आइतवार, कार्तिक ६, २०७९
प्रदीप पौडेल स्व: नेता उज्जवल थापाको निवासमा, थापाकी माताले दिइन् जीतको आशिर्वाद

प्रदीप पौडेल स्व: नेता उज्जवल थापाको निवासमा, थापाकी माताले दिइन् जीतको आशिर्वाद


  • स्वदेश नेपाल
  • आइतवार, कार्तिक ६, २०७९

नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेल मत माग्ने क्रममा वैकल्पिक राजनीतिको सुरुवात गर्ने स्वर्गिय नेता उज्जवल थापा निवास पुगेका छन्।

उनी घरदैलो अभियान अन्तर्गत शनिबार चप्पल कारखानास्थित स्वर्गिय थापाको निवास पुगेका हुन्। पौडेलले थापाका मातापितासँग भेट गरेर आशिर्वाद लिएका छन्।

उनले मातापितासँग स्वर्गिय थापाले लिएको वैकल्पिक राजनीतिको एजेन्डालाई आफूले अगाडि बढाउने प्रतिवद्धता जनाएका छन्। सो क्रममा थापाकी माता शान्ताले नेता पौडेललाई जीतको शुभकामना दिएकी थिइन्।

कार्यकारी भूमिकामा रहेकाहरुको अख्तियारले छानबिन गर्न पाउनुपर्छ : प्रदीप पौडेल

कांग्रेस युवा नेता प्रदीप पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक छायाबाट मुक्त राख्नुपर्ने बताएका छन् ।

अस्ति शुक्रबार काठमाडौं क्षेत्र नं ५ अन्तर्गत पर्ने बुढनिलकण्ठ नगरपालिका वडा नं ३ र ५ इकाइले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेता पौडेलले भ्रष्ट्राचार नियन्त्रण गर्ने संस्थालाई राजनीतिको दाउपेचबाट माथि राख्नुपर्नेमा जोड दिए ।
कार्यकारी भूमिकामा रहेका व्यक्तिहरुको निगरानी अख्तियारले गर्न नपाएको बताउँदै उनले भने, ‘कार्यकारी भूमिकामा रहेका मानिसहरुको काममा निगरानी गर्न नपाउने हो भने अख्तियारको के काम ? कसरी भ्रष्ट्राचार रोकिन्छ ।’

त्यसैगरी स्वतन्त्र र निष्पक्ष व्यक्तिले नेतृत्व गरेमा मात्रै अख्तियारले उचित ढंगले काम गर्न सक्ने बताए ।

‘स्वतन्त्र र निष्पक्ष मान्छेहरुले नेतृत्व गरे भनेमा मात्रै अख्तियारले राम्रोसँग अनुसन्धान गर्न सक्दछन् ।’ उनले भने, ‘त्यसैले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिको छायाँबाट मुक्त हुनु पर्दछ ।’

कार्यक्रममा बोल्दै नेता पौडेलले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले अदालतमाथि हस्तक्षेप गरेको आरोप लगाए ।

आफूसँग नेकपा एमालेबाट प्रतिष्पर्धामा रहेका ईश्वर पोखरेल सोही सरकारमा सामेल भएर पनि न्यायालयमाथि हस्तक्षेप हुँदा केही नबोलेको टिप्पणी गरे । साथै आफूहरुले न्यायालय सुधारदेखि अख्तियारको निष्पक्षतासम्मका लागि योजना बनाएर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

‘न्यायालय माथिको नांगो हस्तक्षेप छ, केपी शर्मा ओली दुई तिहाइको सरकार बनाउनुभयो । उहाँहरु ईश्वर पोखरेलहरु सरकारको नेतृत्व गर्नुभयो । उहाँहरुले नै दुई तिहाइको शक्ति प्रयोग गरेर अदालतमाथि पनि हस्तक्षेप गर्नु भयो ।’ उनले भने, ‘त्यसैले न्यायालयको निष्पक्षताको निमित्त पनि हामीले कामहरु गर्नेछौँ ।’

नेता पौडेलले संसदमा समावेशी प्रतिनिधित्व रहेको बताउँदै संसदलाई प्रत्यक्ष निर्वाचित कार्यकारीको अवधारणमा लैजान आफूहरु लागि परेको पनि बताए ।

‘संसदलाई प्रत्यक्ष निर्वाचन प्रणालीबाट समावेशी बनाऔँ भनेर पनि हामीले प्रस्ताव गरिरहेका छौँ ।’ उनले भने ।

त्यस्तै काठमाडौंका मतदाताहरुले आफ्नो ठाउँको विकास र न्यायको लागि मत हाल्न समेत आग्रह गरेका छन् ।

नेता पौडेलले निर्वाचन अघि सुरु भएको केही गठबन्धनको यात्रा आगामी ५ वर्षसम्म रहनेमा समेत जोड दिएका छन् ।

काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ नम्बर वडाहरुको भूगोल समेटेर काठमाडौं–५ निर्धारण गरिएको छ।

यो क्षेत्रबाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनाव लड्दै छन्। त्यस्तै रञ्जु दर्शना पनि चुनावी मैदानमा छिन्।

२०७४ को निर्वाचनमा काठमाडौं–५ मा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलाई पराजित गर्दै पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनले कुल खसेको मतमध्ये २३ हजार २९ मत र डा महतले १३ हजार १६९ मत प्राप्त गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट