बुधबार, माघ ११, २०७९
राष्ट्रियसभा उपनिर्वाचन : आज उम्मेदवारी दर्ता

राष्ट्रियसभा उपनिर्वाचन : आज उम्मेदवारी दर्ता


  • स्वदेश नेपाल
  • बुधबार, माघ ११, २०७९

दाङ । माघ २५ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज उम्मेदारी दर्ता हुने भएको छ । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो ।

राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । उम्मेदवारी दर्ताका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय दिइएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।

आज दिउँसो ३ देखि ४ बजेसम्म मनोनयन दर्ता भएका उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको उनले बताए ।

राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमाले र नेपाली कांग्रेसबाट उम्मेदारी दर्ता गर्ने तयारी छ । राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते मतदान घोराहीस्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान हुने भएको छ ।

प्रदेश निर्वाचन कार्यालय दाङकाअनुसार उपनिर्वाचनका लागि माघको १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघको १३ र १४ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने र माघको १४ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी माघको १५ गते उम्मेदवारले नामावली फिर्ता लिने, माघको १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट