शनिबार, अशोज १५, २०७९
पेट्रोलियम पदार्थको खपत बढ्यो

पेट्रोलियम पदार्थको खपत बढ्यो


  • स्वदेश नेपाल
  • शनिबार, अशोज १५, २०७९

काठमाडौं । दसैंका कारण पेट्रोलियम पदार्थको खपत बढेको छ । नेपाल आयल निगमका अनुसार हालका दिनमा औसत पेट्रोलको खपत दैनिक ३ हजार किलोलिटर पुगेको छ भने डिजेलको खपत ३ हजार ७ सय किलोलिटर हाराहारी पुगेको छ ।

गत बिहीबार देशभर ३ हजार १०४ किलोलिटर पेट्रोल तथा ३ हजार ७५८ किलोलिटर डिजेल खपत भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

दसैंअघिको तुलनामा हाल पेट्रोल र डिजेलको खपत बढेको उहाँले बताउनुभयो । निगमका अनुसार दसैं सुरु हुनुभन्दा अघि औसत दैनिक २ हजार २ सय किलोलिटर पेट्रोल तथा ३ हजार ५ सय किलोलिटर डिजेल खपत हुने गरेको थियो ।

दसैंका बेला सडकमा सार्वजनिक तथा निजी सवारीसाधनको चाप बढ्ने भएकाले पेट्रोल र डिजेलको खपत बढ्नु स्वभाविक रहेको उपाध्यायले बताउनुभयो ।

साउन महिनामा देशभर कुल ५१ हजार ६३० किलोलिटर पेट्रोल र ७६ हजार ४० किलोलिटर डिजेल खपत भएकोमा असोज १ देखि ११ गतेसम्म मात्रै कुल २० हजार ८३२ किलोलिटर पेट्रोल र ३२ हजार ८६२ किलोलिटर डिजेल खपत भएको निगमको तथ्यांक छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार