आइतवार, साउन २२, २०७९
एक साताभित्रको अल्टिमेटम दिएर मधेश सरकारले प्रधानमन्त्रीलाई दियो आन्दोलनको चेतावनी

एक साताभित्रको अल्टिमेटम दिएर मधेश सरकारले प्रधानमन्त्रीलाई दियो आन्दोलनको चेतावनी


  • स्वदेश नेपाल
  • आइतवार, साउन २२, २०७९

एक साताभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण नगरे चर्को आन्दोलन गर्ने चेतावनी सहित मधेश सरकारले प्रदेश प्रमुखमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ। मन्त्रीहरु सहितको टोली भएर गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहको नेतृत्वमा प्रदेश प्रमुख हरि शंकर मिश्रमार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको हो।

ध्यानाकर्षण पत्र बुझाउने टोलीमा भौतिक पूर्वाधार विकासमन्त्री राम सरोज यादव, कृषि मन्त्री विजय कुमार यादव, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, खानेपानी तथा उर्जा मन्त्री ओम प्रकाश शर्मासहित सहभागी थिए ।

नेपालको संविधानको धारा २६८ ले निर्देश गरे अनुरुप प्रहरी समायोजन नहुँदा प्रदेश सरकारले सरकारको अनुभूति गर्न नसकेको हुँदा अविलम्ब प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ।

प्रहरी हस्तान्तरणको लागि प्रधानमन्त्रीलाई यसअघि नै ज्ञापनपत्रसमेत बुझाइसकेको अवस्थामा पनि मधेश सरकारले एक साताभित्र प्रहरी समायोजन नगरिए शान्तिपूर्ण अहिंसात्मक आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ।

मधेश सरकारको आयोजनामा जनकपुरधाममा सम्पन्न ६ वटा प्रदेशका गृहमन्त्री स्तरीय भेलाले यथाशिघ्र समायोजन हुनुपर्ने माग सहितको घोषणा पत्र समेत जारी गरेको थियो।

ध्यानाकर्षण पत्र बुझेका प्रदेश प्रमुख मिश्रले आजै प्रधानमन्त्री कार्यालयमा पठाउने जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार