आइतवार, असार ५, २०७९
दुवईका राजपरिवार सदस्यका सबै कार्यक्रमलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय

दुवईका राजपरिवार सदस्यका सबै कार्यक्रमलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय


  • स्वदेश नेपाल
  • आइतवार, असार ५, २०७९

झापा :

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा झापा पुगेका दुबईका राजपरिवार सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमको सबै औपचारिक कार्यक्रम गृह मन्त्रालयले रोकेको छ । गृह मन्त्रालय उच्च स्रोतका अनुसार सरकारी संयन्त्रको जानकारीबिना औपचारिक कार्यक्रममा सहभागी भएको भन्दै उनी सहभागी हुने भनिएका कार्यक्रमहरुमा रोक लगाइएको हो । माक्तुम जुमा तीन दिने नेपाल भ्रमणका लागि शनिबार काठमाडौं आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने वित्तिकै उनी झापा गएका थिए ।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले पनि दुबईका राजपरिवार सदस्य माक्तुमको पूर्वनिर्धारित कार्यक्रमहरुमा रोक लगाइएको पुष्टि गरे ।
‘विदेशबाट उच्च तहको पाहुना आउँदा सरकारको स्वीकृति लिनुपर्ने हो, सुरक्षा संवेदनशीलताको हिसाबले पनि यो आवश्यक कुरा हो’ रिजालले भने, ‘तर अनुमति नलिएकाले पूर्वनिर्धारित कार्यक्रमहरुमा रोक लगाइएको छ ।’

परराष्ट्र मन्त्रालयले पनि माक्तुमको नेपाल भ्रमणबारे औपचारिक जानकारी नभएको जनाएको छ । परराष्ट्र मन्त्रालयकी सहायक प्रवक्ता रिता दाहालले दुबईको राजपरिवारका सदस्य नेपाल आएको भन्ने बाहेक कुनै पनि जानकारी नभएको बताइन् ।

शनिबार माक्तुमले विर्तामोडमा प्रसाईंले सञ्चालन गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान मेसिनको शुभारम्भ गरेका थिए । त्यो कार्यक्रम निजी भएकाले त्यहाँ उनको उपस्थितिलाई सामान्यरुपमा लिइएको रिजालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट