आइतवार, असार ५, २०७९
निहारिका भन्छिन मलाई दया होइन न्याय चाहिएको छ

निहारिका भन्छिन मलाई दया होइन न्याय चाहिएको छ


  • स्वदेश नेपाल
  • आइतवार, असार ५, २०७९

काठमाडौं – कुमारी आमा’ को रुपमा परिचित निहारिका राजपूतले ७ दिन लामो अनसन तोडेपछि अभिनेत्री करिश्मा मानन्धरले उनलाई भेटिन् । निहारिकाकाे डेरामै पुगेकी करिश्माले शुक्रबार दिनभरि नै उनीसँग बिताएकी थिइन् ।

राष्ट्रियस्तरकी अभिनेत्री आफूलाई भेट्न आएर न्यायको लडाइँमा साथ दिने आश्वासन दिँदा निहारिकालाई पक्कै पनि हौसला र आँट मिलेको छ । यद्यपि करिश्माको एउटा प्रस्ताव भने उनले स्वीकार गरिनन् । करिश्माले निहारिकालाई ‘छोरीसरह मान्ने’ भन्दै आफ्नै घरमा लैजान खोजेकी थिइन् ।

‘उहाँले आजै घरमा जाउँ, ब्याग प्याक गरिहाल भन्नुभएको थियो’, निहारिकाले सुनाइन्, ‘तर, मैले अहिले जान्न, पछि कुनै दिन आउँला भनेको छु ।
आफूले कसैको घरमा बास पाउनकै लागि यो लडाइँ नलडेको बताउँछिन् निहारिका । उनले भनिन्, ‘करिश्मा दिदीको माया र सद्भावका लागि म एकदमै आभारी छु । तर, मैले कसैको दयाको पात्र बन्न यो कठिन संघर्ष गरिरहेको छैन । मलाई चाहिएको न्याय हो । उहाँले न्यायको संघर्षमा पनि साथ दिनुभयो भने त्यो मेरो लागि धेरै ठूलो कुरा हुनेछ ।’

निहारिकाले थपिन्, ‘उहाँले मलाई छोरी मान्छु भन्नुभएको छ । त्यसो हो भने पनि छोरी आमाको घरमा धेरै दिन बस्न सक्दैन । छोरी माइतीमा धेरै दिन बस्नुलाई समाजले पनि ठीक मान्दैन ।’

न्याय पाएको खण्डमा आफूलाई कसैले सहारा दिनु नपर्ने र आफ्नै खुट्टामा टेकेर बाँच्न सक्ने बताउँछिन् उनी । ‘म अपांग भएको छैन । मेरो हातखुट्टा सहीसलामत छ । म आफै काम गरेर आफ्नो बच्चा पाल्न सक्छु । मलाई खालि न्याय चाहिएको छ । मलाई दया देखाउनुभन्दा पनि मानसिक रुपमा बलियो बनाउने कोसिस गरिदिनुभयो भने थ्यांकफुल हुन्छु’, उनले भनिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट