शुक्रबार, साउन २०, २०७९
‘पूँजीगत खर्च राम्रो भएन’

‘पूँजीगत खर्च राम्रो भएन’


  • स्वदेश नेपाल
  • शुक्रबार, साउन २०, २०७९

काठमाडौँ – नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको पूँजीगत खर्चको अवस्था राम्रो हुन नसकेको बताउनुभएको छ । प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएशन नेपालले आज आयोजना गरेको ‘पूँजीगत खर्च : राष्ट्रिय अर्थतन्त्रमा प्रभाव’ विषयमा कार्यक्रममा उहाँले विगतदेखि नै देशमा पूँजीगत खर्चको अवस्था राम्रो हुन नसकेको बताउनुभयो ।

“पूँजीगत खर्चको अवस्था कमजोर बन्दै गएको छ, आर्थिक वृद्धिका कारणले पनि अहिले असर गरिरहेको छ”, पूर्व अर्थमन्त्रीसमेत रहनुभएका पाण्डेले भन्नुभयो, “वर्तमान सरकार चालु खर्च बढाउनेतर्फ लाग्नु हुँदैन ।”

पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले व्यापार घाटा निरन्तर बढ्दै गएको उल्लेख गर्दै २५ प्रतिशत सरकारको र ७५ प्रतिशत लगानी निजी क्षेत्रको हुने अवस्था चित्त बुझ्दो नभएको बताउनुभयो । नेपालको राजश्व र बैंकिङ प्रणाली राम्रो रहेको बताउँदै उहाँले सन् २०२२ मा आएर अर्थतन्त्रमा बढी प्रभाव परेको तथा विश्वमा सन् २०२४ सम्म नै आर्थिक सङ्कट पर्ने दाबी गर्नुभयो ।

अर्थतन्त्रका जानकार डा सूर्यमान आचार्यले अरू राष्ट्रको नक्कल गरेर बनाएको परियोजना सफल हुन नसक्ने टिप्पणी गर्नुभयो । उहाँले नेपालका स्रोत र क्षमतामा अन्तर हुँदा नेपाल सोचेअनुरुप आर्थिक विकास हुन नसकेको धारणा राख्नुभयो ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परियोजना निर्माण गर्दा पर्याप्त तयारी नै नहुने गरेको र सबै बजेट असारमा गएर केन्द्रित हुँदा विकासमा निर्माणमा समस्या देखिएको बताउनुभयो । एसोसिएशनका अध्यक्ष डा सुरज लामिछानेले नेपालमा पूँजीगत खर्चको स्थिति कमजोर बन्दै गएको भन्ने आम कुरा आएपछि वास्तविकता बाहिर ल्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट