरुले ईश्वरका लागि प्रयोग हुने शब्द गड, जी ओ डी लाई पूरा लेख्दैनन् । उनीहरुले जी र डीको बीचको ओ लेख्दैनन् । यी दुवै शब्दलाई जोड्न बीचमा धर्को (G_D) तान्छन् । उनीहरुको मान्यता के हो भने ईश्वर पूर्ण र दोषरहित छ । अच्युत छ । तर हामी अपूर्ण र दोषयुक्त छौं । त्यसैले हामीले प्रयोग गर्दा त्यसमा कुनै न कुनै दोष हुनजान्छ । त्यसरी लेखेर उनीहरुले आफ्नो अपूर्णताको स्वीकारोक्ति गर्छन् ।
त्यागको एउटा अर्थ हो बहादुर, वीर । जैन धर्मका अन्तिम तीर्थंकरलाई महावीर भनिन्छ । यसको अर्थ हो, सबै कुराको त्याग गरिसकेको । उनले शरीरका वस्त्र समेत सहज त्याग गरे । करपात्रीजीले खाने थालीको समेत त्याग गरे । जीवनभर हातमा थापेर खाना खान्थे । मस्तराम बाबाले खाना, वस्त्र सारा त्यागे । कसैसंग भिक्षान्न पनि नमाग्ने । कसैले ल्याइदिए खाने, नत्र हप्तौं दिनसम्म भोकै । यदि कुनै शिष्यले खानेकुरा मागेर ल्याइहाल्यो भने छुंदै छुन्नथे । वस्त्र पनि आफैं नलगाउने । शिष्य र भक्त संगै रहेछ भने ओढाई दिन्थ्यो, नत्र निर्वस्त्र । वस्त्र जहां खस्यो, खस्यो । छोड्यो, हिंड्यो । स्वामी रामतीर्थ कुनै पनि कुरा संग्रह गर्दैनथे । स्वामी रामकृष्णले पैसासम्म छुंदैनथे । शिवपुरी बाबाले जन्मथलो, नातेदार धनसम्पत्ति सर्वस्व त्याग गरे । न्यूनतममा जीवनयापन गरे । जबकि उनलाई भेट्न भारतका राष्ट्रपति समेत काठमाडौं आएका थिए । जोसमनी सन्त ज्ञानदिलदासले गाउ“ बस्ती त्याग गरेर वनको छेउमा डेरा बनाए । ब्रह्मज्ञानी क्षितिशचन्द्र र खप्तड बाबाले आफ्नो जन्मभूमि त्यागे । सन्न्यास जीवनको प्रारम्भ नै त्यागको भावनाबाट सुरु हुन्छ ।
भगवान श्रीकृष्णले आफ्नो अलग मत प्रस्तुत गर्दै भन्नु भएको छ– निश्चयं शृणु, निश्चितं मतम् । त्यो के हो भने यज्ञ त्याग गर्नु हुंदैन । तर यी कर्महरु पनि आसक्ति तथा फललाई त्यागेर गर्नु उचित हुन्छ ।
महात्मा गान्धी र विनोबाजीले यज्ञको अर्थ परोपकार लगाउछन् । मानव जातिका समस्याको हल यज्ञमा नै निर्भर छ । पं.श्रीराम शर्मा आचार्यले निरुक्तका आधारमा यज्ञ शब्दका तीन अर्थ लगाएका छन्– पहिलो देव पूजा, दोस्रो दान र तेस्रो सामूहिकपन । (आचार्य, सन् १९९१)
यज्ञहरुको वास्तविक लाभ लिनु छ भने सार्वजनिक सहयोगद्वारा गराउनु नै सर्वोत्तम हुन्छ । महाभारत र रामायणको अध्ययनबाट के स्पष्ट हुन्छ भने त्यस कालमा यज्ञ गराउने दायिŒव राज्यको हुन्थ्यो । यसलाई आर्थिक वितरण, राजकीय सूचना सार्वजनिक गर्नु, नागरिक चेतना विस्तार, र राष्ट्रिय विषयहरुमा छलफलका लागि विद्वान्हरु संगको गोष्ठीका रुपमा प्रयोग गरिन्थ्यो । राजाले राज्यारोहण गर्दा, सन्न्यास लिंदा, तथा ठूलो राजकीय उपलब्धि हु“दा यज्ञ हुने गर्थे । हुनत, योगी नरहरिनाथले पनि सार्वजनिक यज्ञ गराएका उदाहरणहरु छन् तर पं. नारायण प्रसाद पोखरेलले समुदायको सहयोगबाट गरेर यज्ञ विधिबाट भौतिक विकास र धार्मिक चेतना दुवै कार्यमा उल्लेखनीय काम गरेर यस क्षेत्रमा ठूलो योगदान गरेका थिए । उनले सार्वजनिक यज्ञ गराएर त्यसबेला दुइ अरबभन्दा बढीको रकम विकास निर्माण कार्यमा विनियोजन गर्न सफल भएका थिए । उनले यज्ञ मार्फत विद्यालय, अस्पताल, सडक, पुल, अनाथ आश्रम, वृद्धाश्रम इत्यादि आर्थिक, सामाजिक र कल्याणकारी कार्यको नवप्रवर्तन गरेका थिए । उनको अन्तिम तर अपूर्ण यज्ञ रुपन्देहीमा बैशाख २३, वि.सं.२०६२ मा भएको थियो । जहा“ उनको रहस्यमय हत्या हुनपुग्यो ।
गीतामा यज्ञको महत्त्व विभिन्न स्थानमा व्याख्या गरिएको छ । तर यज्ञको बारेमा विस्तृत रुपमा अध्याय ३.९–१५मा व्याख्या गरिएको छ । गीताको उपलब्ध सबभन्दा पुरानो शांकरभाष्य, जुन आज भन्दा १२०० वर्ष अघि गरिएको हो, मा यज्ञको व्याख्या निम्नलिखित प्रकार गरिएको छ । (आदि शंकराचार्य, वि.सं.२०६७)
नियत कर्म निःस्वार्थ भई पूरा गर्नु पर्दछ किनभने यज्ञ नै ईश्वर हो । उसका लागि कर्मफल र आसक्तिरहित भएर जुन कर्म गरिन्छ ती कर्म गर्नाले मनुष्य समुदाय कर्मबन्धनबाट मुक्त हुनजान्छ । सृष्टिको शुरुमा यज्ञ र प्रजालाई संगै उत्पन्न गरी जगतको रचयिता ब्रह्माले भन्नु भएको थियो– यस यज्ञ अर्थात् सामूहिक कृत्य र परस्पर सहयोगबाट तिमीहरुले उन्नति गर्नु । अनि तिमीहरुले चिताएको पनि पुग्ने छ ।
यस यज्ञबाट दैविक शक्तिहरुको पनि उन्नति हुनेछ । उनीहरु पानी वर्षाएर तिमीहरुको उन्नतिमा सहयोग गर्नेछन् । यसरी एकले अर्काको उन्नति गर्दै, यज्ञ भावनाद्वारा तिमीहरु सबैले ज्ञान प्राप्त गर्ने छौ ।
यज्ञद्वारा सन्तुष्ट भए पछि देवताहरुले दिएका स्त्री पुत्र आदि इच्छित भोग तिमीहरुलाई दिने छन् । देवता अर्थात् शक्तिहरु । सबै प्राकृतिक शक्ति अनुकूल नभइकन उन्नति गर्न सकिंदैन ।
यी भनाईहरु ऋग्वेदको पुरुषसूक्त जस्तै छन् । यस अनुसार, देवताहरुले दिएका भोग उनीहरुलाई सम्मान नदिइकन जसले केवल आफ्ना शरीरको तृप्तिका लागि मात्र कर्म गर्छ त्यो देवताको भाग खाने भएकोले चोर हो ।
मानव समुदायले प्रकृतिको सम्मान नगरीकन केवल आफ्ना आवश्यकता पूरा गर्न जथाभावी उत्पादन र उपभोग गरेकोले नै वर्तमान समयको भीषण वातावरणीय समस्या उत्पन्न भएको हो भन्नेमा सबै वातावरणविद् एक मत छन् । आजको वातावरण बिगार्नुमा, पशुपंक्षी लोप गराउनुमा, उर्वराशक्ति ह्रास गराउनुमा मानव समुदायले अरबौं खरबौं रुपैया“ खर्च गरेको छ । यो वातावरण बिगार्न मात्र पनि अरबौं लगानी भएको छ । तर के त्यत्तिकै लगानीमा पुनरुद्धार हुन सक्छ ?
प्राणीहरुको प्रत्यक्ष उत्पत्ति अन्नबाट हुन्छ किनभने उपभोग गरिएको अन्नबाट रगत र वीर्य बन्छ र प्राणी उत्पत्तिको आधार रगत र वीर्य नै हो । अन्नको उत्पत्तिको आधार वर्षा हो र वर्षाको आधार यज्ञ हो । यज्ञानुष्ठान विहित कर्मबाट उत्पन्न हुन्छ । कर्म समुदयलाई वेदबाट र वेद स्वयं परमात्मा हो भन्नेकुरामा ध्यान राख्नु पर्दछ । यसले के सिद्ध हुन्छ भने सर्वव्यापी परम अक्षर परमात्मा सदा यज्ञमा नै प्रतिष्ठित छ तसर्थ यज्ञ क्रिया सृष्टि चक्रको प्रतीक हो । अग्निमा विधिपूर्वक दिइएको आहुति सूर्यसंगै सम्बन्धित हुन जान्छ र सूर्यको आधारमा नै वर्षा हुन्छ । वर्षा भनेको अन्नको आधार हो र प्राणीहरुको जीवन अन्नमा नै भर पर्छ ।
क्रियारुप कर्म, वेदरुप ब्रह्मबाट उत्पत्ति भएको हो । वेदरुप ब्रह्म साक्ष्ाँत् परमात्मा नामक अक्षरबाट उत्पत्ति भएको छ । सबै अर्थहरुलाई प्रकाशित गर्ने भएकोले नै त्यो सर्वगत् हो ।
यज्ञ विधिमा वेदको प्रधानता भएकोले जसले त्यो गर्छ त्यो सर्वगत हुंदै सदा यज्ञमा प्रतिष्ठित हुन जान्छ । जुन मानिसले जगतको चक्र अनुसार कर्म गर्दैन त्यसको जीवन पापमय भएको हुन्छ । यस्तो केवल इन्द्रिय भोगमा लिप्त मानिस बांच्नु पनि व्यर्थ छ । तसर्थ अज्ञानी अधिकारीले कर्म अवश्य गर्नु पर्छ । अनात्म अधिकारी पुरुषलाई आत्मज्ञानको योग्यता प्राप्त हुनु अघि ज्ञान निष्ठा प्राप्त गर्न कर्मयोगको अनुष्ठान अवश्य गर्नु पर्दछ । शंकराचार्यका अनुसार, आत्मज्ञान प्राप्त गर्न यज्ञानुष्ठान अनिवार्य विधि हो । यो देवता र मनुष्यका बीचमा सम्बन्ध स्थापित गर्ने धार्मिक कृत्य पनि हो ।
यज्ञ आधुनिक विज्ञानको उद्गम बिन्दु पनि हो । आधुनिक विज्ञानको आधार गणित हो र गणितको प्रारम्भ यज्ञको आहुतिहरुबाट भएको हो । गणितको एक महत्वपूर्ण शाखा ज्यामितिको आविष्कार यज्ञवेदीबाट भएको हो । महान् वैज्ञानिक आइन्स्टाइनले स्पष्ट शब्दमा भनेका छन्– हामी वैदिक ऋषिमुनिहरु प्रति ऋणी छौं । किनभने उनीहरुले गणितको आविष्कार गरेका हुन् । गणितको प्रयोग बिना आजको भौतिक विज्ञानले उचाई प्राप्त गर्न सक्दैनथ्यो । सुप्रसिद्ध जीव वैज्ञानिक थोमस हग्बेनले भनेका छन्– वैदिक ऋषिहरुले विश्वलाई शून्य दिए जसले वर्तमान गणित विकसित हुनसक्यो ।
मनुस्मृतिमा भनिएको छ– सत्य युगमा तप, त्रेतामा ज्ञान, द्वापरमा ज्ञानको महत्त्व भए जस्तै कलियुगमा दानको महत्त्व छ । दान चार प्रकारका हुन्छन् (मनुस्मृति, सन् १९९१, ईश्वरानन्द, वि.सं.२०५१)–
१. ज्ञान दान
२. विद्या दान
३. प्राण दान
४. अन्न दान
यसमध्ये ज्ञान दान सर्वोत्कृष्ट दान हो । किनभने ज्ञाननै समाधानको अन्तिम साधन हो । यदि ज्ञानले कुनै समस्याको समाधान हुंदैन भने संसारमा कुनै पनि कुराले समाधान हुन सक्दैन । (ज्ञवाली, वि.सं.२०७२) त्यसैले गीता ४.३८ मा भनिएको छ, न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते ।
निश्चित मत प्रस्तुत गर्नाले भगवान् कृष्णलाई महानतम गुरु भनिएको हो । आफ्ना शिष्यलाई यसरी निश्चित समाधान दिने गुरु विरलै पाइन्छन् ।
३.नाफा, हानि र मिश्रित नतिजा
नियतस्य तु सन्न्यासः कर्मणो नोपपद्यते ।
मोहात्तस्य परित्यागस्तामसः परिकीर्तितः ।।७।।
अनि, तोकिएका कर्मको त्याग, सन्न्यास, हुन सक्दैन । अविवेकीबाट हुने त्यस्तो परित्यागलाई तामस भनिएको छ ।।७।।
दुःखमित्येव यत्कर्म कायक्लेशभयात्त्यजेत् ।
स कृत्वा राजसं नैव नैव त्याग फलं लभेत् ।।८।।
कर्म गर्नु दुख छ भन्ठानेर शरीरलाई कष्ट हुन्छ भन्ने डरले जसले कर्मलाई त्याग गर्छ, उसले राजस त्याग गरेको छ । त्यस्तो त्याग गरेर पनि त्यागीले त्यागको फल पाउंदैन ।।८।।
कार्यमित्येव यत्कर्म नियतं क्रियतेSर्जुन ।
सङ्गं त्यक्त्वा फलं चैव स त्यागः सात्विको मतः ।।९।।
हे अर्जुन, कर्म गर्नै पर्दछ भन्ने यस्तो कर्तव्य बुद्धिले आसक्ति र फललाई त्यागेर जुन नियत कर्म गरिन्छ त्यस आसक्ति र फलको त्यागलाई सात्त्विक त्याग भनिन्छ ।।९।।
न द्वेष्ट्यकुशलं कर्म कुशले नानुषज्जते ।
त्यागी सत्त्वसमाविष्टो मेधावी छिन्नसंशयः ।।१०।।
अकुशल कर्मलाई जसले द्वेष गर्दैन र कुशल कर्ममा जो आसक्त हुंदैन, त्यस्तो शुद्ध, सत्त्वगुणयुक्त, संशयरहित र मेधावी नै (सच्चा) त्यागी हो ।
न हि देहभृता शक्यं त्यक्तुं कर्माण्यशेषतः ।
यस्तु कर्मफलत्यागी स त्यागीत्यभिधीयते ।।११।।
(किनभने) शरीरधारीले सम्पूर्ण कर्मको त्याग गर्न सक्दैन । तर जसले कर्मफलको त्याग गर्छ, उ त्यागी हो, यस प्रकार बताइन्छ ।।११।।
अनिष्टमिष्टं मिश्रं च त्रिविधं कर्मणः फलम् ।
भवत्यत्यागिनां प्रेत्य न तु सन्न्यासिनां क्वचित् ।।१२।।
कर्मफलको त्याग नगर्ने मानिसलाई कर्मको शुभ, अशुभ, र मिश्रित गरी तीन प्रकारका फल प्राप्त हुन्छ । तर कर्मफल त्याग गर्ने सन्न्यासीलाई (यी तीनै प्रकारका फलमध्ये) केही पनि हुंदैन ।।१२।।
षडानन्द आफ्नो बिरालोसंग दिक्क पर्यो । अब यसलाई घर नफर्कने गरी कतै छोडेर आउ“छु भन्दै झोलामा हालेर नजीकै जंगलमा छोडेर आयो ।
घर फर्केर आयो । ढोकामा त बिरालो बसिराखेको ।
खपि नसक्नु रिस उठ्यो । अर्को चोटि घनघोर जंगल भित्रै लिएर गयो । अनि बिरालोलाई छोडेर घर फर्किने बेलामा घरमा फोन गर्यो– मैया“, बिरालो घर आयो ?
श्रीमती– अं, आइपुग्यो ।
षडानन्दले रिसाएर भन्यो– त्यस अलच्छिना बिरालोलाई तुरुन्तै यहा“ पठा त । मैले बाटो बिराए“ ।
बिरालो भनेको हाम्रा सांसारिक इच्छाहरु हुन् । जुन त्याग गर्न खोज्यो झन् गहिरो गरी भित्र बस्छ ।
सात्त्विक त्यागका विविध उदाहरण इतिहास र पुराणमा पाइन्छन् । महावीरले राजपाठ त्याग गरे । सिद्धार्थले १८ वर्षमा पत्नी यशोधरा र भर्खर जन्मेको पुत्र त्याग गरे । बुद्धत्व प्राप्त भए पछि जब बुद्ध कपिलवस्तु आए, बुद्धलाई दर्शन गर्न सबै आए तर यशोधरा आइनन् । बुद्ध नै सारिपुत्रलाई लिएर भेट्न गए । त्यहां यशोधराले बुद्धको पाउ स्पर्श गरिसके पछि एक गहन प्रश्न गरिन्– जुन सत्य तपाईंले निरञ्जना नदीको तटमा बोधिवृक्षको मुनि प्राप्त गर्नु भयो । के त्यो सत्य यहां छैन ? र यहां त्यसको बोध हुन सक्दैन? बुद्ध निरुत्तर भए ।
पछि आफैंले सहर्ष राहुललाई प्रव्रज्या लिन प्रेरित गरिन् । आफैंले पनि प्रव्रज्या मागिन् । यद्यपि बुद्धले नै यशोधरालाई प्रव्रज्या लिन अनेक आलटाल गरे ।
भनिन्छ, बुद्धले वनमा गरेका तपस्याहरु यशोधराले दरबारमा गरिन् । जब यशोधराले खबर सुनिन् कि बुद्धले एक छाक खान्छन् भुईंमा सुत्छन् र साधारण चीवर लगाउंछन् । उनले पनि दरबारमै बसी सोही अनुसरण गर्थिन् । यशोधराको जीवन त्यागको समुद्र छ । बिलकुल निस्वार्थ । (आनन्द अरुण, सन् २००६)
रामका साथमा गएकी सीताको जीवनको त्याग बारे त कथा नै बनेको छ । तर लक्ष्मणकी प्रिया, उर्मिला, जसलाई वनमा जान पतिबाट अनुमति प्राप्त भएन । पतिको आज्ञा मानेर चौध वर्ष एक्लै जीवन बिताइन् । उनका जीवनको त्याग अद्भुत छ । ईश्वरभक्ति, आफ्नै मात्र होइन सौताने सासुहरुको समेत निरन्तर सेवा । र निरन्तर लामो प्रतिक्षा ।
स्वामी रामकृष्णले आफ्ना शिष्यहरुलाई भन्ने गर्थे– ईश्वर लाभ नहुञ्जेल सबै कर्म– यज्ञ, दान, तप, पूजा, विधि, ध्यान, स्नान, जप सबथोक गर । उनले बडो सरल शब्दमा भनेका छन्– फल आएपछि फुल आफैं झर्छ । ईश्वर लाभ पछि कर्ममा आसक्ति आफैं हराउंछ । उनले आफ्ना हातले धनसम्पत्ति छुंदैनथे ।
स्वामी विवेकानन्दका अनुसार, एक पटक माता सारदाले केही पैसा रामकृष्णको ओच्छ्यानमा राखेर बिर्सिछन् । त्यस रात भरि रामकृष्ण छटपटीले निदाउन सकेनन् । त्यो पैसा त्यहांबाट हटाए पछि मात्र उनी निदाए । उनको त्याग यस्तो थियो । झुक्याएर पनि उनलाई कुनै सांसारिक वस्तुको प्रत्यक्ष अप्रत्यक्ष भोग गराउन सकिंदैनथ्यो ।
उपनिषदहरुमा त्यागका उच्चतम आदर्श प्रस्तुत गरिएका छन् । ईशा उपनिषदको पहिलो श्लोक तेन त्यक्तेन भुञ्जीथा… उसले मात्र वास्तविक भोग गर्छ, जसले त्याग गर्छ…भन्दै त्यागको महिमाबाट प्रारम्भ गरिएको छ । (गीताप्रेस, वि.सं.२०६४)
अकुशल कर्मलाई जसले द्वेष गर्दैन र कुशल कर्ममा जो आसक्त हुंदैन, त्यो नै सच्चा त्यागी हो । कुशलको अर्थ हो प्रसन्नता । कुशल मंगल छ ? भनेर सोध्नु भनेको खुशीसाथ हुनुहुन्छ भनेको हो । त्यसैले कुशल र अकुशल भनेको खुशी दिने र खुशी नदिने काम । जुन मानिस खुशी दिने वा बेखुशी दिने दुवै काममा आसक्त हुंदैन अर्थात् खुशी दिने कामले खुशी र बेखुशी दिने कामले दुखी हुंदैन । त्यो संशय, अनिश्चिता र द्विविधारहित हुन्छ । त्यो नै बुद्धिमान हो । वास्तविक कुरा बुझे पछि सबै अन्तर समाप्त हुन जान्छन् । संशयहरु छिन्न भिन्न हुन्छन् ।
ठूलो मानिस चकलेट पाएर खुशी हुंदैन । किनभने उसले यसको आसक्ति बेकार हो भन्ने बुझेको छ । जसले संसार बुझेको छ, उ यसमा आसक्त हुंदैन । आसक्ति उत्पन्न हुने कारण अज्ञानता हो । आचार्य शंकरले भनेका हुन्, जगन्मिथ्या । जगत्लाई हामीले जस्तो देखेका छौं, शंकरले त्यस्तो देख्दैनन् । मिथ्याको अर्थ असत्य होइन जस्तो तथ्य हामीले बुझेका छौं त्यो छैन भनेको हो । जापानमा वल्लो घरको पुतलीको पल्लो घरका पुतलीसंग विवाह हुंदा जन्ती बोलाउने र बाजा बजाउने चलन छ । घरका सारा बुढाबढी त्यस विवाहमा सरीक हुन्छन् । भोज हुन्छ । घरका सबै मानिसले उही अभिनय गर्छन् जुन युवायुवतीको विवाहमा हुन्छ । युवायुवतीका लागि विवाह सारै ठुलो कुरा हो । वृद्धहरुका लागि त्यो पुतली खेल हो ।
लोक व्यवहारलाई संगै लिएर जाने उदाहरण हामी भगवान् श्रीकृष्णको जीवनमा पाउंछौं । उनको प्रसन्नता वा अप्रसन्नता, कसैको वध वा जीवनदान सबैमा संशयरहितता छ । आक्रोश वा खुशी छैन । प्रसन्न पनि हुन्छन् । दुखी पनि हुन्छन् तर त्यसमा आसक्ति छैन । न दुखमा, न सुखमा ।
मानिसले कुनै पनि क्रियाकलाप आफ्ना आवश्यकता सन्तुष्टिका लागि गर्छ । आवश्यकता भनेको मानिसलाई चाहिने वस्तु र सेवाहरु । सबैलाई थाहा छ मानिसका आवश्यकता अनन्त छन् । त्यसैले अर्थशास्त्रमा यो शब्द सधैं बहुवचनका रुपमा प्रयोग हुन्छ– वान्ट्स, आवश्यकताहरु । त्यसमा दिनक्कै नयां नयां आवश्यकता अझ थप भइ रहेका हुन्छन्, मृत्युपर्यन्त ।
मानिसका आर्थिक आवश्यकतालाई तीन भागमा विभाजन गर्न सकिन्छ– अनिवार्य, आरामदायक, र विलासिता । यस बाहेक मानिसका अनेक सामाजिक र मनावैज्ञानिक आवश्यकता पनि हुन्छन् । जस्तै, स्नेह, सम्मान, सामाजिक रहनसहन, संस्कृति, भाषा, ज्ञान, र अस्तित्त्वको चाहना । मानिस सामाजिक प्राणी भएकोले उसले परिवारबाट, समाजबाट अनेक प्रकारका चाहना राख्छ । मानसिक क्षमता राख्ने प्राणी भएकोले उसका व्यक्तिगत मानसिक आवश्यकता पनि हुन्छन् । लक्ष्मी प्रसाद देवकोटालाई कसैले कविता नलेख यो अनावश्यक काम हो भने के होला ? लेख्नु उनको मानसिक आवश्यकता हो । कैयौं चित्रकारले चित्र कोरेर लुकाएर राखेका उदाहरण छन् । चित्र अरुका लागि होइन आफ्नो मानसिक आवश्यकता पूरा गर्न ।
मानिसले विलासिता आवश्यकता पूरै त्याग गर्नसक्छ । आरामदायक आवश्यकता पनि एक हदसम्म त्याग गर्नसक्छ । तर अनिवार्य आवश्यकता त्याग गर्न सक्दैन । मानिसलाई भोक लाग्छ । उसलाई निद्रा लाग्छ, सुरक्षा चाहन्छ । मानिसले आनन्द चाहन्छ । यदि भौतिक आवश्यकता नै मानिसले त्याग गर्न सक्दैन भने सामाजिक, मनोवैज्ञानिक र मानसिक आवश्यकता त अझै सूक्ष्म हुन्छन् । त्यसैले भगवान् कृष्णले भन्नु हुन्छ– कर्म त्याग होइन, कर्मफल त्याग गर्नु पर्छ ।
जीवनमा गरिने क्रियाकलापका तीन प्रकारका परिणाम प्राप्त हुन सक्छन्– नाफा, हानि, र मिश्रित अवस्था । हामीले थोरै परिश्रम गर्दा सोचे अनुरुप वा बढी हात पर्यो भने त्यसलाई नाफा भनिन्छ । तर सोचे विपरीतको फल प्राप्त हुन्छ भने त्यसलाई हानि भनिन्छ । र तेस्रो फल हो दुवैको मिश्रण । दुवैको बराबर मिश्रण हानि रहितताको अवस्था हो । न उधोका लेना न माधोका देना । यसभन्दा कम वा बढीमा हानि वा नाफा हुन्छ । यी सबै अवस्था सामान्य मानिसका लागि हुन् । यस जन्मको नभए विगत जन्मको पनि कर्मफल प्राप्त भइरहन्छ । तर शांकरभाष्यमा आचार्य शंकर लेख्छन्– सन्न्यासी पूर्णतया मुक्त हुन्छ । उसलाई असल, खराब वा मिश्रित नतिजाको कुनै प्रभाव पर्दैन । किन ? किनभने उसले हानि मात्र होइन नाफा पनि त्याग गरिसकेको हुन्छ ।
अठारौं अध्यायमा भगवान् कृष्णले तीन प्रकारका त्याग बताउनु भएको छ । तर व्याख्याको क्रम उल्टो छ । अन्य सबैको क्रम बताउ“दा सात्त्विक, राजस अनि तामस क्रमशः बताइएको छ । तर त्यागको सन्दर्भमा पहिला तामस, अनि राजस र अन्तमा सात्त्विक त्यागको व्याख्या गरिएको छ । यसबाट भगवान् कृष्णको त्यागलाई हेर्ने दृष्टिकोण व्यक्त हुन्छ । अर्को ध्यान दिनु पर्ने कुरा के भने सन्न्यासलाई सात्त्विक, राजस, र तामस भेद गरिएको छैन । यसबाट सन्न्यास प्रति भगवान श्रीकृष्णको स्वाभाविक आदर देखिन्छ । सन्न्यासको अर्थ हो सम्यक् न्यास । उचित तरीकाले उठ, बस, खान, पान, बोलचाल सबै ।
४. जीवन–जगतमा कार्य कारण
पञ्चैतानि महाबाहो कारणानि निबोध मे ।
साङ्ख्ये कृतान्ते प्रोक्तानि सिद्धये सर्वकर्मणाम् ।।१३।।
हे महाबाहु, सम्पूर्ण कर्महरुको सिद्धिका लागि पाच कारणहरु बताइएका छन्, सुन । यो कुरा सांख्य र कृतान्त दुवैले पुष्टि गर्छन् ।।१३।।
अधिष्ठानं तथा कर्ता करणं च पृथग्विधम् ।
विविधाश्च पृथक्चेष्टा दैवं चैवात्र पञ्चमम् ।।१४।।
शरीरवाङ्मनोभिर्यत्कर्म प्रारभते नर ः ।
न्यायं वा विपरीतं वा पञ्चैते तस्य हेतव ः ।।१५।।
अधिष्ठान (शरीर), कर्ता (मन), करण (इन्द्रिय), प्राणादि वायु (प्राण, अपान, समान, उदान, व्यान) यी चार (कुरा भए) र पांचौं दैव । विविध अनेक प्रकारका चेष्टाका लागि मानिसले मन, शरीर, र वाणीले उचित वा अनुचित जुन कर्म गर्दछ, त्यसका यी पांच हेतु (कारण) हुन्छन् ।।१४–१५।।
जीवन, जगत र यसको सम्बन्धलाई व्याख्या गर्ने शास्त्रलाई दर्शन शास्त्र भनिन्छ । न्याय, वैशेषिक, सांख्य, पातञ्जल, मीमांसा, वेदान्त, सौत्रान्तिक, वैभाषिक, योगाचार, माध्यमिक, चार्वाक आदि दर्शनमा यस सम्बन्धको व्याख्या गरिन्छ । यी मध्ये सांख्य र कृतान्त दुई मुख्य दर्शन हुन् । सांख्य र कृतान्त दुवैमा सम्पूर्ण जीवन र जगतको क्रियाशीलताका लागि पा“च कारणहरु बताइएका छन् ।
विद्वान्हरुले कृतान्तको अर्थ गर्छन् वेदान्त शास्त्र अर्थात् उपनिषद् दर्शन । यहा“ यो अर्थ पनि मिल्छ । तर सर्वसार उपनिषदमा वेदान्तको विशेष अर्थ गर्दै ओशो रजनीश भन्छन्– वेदको सही पर्याय हो विज्ञान, साइन्स । त्यसैले वेदान्तको अर्थ हो जहां ज्ञानको पनि अन्त हुन्छ । त्यो अवस्था जब ज्ञान पनि पछि छोडिन्छ, त्यो वेदान्त हो । वेद जुन साधनले जानिन्छ त्यो ब्रह्म हो र ब्रह्म जुन कुराले जानिन्छ त्यो वेदान्त हो । वेद नोईंग हो र वेदान्त बीईंग हो । ज्ञानी र ज्ञानातीतमा जुन अन्तर छ, त्यही अन्तर ज्ञानी र वेदान्तीमा हुन्छ । (ओशो, सन् १९९२) आचार्य शंकरले पनि वेदान्ती अवस्थालाई धर्माधर्म सबै त्याग गरेको भनेका छन् । (अपूर्वानन्द, वि.सं.२०७०) गीतामा प्रयोग गरिएको शब्द कृतान्तको एउटा अर्थ हुन्छ– कृत्यको अन्त ।
कारण र परिणामको सम्बन्ध भएकोले परिणामबाट कारण पनि जान्न सकिन्छ । यस विपरीत विधिलाई पश्चोन्मुखी अध्ययन भनिन्छ । परिणामबाट कारण अनुमान गर्न रेवरेन्ड थोमस बेयजद्वारा गणितीय सिद्धान्त प्रतिपादन गरिएको छ । बेयजको के विश्वास थियो भने ईश्वरको चाहना मनुष्य मात्रको सुख र खुशी हो । यसलाई गणितीय रुपमा प्रमाणित गर्न उनले तथ्याङ्क संकलन गरे । उनले त्यसको विश्लेषणका विधि पनि निर्माण गरे । गणितमा बेयजको यस विधिलाई प्रतिलोम प्रायिकता साध्य– इन्वर्स प्रोबेबिलिटी थियोरम भनिन्छ । बेयजको त्यस साध्यबाट जुन परिणाम निस्क्यो संभवतः त्यो उनको विचार अनुसार उपयुक्त भएन । अनि उनले यसलाई प्रकाशित गर्न रुचि लिएनन् । उनको मृत्युका धेरै पछि पियरे साइमन लैप्लास भन्ने गणितज्ञले स्वतन्त्र रुपमा त्यस पाण्डुलिपिलाई पत्ता लगाएर त्यस विवरणलाई गणितीय सिद्धान्तको वर्तमान रुप दिए ।
हिन्दु शास्त्रकारहरुले कारण र परिणामका साथै परिणाम र कारण सम्बन्धको व्याख्या गरेका छन् । कुनै घटना भर्खरका कारणको परिणाम मात्र नभएर जन्मौंजन्मका कारणको परिणाम पनि हुनसक्छ । सृष्टिमा घटित हुने घटनाको केवल एक मात्र कारण पनि हुंदैन । अनेकौं कारण हुन्छन् । यसलाई स्पष्ट गर्न महाभारतमा अनेक उदाहरण छन् । कर्ण पर्वको उदाहरण प्रस्तुत छ । अर्जुनभन्दा बहादुर भइकन पनि कर्ण किन युद्धमा पराजित भयो ? भन्ने प्रश्नको उत्तरमा महाभारतमा कर्णका मृत्युको कारण केवल अर्जुन मात्र होइन भन्ने कुरा यस प्रकार बताइएको छ (महाभारत, खण्ड ५, वि.सं.२०६०) –
१. आफैंले दिएको आश्वासन– कुन्तीले कर्णलाई उसका जन्मको रहस्य कुरुक्षेत्र युद्धको पूर्व सन्ध्यामा अचानक बताइन्– बाबु, तिमी राधेय होइनौ । तिमी कौन्तेय हौ । ज्येष्ठ पाण्डव । कुमारी अवस्थामा सूर्य पुत्रको रुपमा जन्माएकाले मैले समाजमा कलंकित हुने भयले त्याग गर्नु पर्यो । भाईहरुसंग युद्ध नगर ।
यो सुनेर कर्ण दुखी भए । तर कुन्तीलाई भने– दुर्योधन मेरो मित्र हो । मैले उसलाई युद्धमा साथ दिने वचन दिइसकेको छु । तर मैले तपाईंलाई के आश्वासन दिन्छु भने तपाईंका पांच पाण्डव सुरक्षित रहनेछन् । मैले अर्जुनलाई मारें भने म समेत पांच जना र अर्जुनले मलाई मार्न सके भने म बाहेक पांच जना । तर म राधेय भएर हुर्कें अब राधेय भएरै मर्न चाहन्छु ।
२. गुरुको कोप– कर्णले शस्त्र विद्या सिक्नका लागि गुरु द्रोण कहां गएर निवेदन गरे । द्रोणले राजपुत्रहरुलाई सिकाएको स्थानमा एक साधारण सूतपुत्र लिन अस्वीकार गरे । त्यस पछि उनी परशुरामजी कहां पुगे । कर्णले आफुलाई भृगुवंशीय ब्राह्मणको सन्तान बताएर धुनर्विद्या सिक्न थाले । एक दिन परशुरामको शिरलाई कर्णले काखमा राखेर गुरुको सेवा गरिरहेका थिए । यसै समयमा एउटा कीराले भयानक पीडा दिने गरी कर्णको गोडामा टोक्यो तर कर्णले गुरुको सुविधाका लागि सबै सहन गरे । गुरुलाई यो थाहा भयो । कर्णको पीडा सहन गर्ने यो क्षमता देखेर परशुरामलाई उसको जातिको विषयमा शंका भयो । उनले क्रोधित भएर भने– तं ब्राह्मण हुनै सक्दैनस । त“ क्षत्रिय हुनुपर्छ । सांचो कुरा भन त“ को होस् ? नत्र मैले त“लाई सराप दिन्छु ।
कर्णले डराएर भने– म सूतपुत्र राधेय हुं । तर मलाई रथ चलाउने काममा रुचि छैन । मलाई हतियार चलाउनमा रुचि छ । त्यसैले मैले असत्य जानकारी दिएर शिक्षा लिएको हुं ।
परशुरामले भने– गुरुलाई झुक्क्याएर सिकेकोले त्यो ब्रह्मास्त्र विद्याले अन्तिम क्षणमा त“लाई साथ दिने छैन ।
३. इन्द्रको भिक्षा– सूर्यपुत्र कर्ण कवच कुण्डलसंगै जन्मेका थिए । यी दुवै कुराले कर्ण अजेय थिए । इन्द्रले अर्जुनको रक्षा गर्नका लागि भिक्षु वेशमा गई कर्णको सुरक्षा कवच र तेज बढाउने कुण्डल भिक्षा मागेका थिए । सूर्यले कर्णलाई छद्म वेशमा आएको इन्द्रलाई आफ्नो सुरक्षा कवच नदिन सावधान गरेका थिए । कर्णले सबै कुरा जान्दाजान्दै पनि माग्न आएकोलाई विमुख नफर्काउने आफ्नो नियम अनुसार, आफु असुरक्षित हुने गरी कवच र कुण्डल सहर्ष दान गरेका थिए ।
४.शल्यद्वारा हतोत्साहन– कर्णका सारथी तथा युधिष्ठिरका मामा शल्य (जुन माद्रीका भाई हुन्) थिए । उनलाई दुर्योधनले झुक्क्याएर आफ्नो पक्षमा मिलाएको थियो । तर उनले युधिष्ठिरलाई वचन दिएका थिए– भाञ्जा, तिमीहरुलाई अन्याय भएको जानेको छु । म तिमीहरुलाई साथ दिन आएको थिएं तर मलाई बाटोमा स्वागत सत्कार गरेर झुक्याइयो । तथापि मैले तिमीहरुको विजयका लागि नै चिन्तन गर्ने छु । उनले कर्णका सारथीको रुपमा रथ चलाउंदा कर्णलाई निरन्तर हतोत्साहित गर्दै भन्ने गर्थे– हे कर्ण तिमीले अन्यायको साथ दिइरहेका छौ । त्यसैले तिमी असफल हुने छौ । फलस्वरुप कर्ण उत्साहहीन हुंदै जान्थे । र उत्साहहीन योद्धाको जीत हु“दैन ।
५.दैव इच्छा– शास्त्रकारहरुले दैवका विभिन्न अर्थ गरेका छन्– धर्माधर्म, पूर्व संस्कार, अन्तस्करण वा अज्ञात शक्ति । वास्तवमा यी सबैको सामूहिक रुप नै दैव हो । यसलाई दैव इच्छा, अज्ञात कारण वा एक्स फ्याक्टर भन्न सकिन्छ । महाभारतकारका अनुसार, दैव इच्छा के थियो भने अर्जुन सुरक्षित होस् र कर्ण असुरक्षित होस् ।
कर्णको द्वन्द्वपूर्ण मानसिक अवस्था, निष्ठा, र दानलाई आधार बनाएर लेखकहरुले सुन्दर कथाहरु रचना गरेका छन् । यस घटनाले के स्पष्ट गर्न खोजेको छ भने कुनै पनि घटनाका पा“च ज्ञात कारण र एउटा अज्ञात कारण हुन्छ । यी सबै ज्ञात कारणको संगै विश्लेषण गर्न नसकिने भएकोले अन्यलाई स्थिर मान्दै केवल एउटा कारणलाई मात्र अध्ययन गरिन्छ । यस्तो विश्लेषणलाई अर्थशास्त्री जे एस मिलले एक चल राशि अध्ययन विधि भनेका छन् ।
कर्णको मृत्युमा एक मुख्य चलराशि अर्जुन हो तर त्यो मात्र सबै कारण होइन ।
शरीर, मन, इन्द्रिय, प्राण, पा“च वायु (अपान, समान, उदान, व्यान) यी चार (कुरा भए) र पांचौं दैव– अर्थात् एक अपरिभाषित तत्त्व । मानिसले मन, शरीर, र वाणीले जे जस्ता कर्म गर्दछ, त्यसका यिनै पा“च कारण हुन्छन् । यो कुरा सबैले बुझ्दैनन् । तर जसले अहंभावरहित भएर कर्म गर्छ त्यो कर्ता भइकन पनि अकर्ता हुन जान्छ ।
गीतामा कुनै घटनाको कारण र परिणामको सम्बन्धको वैज्ञानिक व्याख्या छ । तर त्यसमा एउटा मान्यता के गरिएको छ भने एउटा अज्ञात तत्त्व अवश्य रहन्छ । जति धेरै कुरा जाने पनि एउटा कुरा फेरि पनि अज्ञात रहन जानेछ । जतिसुकै ठूलो वैज्ञानिक व्याख्या गरिए तापनि केही कमी रहन जान्छ । हिजोका वैज्ञानिक तथ्य आज त्रुटिपूर्ण भएका छन् । आज वैज्ञानिक भनिएको व्याख्या भविष्यमा यसै अज्ञात तत्त्वले गर्दा कुन रुपमा प्रस्तुत हुन जाने हो ? कसले भन्न सक्छ । त्यसैले आज असत्यीकरणको सिद्धान्तलाई दार्शनिकहरुले स्वीकार गर्छन् । भगवान् श्रीकृष्णको गीता उपदेश आधुनिकतम विज्ञानको पनि व्याख्या हो । भविष्यका लागि पनि यसमा स्थान छ ।
५. यात्रा बाह्य जगतको र विपरीत
तत्रैवं सति कर्तारमात्मानं केवलं तु यः ।
पश्यत्कृतबुद्धित्वान्न स पश्यति दुर्मति ः ।।१६।।
तर यस्तो भए तापनि जुन अकृत (अशुद्ध) बुद्धि भएकोले त्यस, कर्मको, विषयमा केवल आफुलाई कर्ता देख्छ, त्यस मलिन बुद्धि मानिसले यथार्थ देख्दैन ।।१६।।
यस्य नाहंकृतो भावो बुद्धिर्यस्य न लिप्यते ।
हत्वापि स इमान्ल्लोकान्न हन्ति न निबध्यते ।।१७।।
जसमा म कर्ता हुं, यस्तो भाव हु“दैन, र जसको बुद्धि शुभाशुभ कर्ममा लिप्त (एकोहोरिएको) हुदैन, त्यो पुरुष, यी सब लोकलाई मारेर पनि वास्तवमा हत्या गर्दैन, बद्ध पनि हुंदैन ।।१७।।
ज्ञानं ज्ञेयं परिज्ञाता त्रिविधः कर्मचोदना ।
करणं कर्म कर्तेति त्रिविधः कर्मसंग्रहः ।।१८।।
ज्ञान, ज्ञेय, र ज्ञाता यी तीन कर्मका प्रेरक हुन् । करण, कर्म, र कर्ता यी तीन कर्मका संग्रहकर्ता हुन् ।।१८।।
ज्ञानं कर्मं च कर्ता च त्रिधैव गुणभेदतः ।
प्रोच्यते गुणसङ्ख्याने यथावच्छृणु तान्यपि ।।१९।।
गुणको संख्या गर्नेहरुले ज्ञान, कर्म, र कर्ता गुणका भेदले तीन प्रकारका बताउछन् । त्यो पनि मैले जस्ताको तस्तै भन्छु, सुन ।।१९।।
मानिसले कर्ता भएर जुन कर्म गर्छ त्यसका ज्ञान, ज्ञेय, र ज्ञाता यी तीन उत्प्रेरक हुन्छन् भने करण, कर्म, र कर्ता यी तीन कर्मका संग्राहक हुन्छन् ।
ज्ञान तीन प्रकारका हुन्छन्– सात्त्विक, राजस, र तामस ।
जुन ज्ञानले सबै प्राणीहरुमा एक अविनाशी भावलाई अविभक्त (एक नास) छ भन्ने बुझिन्छ, त्यस ज्ञानलाई सात्त्विक जान ।
जुन ज्ञानले सबै प्राणीमा भिन्न भिन्न प्रकारका भाव अलग अलग छ भन्ने बुझिन्छ, त्यस ज्ञानलाई राजस बुझ । जुन ज्ञानले बिना कारण (अहैतुक), अयथार्थलाई यही सम्पूर्ण (कृत्स्न) हो भनेर तुच्छ (अल्प) कुरामा आसक्ति (ढिपी) गर्दछ । त्यो तामस ज्ञानको उदाहरण हो । जसरी ज्ञानलाई तीन भागमा विभाजन गरिएको छ, त्यसै गरी गुणको संख्या गर्नेहरुले कर्म र कर्तालाई पनि गुणका भेदले तीन भागमा विभाजन गर्छन् ।
यहा गुणको संख्या गर्नेहरु भनेर सांख्य शास्त्रकारहरुलाई संकेत गरिएको छ । यस शास्त्रमा सृष्टिको सम्पूर्ण विवरणलाई गणितीय संख्याको रुपमा सबभन्दा पहिले प्रस्तुत गर्ने शास्त्र हो सांख्य शास्त्र । यसको कुनै मतले मूल प्रकृति र अन्य प्रकृतिको कुरा गर्छन् भने कुनैले पुरुषको रुपमा ईश्वरलाई पनि समावेश गर्छन् । महाभारतको विवरणबाट के स्पष्ट हुन्छ भने प्राचीन सांख्यमत ईश्वरवादी थियो । (आचार्य, सन् २०११) यसको निरीश्वरवादी मत पछि प्रचलनमा आएको हो भनी मान्नेहरु पनि छन् । सांख्यमतमा मन, बुद्धि र अहंकारलाई अन्तस्करण भनिएकोमा पछिका विचारकहरुले त्यसमा चित्तलाई समावेश गरेर चार भागमा विभाजन गरेका छन् । मनलाई जीवात्मा र शरीर दुवैलाई सम्बन्धित गराउने एउटा तत्त्व भनिन्छ । आधुनिक मनोविश्लेषकहरुले मनलाई चेतन, अर्धचेतन, अचेतन तीन भागमा विभाजन गर्दछन् ।
तालिका ५.१. साङ्ख्य मतका २५ तत्त्वहरु

सृष्टिका पाच मूलतत्त्व मानिएका छन्– भूमि, जल, तेज, वायु, आकाश । भूमिको विशेषता गन्ध हो । यससंग सम्बन्धित ज्ञानेन्द्रिय नाक र कर्मेन्द्रिय उपस्थ (जननेन्द्रिय) हो । भूमिको प्रभाव मनलाई मानिएको छ ।
यहा भूमि भनेको जमीन वा माटो होइन, भूमि तत्त्व हो । भूमिका विशेषता हुने तत्त्व । जसरी अर्थशास्त्रमा भूमि भनेको ती सबै वस्तुहरू हुन् जुन प्रकृतिले मानिसलाई निःशुल्क उपहारको रूपमा प्रदान गरेको छ । प्राकृतिक नदी, वनजंगल, सूर्यको प्रकाश सबै भूमि हुन्छन् । त्यसै गरी साङ्ख्य दर्शनमा महाभूतहरूलाई विशेष अर्थमा प्रयोग गरिएको छ । अन्य तत्त्वसंग नमिसिएको मूल तत्त्वको नाम महाभूत हो । उदाहरणका लागि केवल भूमि तत्त्व छ भने त्यो महाभूत हुन्छ । महाभूतको यस विशेषतालाई तन्मात्रा भनिएको छ ।
जलको विशेषता रस हो । यससंग सम्बन्धित ज्ञानेन्द्रिय जिब्रो, कर्मेन्द्रिय पायु (जननेन्द्रिय), र प्रभावित अन्तस्करण बुद्धि हो । तेजको विशेषता रुप,सम्बन्धित ज्ञानेनिद्रय आ“खा र कर्मेन्द्रिय पाद (खुट्टा) र प्रभावित अन्तस्करण चित्त हो । वायुको विशेषता स्पर्श, सम्बन्धित ज्ञानेन्द्रिय छाला, कर्मेन्द्रिय पाणी (हात) र प्रभावित अन्तस्करण अहंकार हो । आकाशको विशेषता शब्द हो । यससंग सम्बन्धित ज्ञानेन्द्रिय कान र कर्मेन्द्रिय वाणी हो । आकाशसंग प्रभावित अन्तस्करण छैन । किनभने अन्तस्करण स्वयं नै एक आकाश हो । सात्त्विक, राजसिक र तामसिक तीन गुणहरू हुन्छन् जसले मन, बुद्धि, अहंकार लगायत सम्पूर्ण प्रकृतिलाई गुणको विशेषता अनुसार प्रभावित गर्छन् । सबै तत्त्वको आपसी सम्बन्धलाई चित्र ५.१ मा तीरले देखाइएको छ ।
चित्र ५.१ साङ्ख्य दर्शनमा सुृष्टि विस्तार

पञ्चीकरण प्रक्रिया
सांख्य दर्शन अनुसार, प्रकृतिमा स्वतन्त्र महाभूत पाईंदैन बरू पा“चवटै महाभूतको मिश्रण पाइन्छ । उदाहरणका लागि, भूमिमा स्वयं भूमि तत्त्व सबभन्दा बढी मात्रामा हुन्छ । बा“की अर्थात् प्रत्येक तत्त्वमा अन्य चारवटा तत्त्वको निश्चित र आनुपातिक मिश्रण हुन्छ । यसलाई पञ्चीकरण हुनु भनिन्छ । सबै पञ्चीकृत तत्त्वमा ५० प्रतिशत त्यो तत्त्व स्वयं र बा“की ५० प्रतिशत अन्य चार तत्त्व बराबर मात्रामा हुन्छन् । यस प्रक्रियालाई निम्नलिखित प्रकारले देखाउन सकिन्छ–
पञ्चीकृत भूमि = ५० प्रतिशत भूमि+१२.५० प्रतिशत जल+१२.५० प्रतिशत तेज+१२.५० प्रतिशत वायु+१२.५० प्रतिशत आकाश
पञ्चीकृत जल = ५० प्रतिशत जल +१२.५० प्रतिशत भूमि +१२.५० प्रतिशत तेज+१२.५० प्रतिशत वायु+१२.५० प्रतिशत आकाश । यसै गरी सबै तत्त्व पञ्चीकृत भएका हुन्छन् ।
चित्र ५.२ मा पञ्चीकरण प्रक्रिया देखाइएको छ–

सम्पूर्ण सृष्टि प्रकृति र पुरुषको विस्तार हो । यसलाई गीतामा परा प्रकृति र अपरा प्रकृति भनिएको छ । अपरा प्रकृतिमा अन्तर्गत पांच महाभूत तथा मन, बुद्धि, र अहंकारलाई आठवटा प्रकृति भनिएको छ । सृष्टिको यस विस्तारले जगत् निर्माण हुन्छ ।
हुनत, ती सबैमा ईश तत्त्व विद्यमान हुन्छ तर त्यसको पहिचान यस विस्तारमा जटिल हुनजान्छ । ईश तत्त्वलाई चिन्नु छ भने यात्रा विपरीत दिशातर्फ हुनुपर्छ । पञ्चतत्त्व, ज्ञानेन्द्रिय, र कर्मेन्द्रियको यात्रा मन, बुद्धि, चित्त, अहंकार हुंदै ईशतत्त्वतर्फ लैजाने क्रियालाई गीतामा योग भनिएको छ ।
गीता दर्शन अनुसार प्रकृति जड तर सक्रिय हुन्छ । यसलाई चेतन बनाउने काम पुरुषले गर्छ । तर यो केवल साक्षी हुन्छ । जड प्रकृति र चेतन पुरुष दुवैको संयोग नभइ केही पनि हुन सक्दैन भन्ने मानिएको छ । यस अवधारणालाई आधुनिक विज्ञानमा पदार्थ र ऊर्जा यी दुइ अवधारणाको व्याख्या गर्न प्रयोग गरिएको छ । भौतिक वैज्ञानिक ब्रायन डेभिड जोसेफ्सनका अनुसार– वेदान्त र सांख्यद्वारा नै क्वान्टम सिद्धान्त व्याख्या गर्न सकिन्छ । किनभने यी दुइ सिद्धँन्तले मात्र मस्तिष्क र विचारको नियम दिन्छन् । क्वान्टमको अर्थ यस्तो कुरा हो जुन आधा पदार्थ र आधा तरंग (ऊर्जा) हो ।
परमाणु वैज्ञानिक नील बोहरले परमाणु विज्ञानका गूढ रहस्य पत्ता लगाउन उपनिषद् अध्ययन गर्थे । उनले स्पष्ट शब्दमा भनेका छन्– मलाई जब जब शंका लाग्छ । अरु कहीं समाधान पाईंदैन । अनि उपनिषद् खोलेर पढ्छु ।
सुप्रसिद्ध भौतिक शास्त्री ज्याक सर्फातीका अनुसार– सृष्टिको आधार स्पष्ट बुझाउन साङ्ख्य बाहेक अरु कुनै सिद्धान्तले सक्दैन ।(ज्ञवाली, सन् २००२)
क्रमशः

