बिहिबार, अशोज ६, २०७९
माओवादी पार्टी जनताको शान्तिको चाहनासँग एकाकार छ : प्रचण्ड

माओवादी पार्टी जनताको शान्तिको चाहनासँग एकाकार छ : प्रचण्ड


  • स्वदेश नेपाल
  • बिहिबार, अशोज ६, २०७९

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी जनताको शान्तिको चाहनासँग एकाकार रहेको बताउनुभएको छ ।

बिहीवार काठमाण्डौमा भएको पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाको आत्मकथा लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले नेपाली जनतामा अझै पनि युद्ध गरेर आएको दल शान्तिप्रतिको लगावमा छैन कि भन्ने भ्रम रहेको भन्दै सबैले यस्तो विभ्रमलाई दिमागबाट हटाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘युद्धमा पनि हामी यस्तै थियौँ । अहिले पनि मानवता, लोकतन्त्र, परिवर्तन, न्याय, समानताप्रति हाम्रो उद्देश्य उस्तै छ । युद्ध एउटा परिस्थितिको बाध्यता थियो । तर त्यसको सञ्चालन गर्ने हामीभित्र शान्तिप्रतिको लगाव र निष्ठा नभएको हुन्थ्यो भने, मानवता र लोकतन्त्रप्रतिको निष्ठा नभएको भए शान्ति प्रक्रियाको सम्झौता सम्भव थिएन । युद्धमा सहभागीहरूले नै शान्तिको महत्त्व सबैभन्दा बढी बुझेका हुन्छन् ।

मानिसलाई युद्धमा गए त्यो बढी क्रुर र अमानवीय छ कि भन्ने लाग्छ । तर यथार्थ हेर्नुभयो भने त्यस्तो छैन । अहिले पनि एउटा भ्रम छ, माओवादी अहिले पनि कतै उस्तै पो छ क्यारे भनेको जस्तो । युद्धले शान्ति ल्याएको छ नेपालमा । माओवादी जनताको शान्तिको चाहनासँग एकाकार छ ।’

अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री स्व। सूर्यबहादुर थापाको आत्मकथाबाट धेरै कुरा सिकेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट