शुक्रबार, भदौ ३, २०७९
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा श्रीकृष्ण जन्माष्टमीको शुभकामना

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा श्रीकृष्ण जन्माष्टमीको शुभकामना


  • स्वदेश नेपाल
  • शुक्रबार, भदौ ३, २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबबहादुर देउवाले भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना दिएका छन् ।

राष्ट्रपतिले सन्देश जारी गर्दै यस पर्वको धार्मिक, सांस्कृतिक र दार्शनिक आयामहरू रहेको उल्लेख गर्नुभएको छ । धार्मिक दृष्टिमा भगवान् श्रीकृष्णलाई असल प्रवृत्तिका साधक र आसुरी प्रवृत्तिका विनाशक तथा भगवान् विष्णुका एक अवतार मानिने सन्देशमा उल्लेख छ ।

“सांस्कृतिक मान्यताअनुसार कृष्ण लीलासँग सम्बन्धित विभिन्न भजन, कीर्तन, नाट्य प्रदर्शन एवं उपासनाका लागि आजको दिनले विशेष महत्व राख्दछ,” राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, “हिन्दूहरूको पवित्र ग्रन्थ गीतामा भगवान् श्रीकृष्णबाटै योग र दर्शनको विवेचना भई मानव जाति समक्ष उपलब्ध भएको पक्ष उत्तिकै महत्त्वपूर्ण छ, जसलाई आजकै दिन विशेषरूपले स्मरण गरिन्छ ।”

विश्वभरिका हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन रही आएको राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गर्नुभएको छ । “सम्पूर्ण विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, मोह त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गर्ने गीता ज्ञानले हामीलाई सुकर्मका लागि युगौँदेखि निरन्तर मार्गदर्शन गरिरहेको छ,” सन्देशमा भनिएको छ ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शुभकामना दिनुभएको छ । उहाँले सन्देश निकालेर यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, भाइचारा र मैत्री भावना अभिवृद्धि गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको हो ।

उहाँले आज एक सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, भाइचारा र मैत्री भावना अभिवृद्धि गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको हो ।

कर्मयोगका प्रणेता श्रीकृष्णको पूजा अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने प्रचलन रही आएको छ । धार्मिक दृष्टिमा भगवान् श्रीकृष्णलाई असल प्रवृत्तिका साधक र भगवान विष्णुका एक अवतार मानिन्छ ।

‘गीतामा भगवान् श्रीकृष्णबाटै योग र दर्शनको विवेचना भइ मानव जाति समक्ष उपलब्ध भएको पक्ष महत्वपूर्ण छ र यसलाई आजको दिनमा विशेष रुपले स्मरण गरिन्छ’ सन्देशमा भनिएको छ ।

समस्त हिन्दूधर्मावलम्वीका आराध्य देव भगवान् श्रीकृष्णको शिक्षा र सन्देश समस्त मानव समुदायका लागि अत्यन्त उपयोगी र सारगर्भित रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट