मङ्लबार, अशोज ११, २०७९
आयोगद्वारा निर्वाचन क्षेत्र अनुसारको उम्मेदवारको खर्च प्रस्ताव (सूचीसहित)

आयोगद्वारा निर्वाचन क्षेत्र अनुसारको उम्मेदवारको खर्च प्रस्ताव (सूचीसहित)


  • स्वदेश नेपाल
  • मङ्लबार, अशोज ११, २०७९

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले गर्ने खर्च सीमा बढाउने भएको छ । आयोगले प्रदेश र प्रतिनिधिसभातर्फ ८–८ लाखसम्म खर्च सीमा बढाउने प्रस्ताव गरेको छ ।

यसअघि उम्मेदवारहरूले प्रदेशसभामा अधिकतम १५ लाख र प्रतिनिधिसभामा २५ लाख खर्च गर्न पाउँथे । यस पटक भने प्रदेशसभातर्फ १८ लाख र प्रतिनिधिसभातर्फ उम्मेदवार बन्नेले अधिकतम ३३ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् ।

यस पटक आयोगले प्रदेश र प्रतिनिधिसभातर्फ विभिन्न ४ आधारमा ५ वटा वर्गमा खर्च सीमाको प्रस्ताव गरेको छ । निर्वाचन क्षेत्रभित्र सूचीकृत मतदाताहरूको कुल संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल, मतदान केन्द्र संख्या र मुद्रास्फितिलाई आयोगले आधार मानेको छ ।

प्रतिनिधिसभामा ५ वटा क्षेत्रमा अधिकतम २५ लाख खर्च गर्न पाइने प्रस्ताव आयोगले गरेको छ । त्यस्तै २३ क्षेत्रमा २७, ६६ क्षेत्रमा २९ लाख, ४४ क्षेत्रमा ३१ लाख र २७ क्षेत्रमा ३३ लाखसम्म खर्च गर्न पाउने आयोगको प्रस्तावित खर्च सीमा विवरणमा उल्लेख छ ।

त्यसैगरी प्रदेशसभातर्फ सबैभन्दा बढी २३ लाख खर्च गर्ने पाउनेमा २३ क्षेत्र रहेको छ । त्यस्तै ३१ क्षेत्रमा २१ लाखसम्म खर्च गर्न पाउने प्रस्ताव गरिएको छ भने ६४ क्षेत्रमा १९ लाख र १५२ क्षेत्रमा १७ लाखसम्म खर्च गर्न पाइनेछ । त्यसैगरी ५५ क्षेत्रमा १५ लाखसम्मको खर्च सीमाको प्रस्ताव गरिएको छ । प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० क्षेत्र रहेका छन् ।

आयोगले यतिबेला दलहरूबाट खर्च सीमासहित निर्वाचन आचारसंहितामा प्रतिबद्धता लिइरहेको छ । खर्च सीमाका बारेमा दलहरूसँग आयोगले छलफल जारी राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार