शुक्रबार, पुस २२, २०७९
श्रीस्वस्थानीमा पीएचडी गर्ने दुई अमेरिकन र बि.सं. १६२९ मा लेखिएको पहिलो स्वस्थानीको लिपिसहित

श्रीस्वस्थानीमा पीएचडी गर्ने दुई अमेरिकन र बि.सं. १६२९ मा लेखिएको पहिलो स्वस्थानीको लिपिसहित

बि.सं. १९०४ मा नेपाल/नेवारी लिपीमा लेखिएको स्वस्थानी ब्रतकथासहित धेरै महत्वपूर्ण ऐतिहासिक जानकारीसहित !


  • स्वदेश नेपाल
  • शुक्रबार, पुस २२, २०७९

स्वस्थानी व्रतकथा र हामी

आज शुक्रबार पौष शुक्ल पूर्णिमा भोलिबाट स्वस्थानी ब्रत कथाको ब्रतारम्भ तसर्थ स्वस्थानी सम्बन्धी केही तथ्यहरू यहाँ राख्दैछु ।

मसंग दुइवटा विद्यावारिधी गरेका थेसिसका कपीहरु छन् । एउटा लिण्डा लुइस ईलटिसको जसले यूनिवर्सिटी ऑफ विस्कॉन्सिन मैडिसनबाट विद्यावारिधी गरेकी थिइन् । उनको विषय थियो – “स्वस्थानी व्रत: नेपालमा नेवा: महिला र संस्कार” । उनको विद्यावारिधीको विषयमा स्वस्थानी व्रतलाई नै प्राथमिकता दिइएको थियो । उनले सन १९८५ मा विद्यावारिधी गरेको करिव २५ वर्ष पछि जेस्सिका वान्थाइन बर्कन्होल्जले सिकागो यूनिवर्सिटीबाट स्वस्थानी ब्रतकथाको विषयमा विद्यावारिधी गरिन् । उनको विषय थियो – “स्वस्थानी व्रतकथा परम्परा: नेपालका हिन्दूहरुमा स्वयंको, स्थानको तथा पहिचानको परिवर्तन” ।

यसरी लामो अन्तरालमा दुइ अमेरिकी महिलाले स्वस्थानी ब्रत र स्वस्थानी व्रतकथामा विद्यावारिधी गरे तापनि कुनै नेपालीले भने यो विषयलाई प्राथमिकता दिएर शोध गर्न चाहेको भेटिदैन । जेस्सिकाले भने पछि पुस्तक पनि छपाए Reciting The Goddess नामक पुस्तक बजारमा आएको पनि छ । यसरी दुइ विदेशी महिलाले नेपालमा मात्र प्रचलित स्वस्थानी ब्रतकथाको गहन अध्ययन गरेका थिए ।

स्वस्थानी शव्दको अर्थ हो – स्व अर्थात आफ्नो तथा स्थान अर्थात ठाँउ हो । तसर्थ स्वस्थानी कथा भनेको आफ्नै ठाउँको वर्णित कथा हो । यसमा वर्णित देवी नेवा:हरुले पूज्ने अष्टमात्रिकाको रुप हो भने यसमा वर्णन गरिएको शहर लावण्य देश – साँखु हो । साथै यहि साँखुमा बस्ने एक महिला “गोमयजु” को जीवनका सुख दुख, आँसु हाँसो तथा सम्पन्नता विपन्नता बिच रुमल्लिएको कथा नै स्वस्थानीको कथा हो । सबैभन्दा पुरानो स्वस्थानीको कथा भने करिव ४५० वर्ष अगाडि नेपाल सम्वत ६९३ (बि.सं. १६२९) मा हस्तलिखित संस्कृतमा नेवारी भाषामा मिसाएर लेखिएको राष्ट्रिय अभिलेखालयमा सुरक्षित राखिएको छ । साथै सो समय यो ब्रत केवल २ दिन १ रात अर्थात केवल दुइ दिनको हुने देखिन्छ । तर यसको केवल ३० वर्ष पछि लेखिएको स्वस्थानी ब्रतकथामा भने ३० दिनको हुने वर्णन गरिएको छ । बि.सं. १६५९ देखि मात्र स्वस्थानी ब्रत ३० दिनको हुन थालेको भन्ने बुझ्न सकिन्छ । साथै यो नेवारी भाषामा मात्र लेखिएको थियो । यसरी नेवा:हरु बिच स्वस्थानी ब्रतकथा ब्यापक हुन थाले पछि बि.सं. १७३० माघ शुक्ल पञ्चमीका दिन कान्तीपुरका राजा प्रताप मल्लले मखन तानाबहा:मा पहिलो पटक स्वस्थानीको मुर्ति स्थापना गराएका थिए ।

बि.सं. १६२९ मा लेखिएको पहिलो स्वस्थानी ब्रतकथा

यसरी हेर्दा मल्लकालमा शुरू भएको स्वस्थानीको ब्रत कथा गाेरखालीले काठमाडौ विजय गरेपछि बि.सं. १८६६ मा मात्र नेपालीमा लेखिएको थियो । यसपछि अन्यले पनि यसलाई अंगिकार गरेको मान्न सकिन्छ । शुरुमा वनारसबाट छापिने नेपाली भाषाका स्वस्थानी ब्रतकथाका पुस्तक धेरै पाइन्थ्यो । जसले गर्दा भाषागत रुपमा अशुद्ध धेरै भेटिन्थयो । अचेल भने नेपाली प्रकाशकका पाइन्छन् । जसले गर्दा केही कम नै अशुद्ध भेटिन्छ । साथै कथामा धेरै नेपालीकरण र ब्राम्हणीकरण धेरै भेटिन्छ ।

बि.सं. १८९३ – १९७९ बिच नेपाली नेवारी संस्कृतमा लेखिएको स्वस्थानी ब्रतकथा !

शुरुका स्वस्थानी आठ पन्नाको ताडको पातमा लेखिएको थियो भने पछि यो बिस्तृत भएर करिव ४०० पन्नाको मोटो किताव बनेको थियो । शुरुका करिव २०० वर्षसम्म केवल नेवारी भाषा मात्र प्रयोग भएको भेटिएको छ । साथै यसको कथामा पनि समय समयमा फेरबदल भइरहेको पनि पाइन्छ । स्वस्थानीको मूलकथा १८ पुराण मध्यको पुराण स्कन्द पुराणमा रूमल्लिएको छ । यहि स्कन्द पुराणमा रहेको केदार खण्डलाई नै केन्द विन्दु बनाएर यो कथा लेखिएको छ । पुराणका कथामा प्रमुख पात्र भने स्थानिय बिभिन्न नाममा राखिएको छ । यस कथा भित्र मुख्य पात्र गोमयजु नै हुन् । नेपाली अनुवाद गरिदा गोमा ब्राम्हणीको रुपमा लेखिएको छ । दोश्रो गोमयजुको छोरा नवराज र तेश्रो नवराजकी श्रीमती चन्द्रावती । तीन पात्र संगै तीन चरित्र रहेको छ । गोमयजु शान्त जस्तै दुखमा पनि नआत्तिने, नवराज आमाको आज्ञाकारी सुपुत्र जसको असल चरित्रले गर्दा पछि राजा बन्छन् । तेश्रो चन्द्रावती स्वार्थी स्वभावको । केवल सुखभोग गर्न चाहने । लोभ, लालच र घमण्डले गर्दा निकै दुख पाए ।

बि.सं. १९०४ मा नेपाल/नेवारी लिपीमा लेखिएको स्वस्थानी ब्रतकथा!

यस कथाको मुख्य विषयवस्तु नै महिला केन्द्रित रहेको छ । यसमा पनि मुख्य विवाह पछि पतिको घरलाई स्विकार्नुपर्ने तथा नयाँ घरमा जस्तै विषम परिस्थिती रहे तापनि खुशीसंग रहनु पर्छ भन्ने देखाइएको छ । गोमयजुले विवाह पछि पुगेको पति शिवदत्तको घरको दयनिय अवस्था र चन्द्रावतीले विवाह पछि पुगेको पति नवराजको घरमा खासै धेरै फरक देखिदैन । दुबै गरिव थिए । साथै धनी घर र सुखसयलमा हुर्किएका गोमा र चन्द्रावती थिए ।

आखिर को हुन् त गोमयजु वा को हुन त नवराज भन्ने प्रश्न हामी स्वस्थानी पढ्ने हरेकमा खुलदुली हुने गर्दछ । के यि पात्र केवल काल्पनिक हुन वा कुनै राजनैतिक चरित्रलाई लिएर लेखिएका हुन् । स्वस्थानी ब्रत कथा के साँच्चै पौराणिक कथा हो त ? के यसको सम्बन्ध महाभारतसंग छ ? के यसमा हरेक अध्यायमा भनिए जस्तो कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि अर्थात कुमारले भन्ने र अगस्त्य मुनिले लेखेकै हो त ? यि सबै अनुत्तरित प्रश्नहरू छन् । सबै भन्दा महत्वपूर्ण यो केवल नेपालमा मात्र पढिन्छ । यसमा लेखिएका पिठहरू पौराणिक कथाहरू संग मिल्दैन ।

यो कथामा महिला माथि अन्याय भएको बढी देखिन्छ । तर महिलाको सहनशिलता र उसको धैर्यले गर्दा जीवनमा सुख सुविधा सबै प्राप्त हुन्छ । यस कथामा दैवी शक्तीको कथावस्तु देखाएर महिलालाई धैर्य गरेमा अवश्य फल प्राप्त हुने देखाइएको छ । यसको कथावस्तुले भगवानको छलकपटहरू देखाएको छ । भगवान माथी प्रश्न चिन्ह लगाईएको छ । भगवान सम्पूर्ण रूपले पूर्ण होइन हामी मनुष्य झै स्वार्थी पनि हुने गर्छ भन्ने देखाइएको छ ।

संस्कृत तथा प्रचलित नेवारी लिपीमा लेखिएको स्वस्थानी ब्रतकथा !

यसको ब्रत बस्दा सोचेको पुरा हुन्छ भनिन्छ । तर यसको दैवी शक्तिले होइन यसका कथा वस्तुले महिलामा आत्मविश्वास बृद्धी गर्छ । कार्यमा लगनशिलता बढाउँछ । जसले गर्दा आफ्नो लक्ष प्राप्ती गर्दछ ।

प्रचलित नेवारी लिपीमा लेखिएको स्वस्थानी ब्रतकथा !

यस स्वस्थानी ब्रतकथामा शाली नदीको वर्णन रहेको हुँदा शाली नदीमा ब्रत बस्ने तथा नुहाउनेहरुको भिड लाग्ने गर्दछ । तर पुराना स्वस्थानी कथामा भने कुनै पनि नदीको नाम उल्लेख गरिएको थिएन । करिव २०० वर्ष अगाडिबाट मात्र शाली नदीको उल्लेख गरिएको भेटिएको छ ।

प्रचलित नेवारी लिपीमा लेखिएको स्वस्थानी ब्रतकथा !

तसर्थ शाली नदीमा ब्रत बस्ने चलन पनि बढीमा २०० वर्ष मात्र भएको अनुमान गरिएको छ । साथै यहि स्वस्थानी ब्रत आरम्भ हुने समय पौष शुक्ल पूर्णिमाको दिनबाट दुइ जात्रा दुइ ठाउँमा लाग्ने गर्दछ ।

नेपाल सम्वत १००८ मा प्रचलित नेवारी लिपीमा लेखिएको स्वस्थानी ब्रतकथा !

चाँगुनारायणमा चाँगुनारायण जात्रा तथा साँखुमा माधवनारायण जात्रा । यो दुबै जात्रालाई धेरै पुरानो जात्रा मानिदैन । माधवनारायणको कठिन एक महिना लामो व्रत बस्ने गरिन्छ ।

नेपाल सम्वत ९९३ मा देवनागरी नेवारी लिपीमा लेखिएको स्वस्थानी ब्रतकथा !

-सुनिल उलकको फेसबुकबाट (फोटो र कथासहित)

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट