शनिबार, माघ ७, २०७९
चर्चित बलिउडअभिनेत्री परविन बाबीको यसरी भयो मृत्यु

चर्चित बलिउडअभिनेत्री परविन बाबीको यसरी भयो मृत्यु


  • स्वदेश नेपाल
  • शनिबार, माघ ७, २०७९

स्थान : एज रिभिएरा बिल्डिङ, सातौं तला, जुहु, मुम्बई

तीन दिनदेखि एउटा अपार्टमेन्टको ढोकाबाहिर अखबार र दूधका प्याकेट थुप्रिएका थिए। तीन दिनदेखि न ढोकामा ताल्चा लगाइएको थियो, न त भित्रबाट कोही बाहिर निस्केका थिए। छिमेकीहरू भेला भएपछि उनीहरूलाई शंका लाग्यो। ढोका नजिक पुग्दा कुहिएको दुर्गन्धका कारण उनी त्यहाँ धेरै बेर बस्न सकेनन्। स्थिति शंकास्पद देखेपछि छिमेकीले प्रहरीलाई खबर गरे।

जब प्रहरी पुग्यो, ढोका ढकढक्यायो, कुनै जवाफ आएन। जब प्रहरी ढोका फोडेर भित्र पस्यो, तब चकित पार्ने दृश्य देखियो।

आफ्नो समयकी सबैभन्दा सुन्दर र चर्चित अभिनेत्री परविन बाबीको शव ओछ्यानमा पल्टिएको थियो। तर चिन्न सकिने अवस्था थिएन। शरीर सडेको थियो, दुर्गन्धका कारण कसैले सास फेर्न सक्ने अवस्था थिएन।

कोठा पूरै अस्तव्यस्त थियो र खाटको छेउमा ह्विलचेयर थियो। परविन बाबीको शव भेटिएको ७२ घण्टाअघि नै मृत्यु भएको थियो। कोही आफन्त थिएन, साथी थिएन, खोजखबर गर्ने कोही थिएन।

परविन बाबीको मृत्युको खबर पाउनासाथ पत्रकार भवनमुनि जम्मा भए। उनको शव दाबी गर्न सक्ने कोही आफन्त थिएनन्। ५० वर्षको उमेरमा सुन्दरी परविन बाबीको कुहिएको शव भेटिएको खबरले सिंगो देश स्तब्ध भएको थियो।

भोकले मृत्यु!
परविन बाबीको शव पोस्टमार्टमका लागि मुम्बईको कुपर अस्पतालमा लगिएको थियो। रिपोर्टमा उनको शरीरमा खानाको अंश केही पनि फेला परेन। परविन बाबी धेरै दिनदेखि भोकै थिइन्। तर उनको शरीरमा रक्सी भेटियो। मृत्यु भएको केही दिन अघिबाटै परविनले केही नखाएको रिपोर्टमा उल्लेख छ। भोकका कारण उनको शरीरका धेरै अंगले काम गर्न छोडेका थिए।

महेश, डेनी, कबिर अन्त्येष्टिमा सहभागी
परविन बाबीको पोस्टमार्टम कुपर अस्पतालमा गरियो, तर उनको शव दाबी गर्न कोही पनि आफन्त आएनन्। शव फेला परेको दुई दिन बितिसक्दा पनि खोज्न कोही आएनन्। फिल्म निर्माता महेश भट्ट अन्ततः उनको शव लिन अस्पताल पुगे, परविनका लागि आफ्नो परिवार छाडे। महेशले नै परविनको अन्तिम संस्कार गराए।

महेश भट्टका साथै कबिर बेदी र डेनी डेन्जोङ्पा पनि परविनको अन्त्येष्टिमा सहभागी भए। जो परविन बाबीको जीवनका तीन महत्त्वपूर्ण पात्र थिए। उनीहरूले विभिन्न समयमा परविनलाई माया गरेका थिए।

परविनले आफ्नो मृत्युको केही महिनाअघि इसाई धर्म अपनाएकी थिइन्। क्रिश्चियन संस्कारअनुसार दाहसंस्कार गर्न चाहन्थे तर उनका मुस्लिम आफन्तले विरोध गरे र उनको जुहुको सान्ताक्रूज कब्रिस्तानमा मुस्लिम संस्कारअनुसार दाहसंस्कार गरियो।

७०–८० को दशकको सबैभन्दा सुन्दर र ग्ल्यामरस अभिनेत्री मानिने परविन बाबीका लाखौं फ्यान थिए। उनी पहिलो बलिउड स्टार थिइन्, जसले अन्तर्राष्ट्रिय टाइम म्यागजिनको कभर पेजमा स्थान पाएकी थिइन्। अमर अकबर एन्थोनी, शान, नमक हलाल, कालिया जस्ता दर्जनौं उत्कृष्ट फिल्ममा अभिनय गरेकी परविनको यस्तो पीडादायी अवस्थामा कसरी मृत्यु भयो? कारण थियो– प्यारानोइड सिजोफ्रेनिया, एक निको नहुने रोग। यो रोगका कारण परविनले अमिताभ बच्चन, बिल क्लिन्टन, प्रिन्स चाल्र्स, जोन एफ केनेडीलाई आफ्नो जीवनको शत्रु मान्न थालेकी थिइन्।

धेरैपटक यस्तो पनि भयो- जब परविनले सुटिङका क्रममा अमिताभलाई मार्ने प्रयास गरेको गम्भीर आरोप लगाइन् र त्यसपछि अचानक सेटबाट गायब भइन्। परविन बाबीको जीवनको कथा सुरुमा परी कथाजस्तै थियो। जब उनको जीवनमा यो खराब समय सुरु भयो, तब सबैले उनलाई खराब बनेको देखे।

५ वर्षको हुँदा बुबा बिते
परविन बाबीको जन्म ४ अप्रिल १९५४ मा जुनागढ, गुजरातमा जुनागढका नवाबहरूका पश्तुनहरूको बाबी जनजातिका सदस्य वली मोहम्मद खानको घरमा भएको थियो। परविन आफ्नो आमाबाबुको विवाहको १४ वर्षपछि जन्मिएकी थिइन्। उनी ५ वर्षकी हुँदा बुबाको निधन भयो। अहमदाबादबाट पढाइ सकेर परविनले मोडलिङ सुरु गरिन्। बोल्ड परविन कलेजका दिनदेखि चुरोट पिउँथिन्। एकदिन फिल्म निर्माता बीआर इशाराले परविनलाई पफर्मेन्स गर्दैगर्दा देखे र उनले परविनलाई नायिका बनाउने निर्णय गरे।

परविनले सन् १९७३ मा चलचित्रमा भूमिका पाएकी थिइन्। यो फिल्म फ्लप भए पनि बोल्ड, ब्युटिफुल र ग्यालमरस परविनले धेरै फिल्ममा काम गर्ने मौका पाइन्। समय यस्तो आयो– परविनको नाम टप एक्ट्रेसको लिस्टमा लिने गरिन्थ्योे तर अचानक उनको अनौठो गतिविधिका कारण उनको स्टारडम घट्न थाल्यो।

अचानक सेटबाट गायब
सन् १९८३ मा एक फिल्म सुटिङका क्रममा परविन अचानक सेटबाट गायब भइन्, कसैलाई जानकारी नदिई। ६ वर्षपछि परविन मुम्बई फर्किन् र उनले अध्यात्मका लागि फिल्म उद्योग छाडेको बताइन्।

रोग लुकाइन्
परविन बाबी सन् १९८९ मा मुम्बई आएकी थिइन्। यसैबीच परविन बाबीलाई प्यारानोइड सिजोफ्रेनिया नामक गम्भीर रोग लागेको खबर सार्वजनिक भयो। तर उनले त्यसको खण्डन गरिन्। परविनले इन्डस्ट्रिजका मानिसहरूले आफूलाई जानाजानी पागल भनेको बताएकी थिइन्। परविनको अनौठो बयानका कारण फिल्म उद्योगका मानिस तथा साथीहरू उनीबाट टाढा हुन थाले।

परविन बाबीको पहिलो अफेयर डेनी डेन्जोङ्पासँग थियो। यी दुईको सम्बन्ध करिब ४ वर्षसम्म चलेको थियो। परविन कबिर बेदीसँग पनि सम्बन्धमा थिइन्, तर यो सम्बन्ध लामो समय टिक्न सकेन। कबिर बेदीसँगको ब्रेकअपपछि परविनले महेश भट्टलाई भेटिन्, जो पहिले नै विवाहित थिए। महेश त्यतिबेला फिल्म उद्योगमा संघर्ष गरिरहेका थिए, परविन बाबी उद्योगमा चर्चित भइसकेकी थिइन्। परविन र महेश भट्टको निकटताका कारण महेशको वैवाहिक जीवनमा समस्यासमेत आएको बताइन्छ।

मानिसहरूले परविनलाई पागल मान्न थाले र उनीसँग दूरी कायम गर्न थाले। परविन मुम्बईको पेन्टहाउसमा एक्लै बस्न थालिन्। उनले मान्छेहरूलाई भेट्न छाडिन्।

परविन बाबीको मृत्यु भएको १८ वर्ष बितिसक्दा पनि उनको शव भेटिएको जुहुको फ्ल्याट खाली छ। यो फ्ल्याटको मूल्य १५ करोड रुपैयाँ र भाडा ४ लाख रुपैयाँ छ। सन् २०१४ मा एक व्यक्तिले यो फ्ल्याट भाडामा लिएका थिए तर व्यावसायिक रूपमा प्रयोग गरेको भन्दै फ्ल्याटबाट निकालिएका थिए।

त्यसपछि त्यो फ्ल्याटमा कोही बस्न चाहँदैनन्। मानिसहरू त्यो घरमा बस्न डराउँछन्। फ्ल्याट हेर्न आउँछन्, तर यो फ्ल्याट परविनको हो र उनको यहीँ मृत्यु भएको थाहा पाउनेबित्तिकै उनीहरू हच्किन्छन्। त्यसकारण उक्त फ्ल्याट अहिले पनि खाली नै रहेको हो। –दैनिक भास्करबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट