बुधबार, साउन १८, २०७९
साउनको ब्रत धार्मिक आस्था मात्र होइन स्वास्थ्यको लागी समेत उत्तम हो

साउनको ब्रत धार्मिक आस्था मात्र होइन स्वास्थ्यको लागी समेत उत्तम हो


  • स्वदेश नेपाल
  • बुधबार, साउन १८, २०७९

हरिया पहिरनमा सजिएका, निधारमा रातो टिका अनि हातमा हरिया, पहेँला चुरा लगाएका दिदिबहिनीको चहलपहलले साउन महिना रंगिन बन्छ।

हरिया पहिरनमा सजिएका दिदिबहिनीलाई देख्दा आँखा पनि शितल बन्छन्। बाहिरी हरीयालीले त आँखालाई यति शितल बनाउँछ भने शरीर भित्र पनि त्यस्तै हरियाली बनाउन सके शरीर कति शितल र स्वस्थ्य बन्थ्यो होला?

हरियो लुगा लगाउनु र सजिनु बाहिरी सौन्दर्य हुन्। खानामा हरिया सागपात, तरकारी, फलफूलको मात्रा बढाई नियमित सेवन गर्नु भित्री सौन्दर्य बढाउने साँचो हो।

साउनमा हरेक सोमबार महादेवको आराधना गर्दै व्रत बस्ने चलन छ। विशेषतः महिलाहरू हरिया, राता र पहेँला पहिरनमा सजिएर व्रत बस्छन्। विवाहिताले परिवार, बालबालिका र श्रीमानको सुस्वास्थ्य एवं दीर्घायूको कामना गर्दै एवं अविवाहितले सुयोग्य जीवन साथीको कामना गर्दै व्रत बस्ने चलन छ।

व्रत बस्ने चलन प्राचीनकाल देखिनै चल्दै आएको छ। कति धार्मिक आस्थाका लागि व्रत बस्छन् भने कति स्वस्थ्य, शरीर शुद्धीकरणका लागि। जुनसुकै उद्देश्यले ब्रत बसे पनि उचित तरिकाले व्रत बसेमा धर्मको उद्देश्य पनि पुरा हुन्छ र स्वास्थ्य पनि मिल्छ।

सबैले बुझ्नुपर्ने पहिलो कुराः अचेल व्रत भन्ने वित्तिकै दिनभर आहार नखाई बस्नुलाई मात्र भनेर बुझ्ने चलन छ। व्रतले समग्र स्वास्थ्य लाभ हुने हुँदा हाम्रो शरीरले गर्ने क्रियाकलाप र विचारलाई पनि ठिक गर्नु हो भन्ने बुझ्नुपर्छ। मानिसको पहिलो धर्म शरीरलाई शुद्ध, स्वस्थ्य र निरोगी राख्नु हो।

जब शरीर स्वस्थ हुन्छ तब मात्र सबै काम गर्न सकिन्छ। तसर्थ धार्मिक रूपमा बसे पनि या शरीरको धर्म र नियमअनुसार बसे पनि व्रत शरीर तथा मनलाई शुद्ध गर्ने प्राकृतिक र प्राचीन विधि हो।

के हो व्रत?
केही निश्चित समयसम्म खानालाई छोड्नुलाई व्रत अर्थात उपवास भनिन्छ। अहिले बस्दै आएको व्रत भने एक दिने उपवास हो। त्यसमाथि पनि दिनभर केही नखाई बेलुकीपख एक छाक खाने ‘एक छाके उपवास’।

व्रत र पाचनतन्त्र
व्रत धेरैजसो धार्मिक विधिका रूपमा लिने गरिन्छ तर यो हाम्रो स्वास्थ्य, हाम्रो पाचनतन्त्रसँग जोडिएको वैज्ञानिक विधि हो। हाम्रो पाचनतन्त्र निरन्तर हामीले खाएको खाना पाचन गर्न चलिरहन्छ। खाना खाँदा शरीरले आफ्नो सम्पूर्ण शक्ति खाना पाचन गर्न प्रयोग गर्छ। जब हामीले व्रतका दिन केही नखाई बस्छौं तब हाम्रो पाचन यन्त्रले आराम पाउँछ र शरीरले आफ्नो त्यो शक्ति शरीरका प्रणालीलाई ठिक गर्न प्रयोग गर्छ। शरीरमा जमेको फोहोर निष्कासन गर्न समय मिल्छ। शरीरको भित्रीबाट सफाई हुन्छ। रगतको शुद्धीकरण हुन्छ।

जब हाम्रो पाचन प्रकृया सही हुन्छ तब समग्र शरीर नै स्वस्थ एवं निरोगी बन्छ। तसर्थ पाचन प्रणाली सुधार्ने र बलियो बनाउने प्राकृतिक विधि हो उपवास।

व्रतका प्रकार
सामान्यतः अहिले व्रतलाई एक दिन लिने चलन छ, कसैले फलफूल मात्र खाएर त कसैले एक छाक खाएर। प्रचलित १ दिने व्रतलाई चार प्रकारले लिन सकिन्छः

१. निराहार– दिनभरी केही आहार नखाई १–१ घन्टामा एक गिलास पानी पिएर बस्नुलाई निराहार उपवास भनिन्छ। यसले शरीरलाई पूर्ण रुपमा सफा गर्छ।

२. रसाहार– कुनै फलको रस मात्र पिएर बस्ने व्रतलाई रसाहार भनिन्छ। फलफूलको जुस दुई या तीन घन्टाको बीचमा १ गिलास र बीच–बीचमा पानी पिउने। यो शरीर सफाइको प्रभावकारी विधि हो।

३. फलाहार– कुनै एक प्रकारको फल मात्र खाएर बस्नुलाई फलाहार भनिन्छ। फल खाँदा दिनको तीन या चार पटक आफ्नो शरीरको अवस्था हेरेर खाने र बीचमा एक–एक घन्टामा एक–एक गिलास पानी पिउने। यो पनि शरीर सफाई गर्ने प्रभावकारी विधि हो। यसो गर्दा बढी भएको तौल घट्न पनि सहयोग गर्छ।

४. एक छाके– अहिले प्रचलित व्रत एक छाके हो। बिहान र दिउँसो नखाने र बेलुकीपख एक छाक मात्र खाने। यसरी व्रत बस्दा पनि पानी भने नियमित पिउने गर्नुपर्छ।

कस्तो आहार गर्ने?
व्रत बस्दा बिहानै नुहाइधुवाइ चोखो लुगा लगाएर शरीरलाई शुद्ध गरी बस्ने चलन छ। यो शरीरको बाहिरी सफाई हो। जसरी बाहिरी सफाई जरूरी छ, त्यसैगरी भित्री शरीर र मनको पनि शुद्धीकरण जरूरी छ। व्रत बस्दा भित्री शरीरसँगै मनलाई पनि शुद्ध गरेर बस्नुपर्छ तब मात्र व्रतको पूर्ण लाभ मिल्छ। शरीरको भित्री सफाई भन्नाले उचित खानपान र मनको सफाई भन्नाले मनमा रहेका विकारको सफाई।

व्रत बसेको दिन साँझपख शाकाहारी, सात्विक र सुपाच्य आहार खाने चलन उहिले पुर्खादेखि नै चल्दै आएको विधि हो। तसर्थ व्रत बस्दा मात्र होइन, अरू बेलामा पनि सुपाच्य प्राकृतिक, चिल्लो, पिरोरहित शाकाहारी रेशा छोक्राबोेक्रा भएका चोकरसहितका भोजन खाने गर्नुपर्छ।

प्रकृतिप्रेमी समूहले अहिलेको अवस्थामा स्वस्थ्य रहन सरल तरिकाले खाने सजिलो शूत्र अगाडि ल्याएको छ। त्यसका लागि कुनै ठूलो लगानी वा कुुनै ठूलो काम गर्नु पर्दैन। हामीले दिनहुँ खाँदै आएको खानालाई नै मिलाएर खान सकिन्छ। सोझो हिसाबमा भन्नुपर्दा हामीले खाँदै आइरहेको खानालाई तीन भागमा विभाजन गर्ने जसमाः

पहिलो– हामीले दैनिक लिने ठोस अंश चोकरसहितका पूर्ण अन्नहरूबाट १ भाग, लगभग ३३ प्रतिशत ।

दोस्रो–ताजा हरिया तरकारीहरू पात भएका बर्गबाट एक कचौरा र पात नभएका हरिया देखिने तरकारी बर्गबाट एक कचौरा गरी लगभग ३०० ग्रामको १ भाग, लगभग ३३ प्रतिशत ।

तेस्रो– काँचो सलाद फलफूलबाट ३३ प्रतिशत।

व्रत बस्दा होस् वा अन्य बेलामा सम्भव भएसम्म यसरी यी तीन चिज बरोबर मात्रामा मिलाएर खाएमा पाचनतन्त्रलाई चाहिने रेसा छोक्राबोक्रा प्रशस्त मिल्छ, कब्जियत हुँदैन। कब्जियत नभएपछि सदा स्वस्थ रहन सकिन्छ। साथै यसरी दैनिक मिलाएर खाँदा अनावश्यक तौल पनि बढ्दैन र दीर्घ जिर्ण रोगबाट पनि बच्न सकिन्छ।

तौल बढी भएकाहरूलेः
–आफूले दैनिक खाइरहेको अन्न कार्बोहाइड्रेटको अंशबाट २५ प्रतिशत घटाउने।
– त्यसैगरी हरिया सागसब्जी र काँचो सलाद फलबर्गबाट लगभग उत्तिकै मात्रामा बढाएर खाने। यसरी खाना कम गरी तरकारी, फलफूल बढाएर खाँदा पेट पनि भरिन्छ र बढी भएको तौल सजिलै हप्ताको एक किलो घट्छ।

व्रत बसेको दिन पनि यसरी तीन थरी बराबर आहार मिलाएर खान सकिन्छ। यस्तो आहारका धेरै परिकार बनाउन सकिन्छ।

जस्तै आँटाको रोटीसँग हरियो तरकारी र फलफूल खान सकिन्छ। त्यस्तै घरमै चिल्लोरहितको सुजी वा गाजरको हलुवाका परिकार बनाउन सकिन्छ भने मकै, गहुँको च्याख्लाको भातसँग हरियो तरकारी र सलाद पनि खान सकिन्छ।

नुनको प्रयोग–सामान्यतः व्रत बसेका दिनमा नुन नखानु बेस हुन्छ। यदि चाहिएमा इच्छाअनुसार राख्ने। हरिया सागसब्जीमा प्राकृतिक रुपमै नुन पाइन्छ। त्यसैले नुन धेरै राख्नु पर्दैन। हरिया तरकारीलाई उसिनेर मात्र खान सकिन्छ। यसरी खाँदा पेट सफा हुन्छ र व्रत बस्नुको पूर्ण लाभ मिल्छ।

सही मात्रामा पानी पिउनेः व्रत बस्दा पनि शरीरलाइ पानी चाहिन्छ। पानी नपिई बस्नाले पानीको कमी भई जलवियोजन हुने, टाउको दुख्ने, रिंगटा लाग्ने, शरीर गल्ने, थाक्ने र बेहोससम्म हुने हुन्छ। तसर्थ बिहान उठ्नेवित्तकै ३ देखि ४ गिलास करिब एक लिटर मनतातो पानी पिउने। त्यसैगरि दैनिक गर्मी मौसममा करिब ४ लिटर र जाडोमा करिब ३ लिटर पिउने।

व्रतबाट कतिबेला लाभ, कतिबेला हानी ?

अहिले व्रत बस्दा दिनभर केही नखाने र बेलुकिपख एकैचोटी बढी खाने गरिन्छ। यसरी एकैपटक धेरै खाँदा पाचनलाई पनि धेरै काम गर्नुपर्ने हुन्छ र व्रतबाट हुनुपर्ने लाभ मिल्दैन।
त्यसैगरी चिल्लो मिठाई, सेल, हलुवा, दूध, दहीजस्ता खानेकुरा खाने गरेको पाइन्छ। यसरी खाली पेटमा चिल्ला परिकार खाँदा ग्याँस बढ्ने, वाकवाकि लाग्ने, रिंगटा लाग्ने, टाउको दुख्ने र बेहोस हुनेसम्म हुन्छ। र पछि ग्याष्ट्राइटिसलगायत अरु जीर्णदीर्घ रोग लाग्छ।
अझ कति त दिनभर पानी समेत नखाई व्रत बस्छन्। बुझ्नु पर्ने कुरा व्रत बस्दा पनि हाम्रो शरीरलाई पानी चाहिन्छ। पानी नखाँदा शरीर सुख्खा भई पानीको कमि हुन्छ र समस्या आउँछ।
व्रतमा वा अन्य बेलामा जथाभावी खानु हुँदैन। उचित तरिकाले व्रत बसेमा पूर्ण लाभ हुन्छ।
व्रतका लाभहरू
कब्जियत हटाइ तौल घटाउँछ– व्रत वस्दा बढी जमेका बोसोबाट शरीरलाई चाहिने क्यालोरी कटौती हुन्छ। कब्जियत खुल्छ र तौल घट्छ। तर जथाभाबी खाएर व्रत बस्दा भने तौल सही रुपमा घट्दैन। कहिल्यै पनि एकैचोटी धेरै खानु हुँदैन, ठिक्क मात्रा मिलाएर खानु पर्छ।

पाचन तन्त्र बलियो बनाउँछ– पाचन क्रिया ढिला हुनेले पनि हप्ताको एकचोटी व्रत बस्दा लाभ हुन्छ। पाचन प्रणालीलाई पनि आराम मिल्छ।

रक्तचाप ठिक राख्छ–उपवासबाट उच्च रक्तचाप र कोलस्ट्रोल पनि घट्छ। बोसोलाई गलाएर त्यहीँबाट शरीरलाई चाहिने खाना प्रयोग हुने भएकाले बोसो कम हुन्छ। रगत सफा हुन्छ।

खानामा रुचिः खानामा अरूचि भएकाले हप्ताको एक दिन व्रत बस्दा खानामा रूचि बढ्छ। व्रत बस्दा भोक के हो भन्ने अनुभव हुन्छ। बीचमा कुचुकुचु खाँदा भोक नलाग्ने हुन्छ। त्यसैले हरेक खानाको अन्तर चार–पाँच घन्टा हुनुपर्छ। बीचमा हरेक घन्टामा पानी मात्र पिउनु पर्छ।

सृजनशील बनाउँछः हाम्रो शरीरमा पाचन क्रियामा धेरै शक्ति खर्च हुन्छ। व्रत बस्दा पाचन खाली हुन्छ र शक्ति बढ्छ। शरीर हलुका हुन्छ। सफा शरीर र स्वच्छ मन नयाँनयाँ सृजनामा रम्छ।

छालामा चमक आउँछ–एक दिन खाना नखाँदा शरीरले जमेका टक्सिन सफा गर्छ। त्यसैगरि अरू अंग फोक्सो, मिर्गौला र मुटुलाई पनि काम गर्न सजिलो हुन्छ। रगत सफा हुन्छ र छालामा चमक आउँछ।

स्वस्थ्य भइन्छ–अंग्रेजीमा एउटा उखान छ ‘दि लेस यु इट दि लंगर यु विल लिभ’ अर्थात धेरै खाए मल, थोरै खाए बल। ठिक्क खाँदा शरीरलाई प्राकृतिक नियमअनुसार हर्मोनलाई अधिनमा राखेर काम गर्न सजिलो हुन्छ। हार्मोनहरूले ठिक काम गर्छ, र स्वस्थ भइन्छ।

सावधानी

  • गर्भवतीले पूर्ण उपवास (निराहार) बस्नु हुँदैन।
    दैनिक औषधी खाएकाले र रोग लागेकाले विज्ञसँग परामर्श लिएर मात्र बस्ने।
    व्रत बसेको साँझ एकैचोटी धेरै नखाने। चिल्लो, पिरो, अमिलो, तारे भुटेका र जंकफुड नखाने।
    प्रति घन्टा वा दुई घन्टामा अनिवार्य पानी पिउने। एक पटकमा एक गिलास पिउने।
    व्रत बस्दा आरामको जरुरी पर्छ त्यसैले धपेडी हुने भारी काम नगर्ने ।
    व्रत (उपवास) चिकित्सा
    हामी सबैलाई थाहा भएको कुरा हो, हाम्रो शरीर पञ्च तत्व (आकाश, वायु, पृथ्वी, जल र अग्नी) मिलेर बनेको छ। स्वस्थ्य रहन शरीरमा हमेशा यी पाँच तत्वको सन्तुलन हुनुपर्छ।

यदि हामीले गर्ने आहार अनुचित भएमा वा आवश्यकताभन्दा बढी खाएमा पृथ्वी तत्व बढी भएर शरीरको खाली ठाउँ आकाश तत्व भरिन्छ जसले गर्दा मोटोपन हुनेदेखि लिएर शरीरमा विभिन्न समस्याहरू तिव्र रोग देखि दीर्घजीर्ण रोगहरू उच्च रक्तचाप, दम, बाथ, मधुमेह जस्ता समस्या देखा पर्छन्।

एक दिने व्रतले शरीरमा भरिएको अतिरिक्त बोसो र विकारलाई कम गरी खाली ठाउँलाई सन्तुलित गर्ने काम गर्छ, शरीरलाई स्वस्थ्य र शुद्ध गर्ने काम हुन्छ।

यदि हामीले घर पालुवा जनावरलाई नियालेर हेर्ने हो भने ती आफूलाई सन्चो नभएको अवस्थामा केही खाँदैनन्, जस्तै मिठा परिकार अगाडि राखिदिँदा पनि ती भोकै बस्छन्। धेरै अप्ठेरो भएका बेलामा घाँस खाने गर्छन्। त्यो प्रकृतिले दिएको विवेक ज्ञान हो।

हामी मानिस भने सबैभन्दा विवेकशील भएर पनि आफ्नो स्वास्थ्य ठिक नहुँदा र भोक नलाग्दानलाग्दै पनि पोषण चाहिन्छ भनेर कोचिकोची खान खोज्छौं। जति बढी खान्छौ त्यति नै शरीरले पाचन गर्न शक्ति खर्च गर्नुपर्ने हुन्छ।

शरीरमा समस्या हुनेवित्तिकै वा समस्या हुन नदिन हप्ताको एक दिन यसरी केही नखाई उपवास अथवा रसाहार, फलाहार या अल्पाहार गर्दै उचित आहारमा जाने हो भने मोटोपन देखि लिएर शरीरमा आउने तिव्र रोग वान्ता, पखाला, रुघा, ज्वरोलगायत दीर्घजिर्ण रोगहरू सुगर, प्रेसर, दम, बाथ र मुटुरोग जस्त समस्याको सिकार हुनु पर्दैन।

तसर्थ हप्ताको १ दिन, नसके महिनाको १ पटक स्वास्थ्यका हिसाबले वा धार्मिक हिसाबले महिलाले मात्र होइन, महिला पुरूष सबैले उपवास बस्नु उपयुक्त हुन्छ। साउने व्रत मात्र होइन, तीज, पूर्णिमा, औंशी आदि सबैमा बसिने ब्रत सही तरिकारले बसेमा ब्रतबाटै शरीर शुद्धीकरण हुन्छ, शरीरमा बढेको अतिरिक्त तौल सजिलै घटाउन सकिन्छ।

ध्यान रहोस् हप्ताको १ दिन व्रत बस्ने त हो नि भिनेर बाँकी ६ दिन मनपरी खाने गर्नु हुँदैन। व्रतसँगै अनिवार्य उचित आहार हुनुपर्छ। उचित तरिकाले ब्रत बसेमा व्रत आफूलाई स्वस्थ राख्ने, शरीरको तौल ठिक राख्ने प्रभावकारी सस्तो रवैज्ञानिक विधि हो।

यो उहिल्यै हजारौ वर्षदेखि प्रमाणित कुरा हो।

तसर्थ व्रत बस्दा होस् वा अन्य बेलामा मलाई यो मन पर्छ, यो मनपर्दैन, म यो मान्छु त्यो मान्दिनँ भन्ने भावमा नगइकन आफूसँग प्रत्यक्ष भएको शरीरलाई मापदण्ड बनाएर आहार र विहार गरेमा हामी स्वस्थ हुन सक्छौं।

आफू पनि स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ्य रहन प्रेरित गरौं।

आफ्नो स्वास्थ्य आफ्नै हातमा।

(महर्जन प्रकृति प्रेमी समूहको योग तथा उचित आहार, विहार र विचार प्रशिक्षक हुन्।

-सेतोपाटीबाट 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट