सोमवार, अशोज १०, २०७९
अपडेट मनास्लु हिमपहिरो : १ जनाको मृत्यु, २ जना घाइतेको उद्धार

अपडेट मनास्लु हिमपहिरो : १ जनाको मृत्यु, २ जना घाइतेको उद्धार


  • स्वदेश नेपाल
  • सोमवार, अशोज १०, २०७९

काठमाण्डौ । गोरखाको मनास्लु हिमालमा गएको हिमपहिरोमा परि एक जनाको ज्यान गएको छ । हिमपहिरोमा परि घाइते भएका १५ जनामध्ये एक जनाको ज्यान गएको जानकारी प्राप्त भएको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिनुभयो ।

घाइते भएका सबैलाई तेस्रो शिविरमा लगिएकोमा त्यहाँबाट दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको छ । बाँकीको उद्धार गर्ने प्रयास गरिएको भए पनि खराब मौसमका कारण हेलिकप्टर जान नसकेको निर्देशक खतिवडाले बताउनुभयो । १० जनाको अवस्था सामान्य छ ।

तेस्रो शिविरमा हिमपहिरोको जोखिम नभएको र त्यहाँ खान, बस्न तथा प्राथमिक उपचारको व्यवस्था भए पनि थप उपचारका लागि उद्धार आवश्यक पर्छ । उद्धारका लागि तीन वटा हेलिकप्टर र उद्धारकर्मीहरू सामा गाउँमा तयारी अवस्थामा रहेका पनि निर्देशक खतिवडाले बताउनुभयो ।

यसैबीच आजै मनास्लु हिमालमा एक जना विदेशी नागरिक हराएका छन् । तर उनी हिमपहिरोमा परेर नभइ ‘स्की’ खेल्ने क्रममा खोँचमा फसेर हराएका पर्यटन विभागका निर्देशक खतिवडाले बताउनुभयो ।

पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार शरद् ऋतुको मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन् । यो सिजनमा सगरमाथा, मनास्लुसहितका १५ हिमाल आरोहणका लागि ५८ आरोही समूहका पाँच सय ६ जनाले आरोहण अनुमति लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार