काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले असार महिनाभित्रै मलको अभाव अन्त्य हुने बताउनुभएको छ ।
यहि ९ गतेदेखि काठमाडौंमा मल आइसकेको र अहिले १ लाख ७० हजार बोरा मल वितरण भइरहेको मन्त्री यादवले बताउनुभयो । उहाँका अनुसार कोलकत्ता बन्दरगाहबाट बाँकी मल आउने क्रममा छ ।
एक मिडियासँग आज बिहान कुरा गर्दै मन्त्री यादवले अबको ४/५ दिनको अवधिमा साढे ५ लाख बोरा मल आइपुग्ने बताउनुभयो । कति आइपुगेको र कति आउनेक्रममा रहेकाले यो महिनाभित्रै मलको अभाव अन्त्य हुने मन्त्री यादवले विश्वास दिलाउनुभएको हो ।
सबै गोदामहरुमा मल आइरहेकाले अहिले बाहिर भनेजस्तो मलको अभाव नरहेको मन्त्री यादवको दाबी छ । चारैतिरबाट मल ल्याउने प्रक्रिया सुरु भइसकेकाले यो महिनाभीत्रैमा किसानका घर–घरमा मल पुग्ने मन्त्री यादवको भनाइ छ ।
यस्तै अर्को फरक प्रसंगमा मन्त्री यादवले जनता समाजवादी पार्टी नफुट्ने बताउनुभएको छ । हिमाल पहाड तराई र मधेशलाई जोड्ने पार्टी भएकाले यो पार्टी फुट्न नहुने र नफुट्ने जसपाका नेता समेत रहनुभएका यादवले दाबी गर्नुभयो । पार्टीेले सरकारमा भएका मन्त्रीलाई फिर्ता बोलाउने कुरा मिडियाको हल्ला मात्रै भएको पनि मन्त्री यादवको भनाइ छ ।