शनिबार, कार्तिक ५, २०७९
पढौं-बुझौँ : सूर्यग्रहणमा के गर्ने, के नगर्ने ? (भिडियोसहित)

पढौं-बुझौँ : सूर्यग्रहणमा के गर्ने, के नगर्ने ? (भिडियोसहित)

साामान्यतया ३ सय ७५ वर्षपछि मात्र फेरि खग्रास सूर्यग्रहण लाग्ने गर्छ !


  • स्वदेश नेपाल
  • शनिबार, कार्तिक ५, २०७९

अच्युतप्रसाद पौडेल ‘चिन्तन -शुभ, अशुभ फल जे भए पनि सूर्य र चन्द्र दुवै ग्रहणलाई सीधा आँखाले हेर्नु हुँदैन। खानामा विषाक्त विकीरण हुने हुँदा पाकेका खाना नखानु भनिएको हो।यो वर्ष कात्तिक महिनामा दुईवटा ग्रहण परेका छन्।

८ गते सूर्य र २२ गते चन्द्रग्रहण। औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण पर्छ। लक्ष्मी पूजाको बिहान गाई पूजापछि सूर्यग्रहण छ, खण्डग्रास। थोरै ग्रहण हुनु भनेको खण्डग्रास हो र पूरै हुनु भनेको खग्रास हो। पूर्णिमाको ग्रहण भने खग्रास छ।

कात्तिक ८ गते परेको सूर्यग्रहणको आरम्भ भने अपराह्न ४ बजेर ५२ मिनेटमा सुरु हुन्छ र सूर्यास्तसँगै ५ बजेर २४ मिनेटमा नेपालबाट बिदा हुन्छ। कात्तिक २२ को चन्द्रग्रहण भने साँझ ५ बजेर ११ मिनेटमा सुरु भई भोलिपल्ट बिहान ६ बजेर ३४ मिनेटमा समापन हुन्छ। त्यसैले यसलाई खग्रास भनिएको हो। रातभरि जून देखिन्न, पूर्णिमा भए पनि पूरै रात अँध्यारो हुन्छ।

सूर्यग्रहण यसपालि स्वाती नक्षत्र भनौँ तुला राशिकालाई थोरै कष्टकर छ, चन्द्रग्रहण भने भरणी नक्षत्र भनौँ मेष राशिकालाई विशेष कष्टकर छ। बाल, वृद्ध, आतुर, बिरामीबाहेकलाई सूर्यग्रहणको १२ घण्टा र चन्द्रग्रहणको पनि घटीमा १२ घण्टा वा ६ घण्टा पूर्वदेखि खाना वर्जित छ, यो शास्त्रको भनाइ हो। ग्रस्तास्त ग्रहणमा त ग्रहण छुटे पनि भोलिको सूर्य नउदाई खान निषेध भनिएको छ।

यसपालि मध्य तिहारमा सूर्यग्रहण परेकाले तिहारका खाद्यान्नहरू भने बासी राख्नु नहुने देखिन्छ, ग्रहणअघि नै सक्नुपर्ने बा ग्रहणपछि सेल, रोटीहरू बनाउनुपर्ने देखिन्छ। दूध, पानी पनि तताएको, उमालेको राखिराख्न हुन्न भनिन्छ। शास्त्रको मर्यादा छ सामान्य मानिसले ग्रहणमा निद्रा, आहार, मैथुन, दिसा, पिसाब, बन्धन आदि गर्नु पनि हुन्न, गरेमा ठूलै दोष लाग्छ, शरीर रोगी हुने, दुःख दरिद्रता हुने अर्को जन्ममा मनि राम्रो बाटो नपाउने भनिएको छ। राशिगत हिसाबमा सूर्यग्रहणमा मकर, धन, सिंह, वृष राशिकालाई त अनेकौं लाभ हुनेछ भने चन्द्रग्रहणमा यसपालि कुम्भ, वृश्चिक, कर्कट, मिथुन राशिकालाई राम्रो फल दिने देखिन्छ। बाँकीलाई सामान्य असुविधा छ। चन्द्रग्रहण भने उदाउँदै ग्रस्त हुनेछ, देखिँदैन, कार्तिक शुक्ल पूर्णिमाका कार्यहरू यसपालि केही अवरोध हुनेछन् भने ग्रहणमा ग्रहणदान, व्रत, तीर्थ, जप, उपासनालाई भने राम्रो रूपमा लिइन्छ।

शुभ, अशुभ फल जे भए पनि सूृर्य र चन्द्र दुवै ग्रहणलाई सीधा आँखाले हेर्नु भने हुँदैन। खानामा विषाक्त विकीरण हुने हुँदा पाकेका खाना नखानु भनिएको हो। सूर्यग्रहणमा त त्योभन्दा बढी समय अघिदेखि नै भोजन निषेध छ। पश्चिमी मुलुकको तुलनामा पूर्वी र दक्षिण एसियाली क्षेत्रसँग सम्बद्ध मुलुकहरूमा सूर्य, चन्द्रग्रहणको विशेष अध्ययन र त्यसको प्रभाव विश्लेषण गर्ने चलन बढी छ। प्रमाणगत रूपमा भन्नुपर्दा छैटौं शताब्दीदेखि नै भारतीय उपमहाद्वीपमा यसको अध्ययन विश्लेषण गर्न थालिएको हो। यद्यपि वैदिक ग्रन्थहरूले ग्रहणको व्याख्या सत्ययुगदेखि नै भएको उद्घोष गरेका छन्। द्वापरयुगमा ग्रहणका बखत गरिने शुभकार्यबारे विभिन्न शास्त्र, पुराणहरूले प्रशस्त चर्चा गरेका छन्। द्वापरयुगमा यदुवंशी र कुरु वंशीहरू कुरु क्षेत्रमा जम्मा भएका थिए विशेष स्नानका लागि।

सूर्यग्रहण सूर्यसँग र चन्द्रग्रहण चन्द्रमासँग सम्बन्धित भएकाले आइतबारको सूर्यग्रहण र सोमबारको चन्द्रग्रहणलाई विशेष चूडामणियोगको ग्रहण भनिने गरिन्छ, यस्तो बेला शुभ कर्मको फल अन्य बेलाको तुलनामा अधिक रहन्छ। पृथ्वीबाट सूर्य करिब १५ करोड किमि टाढा छ। यसको व्यास पृथ्वी भन्दा १०९ गुणा ठूलो छ। चन्द्रमाको व्यास भने पृथ्वीको तुलनामा एक चौथाइ मात्र छ। सूर्यको तौल पृथ्वीको भन्दा ३ लाख ३३ हजार गुणा बढी छ। यसको बाहिरी सतहको तापक्रम ६ हजार डिग्री सेन्टिग्रेड रहेको छ र केन्द्रको तापक्रम भने १ करोड ५० लाख डिग्री सेन्टिग्रेड रहेको छ। सूर्य पृथ्वीभन्दा नजिकको एक तारा हो। सौर्य मण्डलमा सम्पूर्ण ग्रहहरू आफ्नो कक्षमा परिभ्रमण गर्छन्। सूर्यको वरिपरि पनि परिभ्रमण गर्ने गर्छन्। पृथ्वी आफ्नो कक्षमा परिभ्रमण गर्ने क्रममा पश्चिमबाट पूर्वतिर परिभ्रमण गर्छ भनौँ सूर्यको वरिपरि पनि परिभ्रमण गर्छ। ग्रहण लाग्दा सूर्य पूरै नदेखिनुलाई खग्रास सूर्यग्रहण भनिन्छ। पृथ्वीको कुनै एक स्थानमा खग्रास सूर्यग्रहण लागेपछि साामान्यतया ३ सय ७५ वर्षपछि मात्र त्यस स्थानमा फेरि खग्रास सूर्यग्रहण लाग्ने गर्छ।

छैठौं शताब्दीका विद्वान् ज्योतिषाचार्य बराहमिहिरले प्रामाणिक ग्रहणको चर्चा गरेका छन्। सूर्य र चन्द्रमाका बीचमा पृथ्वी पर्नाले चन्द्रग्रहण हुने गर्छ। चन्द्रग्रहणमा सूर्यको किरणलाई पृथ्वीले छेक्दा चन्द्रमामा छाया पर्न जान्छ। पूर्णिमामा सूर्य–पृथ्वी–चन्द्रमा एकै रेखामा पर्न जाँदा चन्द्रग्रहण पूर्णिमाका दिन मात्र हुने गर्छ। ग्रहण देखिएमात्र अनुभूति हुने कुरा भए पनि बादलका कारण ग्रहण देखिएन भन्दैमा ग्रहण छैन भन्न चाहिँ मिल्दैन, यत्ति हो कि कुनै भूभागबाट बढी देखिन्छ, कुनैबाट कम वा कुनै क्षेत्रबाट पूरै देखिँदैन। एउटा मुलुकलाई ग्रहण लाग्दैमा अर्को मुलुकलाई पनि लाग्छ भन्न मिल्दैन। मुलुकभित्र पनि क्षेत्र विशेषमा फरक हुन सक्छ।

वैदिक दर्शनले राहुको आक्रमण भनेको छ ग्रहणलाई। राहु भनेको कालो वर्ण अर्थात् अँध्यारो हो। अज्ञानताको कालो बादल नै दुःखको कारण हो। जहाँ जुन विषयमा अन्धकार छ त्यो राहु हो। अनिष्ट हो, ग्रहण लागेका बेला दानका कार्यबाट सन्तोष हुने दैत्यको उदय भएका बखत सृष्टिकर्ता ब्रह्माजीले यति बेलाको दान कार्यबाट आहार ग्रहण गर्नु भन्ने वरदानअनुसार राहुले त्यसबेला आफ्नो खाना लिने कुरा शास्त्रहरूले चर्चा गरेका छन्। समुद्र मन्थन गर्दा प्राप्त अमृत वितरणमा राहुले पनि अमृतपान गरेकोले सूर्य र चन्द्रले त्यसको विरोध गर्दा ईष्र्यालु भई राहुले सूर्य र चन्द्रमालाई मौका मिलेका बखत दुःख दिने गरेका कारणस्वरूप चन्द्र सूर्यग्रहण लाग्ने गरेको कथानक शास्त्रहरूमा पाइन्छ।

ग्रहणका बखत अन्य शुभकार्य निषेध भए पनि दान, पुण्य, तीर्थ, व्रत, जप, होम, उपासना, अनुष्ठानका लागि यो उत्तम समय हो। मन्त्र दीक्षा ग्रहण गर्न यतिबेला उत्तम हुन्छ। स्नानमध्ये नदी किनारा वा समुद्रछेउको स्नान बढी पुण्यदायी हुन्छ। जमेको भन्दा बगेको पानीले स्नान गर्नुपर्ने हुनाले घरबाहिर गएर स्नान गर्ने चलन बढेको हो। ग्रहण सुरु, मध्य र अन्त्यमा स्नान गर्नुपर्ने विधान भए पनि हिजो आज नदी, खोलाहरू कम हुँदै गएकाले एकपटक मात्र स्नान गर्ने र नमिलेमा पानी मार्चन गर्ने चलन देखिन्छ। उमालेको पानीमा वढी विषाक्त विकीरण रहने हुनाले ग्रहण पूर्व उमालिएको पानी सेवन गर्नु हुँदैन। पकाएको खाना र यस्तै अन्य खानेकुरा ग्रहण गर्नु हुँदैन। पुण्य कार्य गर्न अन्य दिनभन्दा चन्द्रग्रहणका बखत लाखौं गुणा र सूर्यग्रहणका बखत त्यसको पनि दसौं गुणा बढी उत्तम हुन्छ।

प्राणीहरूको जीवन जलमा सुरु हुन्छ, माटोमा सञ्चालन र अग्निमा संहार हुन्छ। जीवनको आधार पानी हो, जीवको आधार ताप शक्ति हो। जल र अग्नितत्त्व बिना जीवन सञ्चालन सम्भव छैन यसर्थ जलको कारक चन्द्र र तापको कारक सूर्यसँग सम्बद्ध विषयप्रति हामी संवेदनशील हुनुपर्ने भएकाले चन्द्र सूर्य दुवै ग्रहणको प्रभाव जीवनमा पर्नु स्वाभाविक हो। शरीर शुद्ध राख्ने विधानमध्ये स्नानदान र व्रतचर्याको बढी महत्त्व हुन्छ नै।

ग्रहणमा गीताको पाठ, रामगीता, भागवतको केही श्लोकहरूको अध्ययन गर्नाले पनि राम्रो हुन्छ, नसके खराब कर्मसम्म नगर्दा पनि पापको भागी हुनु पर्दैन ग्रहणमा चिसै मौसम भए पनि सके तीर्थ, खोला, जलाशय सागर आदिमा स्नान गर्नाले जीवनमा अपार पुण्य र आनन्द मिल्छ भने टाढा जान नसक्नेहरूले घरमै स्नान गर्दा पनि तीर्थहरूको नाम, पवित्र नदीको स्मरण, गंगा, गायत्री, गाईको स्मरण, मन्त्रोच्चारण र अयोध्या, मथुरा, माया, काशी, काञ्ची, अवन्तिका पुरी, द्वारावती, गोदावरी आदिको स्मरण गर्दै स्नान, सन्ध्या र यथाशक्य दान, पुण्य गर्नाले आफ्नो शरीर पवित्र त हुन्छ नै, मन र धन पनि पवित्र हुने गर्छ।

तन शुद्धि स्नानले, धनशुद्धि दानले, मन शुद्धि ध्यानले हुन्छ। तन, मन र धन तीन कुरा नै शुद्धि पाउनु आजको प्रतिस्पर्धात्मक समयमा निकै गाह्रो छ। (अन्नपूर्णपोस्टबाट)

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट