बुधबार, अशोज १९, २०७९
बुद्धत्वको विजय गाथा !

बुद्धत्वको विजय गाथा !


  • स्वदेश नेपाल
  • बुधबार, अशोज १९, २०७९

-विवेक शर्मा

न अस्त्र न शस्त्र, हथियार नचलाई,
गर्यो जस्ले विजय, जित्यो सबलाई,
त्यस्ता त जीनको, पुजा म गर्छु,
हरपल-हरदिन, सतत् नमन गर्छु!

न आफ्नो-पराई, न शत्रुलाई हराई,
जस्ले मन जित्यो, रगत नबगाई,
त्यस्ता त जीनको, पुजा म गर्छु,
हरपल-हरदिन, सतत् नमन गर्छु!

जाग्यो-जगायो, सब-निद्रा भगाई,
तार्यो भवसागर, मितेरी लगाई,
त्यस्ता त जीनको, पुजा म गर्छु,
हरपल-हरदिन, सतत् नमन गर्छु!

सद्धर्म-रुपि, हस्त-प्रदान गर्दै,
करुणारुपी, मीठो सुगन्ध छर्दै,
विजय ध्वजा, जगमा फर्फराई,
बुद्ध-तथागत, भन्ने नाम कमाई,
त्यस्ता त जीनको, मात्र पुजा गर्छु,
हरपल-हरदिन, सतत् नमन गर्छु!

<भवतु सर्व मंगलम्>

बुद्धको जीवनमा धेरै शत्रुहरु बनेका थिए । आफ्नै भाई देवदत्तले मार्नको लागि भनेर अनेकन प्रयास गरेका थिए भने उहाँको शिक्षालाई मन नपराउनेले अनेकन आरोप-प्रत्यारोप लगाउने आदि गरेका थिए ।

तर ती सबैलाई बुद्धले आफ्नो मैत्री स्फारण गरेर वशमा लिनु हुन्थ्यो र आफ्नो शिक्षा सबैलाई बराबर रुपमा आफ्नो, अरुको नभनी दिनु हुन्थ्यो।

न शत्रु भनेर दुर्व्यवहार गर्नु हुन्थ्यो, न आफ्ना चेला, अनुयायी, समर्थक भनेर आसक्ती र कृपावाद गर्नु हुन्थ्यो । माथी मितेरी भन्ने शब्द यहि मैत्री भन्न खोजिएको हो।

मैत्री भनेको सुख र सुखको कारणले युक्त हुन भन्ने आशय हो र नेपालीमा मित्र, साथी भन्ने शब्दहरु यस्का नजिकका पर्यायवाची हुन । बुद्ध र बोधिसत्त्वहरु “अकारण-मित्र” हुन् किनकी कुनै स्वार्थ र आफ्नो निजी उदेश्य नभैकन सबै प्रती उत्तिनै करुणा र मायाले सबैलाई समभावले बुद्ध र बोधिसत्त्व र अर्हतहरुले हेर्दछन् ।

उहाँहरुले सद्धर्मको शिक्षा प्रदान गरेर हामीलाई हात दिदैं संसारको दलदलबाट बाहिर निकाल्दछन् । हामीले गाली गरेपनी, रिसाएपनी, शत्रुवत व्यवहार गरेपनी उहाँहरुको हामी प्रतिको करुणा र मैत्री कहिल्यै घट्दैन र सुक्दैन ।

र यहाँ जीन भनेको जस्ले जितेको छ, त्यसलाई भनिएको हो, अर्थात बुद्धलाई भनिएको हो। उहाँले राग, द्वेष, मोह, अविद्या आदिमाथी पुर्ण विजय हासिल गर्नु भएको थियो ।

त्यसैले शत्रुलाई पनि रिश गर्ने, मार्ने, नष्ट गर्ने आदि काम गर्नु हुदैन थियो । बरु आफ्नो शक्ति र प्रभावले, आफ्ना ऋद्धी सिद्धिले सजिलै, विना हिंसा जित्नु भएको थियो र आफ्नो चेला बनाएर शिक्षा प्रदान गरेर संसारबाट तार्नु भएको थियो ।

यस्तो “अहिंसात्मक विजयको” उत्सवको कल्पना गर्दै त्यस्ता जग-विजयी बुद्ध, तथागत, सर्व-मार-जीनलाई मैले यो गाथा अर्पण गरेको हुँ ।

-शर्माको फेसबुकबाट

प्रतिक्रिया
सम्बन्धित समाचार