शनिबार, असार ४, २०७९
गजल गाएर गुल्जार बनेका थानेस्वर

गजल गाएर गुल्जार बनेका थानेस्वर


  • गोमा परियार
  • शनिबार, असार ४, २०७९

‘खान्न भाउजु मस्यौरा सिन्की पकाइदेउ
राम्री लाउँछ तिम्री बहिनी लौन फकाइदेउ’

कमेडी’ शैलीको यो गीत सबैको मुखमा झुण्डियो, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा समेत चर्चा कमाउन सफल भयो । गीतका गायक हुन् थानेश्वर गौतम ।

गौतम बागलुङका हुन् । शास्त्रीय संगीतलाई अंगाल्दै सांगीतिक क्षेत्रमा आफूलाई स्थापित गराएका गौतम हरेक गीतमा नयाँ र फरकपन पस्किँदै आफूलाई स्थापित गराउन सफल छन् । पछिल्लो समय युवा पुस्तामा रुचाइने कलाकारमा पनि पर्छन् उनी ।

‘छुट्नलाई पो रैछ क्यारे ए सानु
तिम्रो मेरो यति धेरै माया बसेको’

‘बिर्सियौ श्रृङ्गारमा गाजल लगाइनछौ
हेत्तेरिका हतारमा गाजल लगाइनछौ’’

‘सिन्दुर लगाउने हौली माया चुरा लगाउने हौली
मध्यरातमा मिठामिठा कुरा लगाउने हौली’

गजल शैलीमा तयार यी गीतमा सुन्ने जति सबैले फरक स्वाद पाए । नेपाली गजल संगीतमा एउटा फरक धार भित्र्याउन सफल यी गीतले मेला–महोत्सव स्टेजमा गजल पनि गाउन मिल्छ र दर्शकले मन पराउँछन् भन्ने प्रमाणितसमेत ग¥यो ।

सालै जो, रोइला, पन्चेबाजामा समेत गजल बनाएका गौतम पन्चेबाजामा सालैजो प्रयोग गर्ने पहिलो संगीतकारको रुपमा पनि चिनिने गर्छन् । गौतमले संगीतमा धेरै विधामध्ये गजललाई नै पहिलो प्राथमिकता दिएर काम गर्छन् ।

शास्त्रीय संगीतमा स्नातक गरेका गौतम घरको एकमात्रै छोरा हुन् । सानैदेखि लोक गीत–संगीतमा रुचि राख्ने उनले यहि क्षेत्रलाई आफ्नो सपना र गन्तव्य बनाएर ०५६ सालमा काठमाडौं छिरे । उनको सपना र गन्तव्य सहज बनाउन परिवारको पुरा साथ रह्यो ।

उनी भन्छन्– बुवाआमाको जोतिषशास्त्रमा रुचि थियो मेरो पनि, तर बढी सांगीतिक क्षेत्रमा रुचि अनि एक्लो छोरो भएकाले मेरो सपनानै बुवाआमाको थियो त्यसैले पनि मलाई सहज बन्यो उहाँहरुको पुरा साथ पाएँ ।’ संगीत विषय पढ्न काठमाडौं आएका गौतमले शास्त्रीय संगीतमै स्नातकोत्तर गरेका छन् ।

अध्ययनसँगै २०६० सालमा पहिलो गीत ‘सोधौँ कस्लाई’ बजारमा ल्याए । त्यसपछि ‘नाकमा फुली हे मेरी’, सालै जो एल्बम ल्याएका उलका गीत अहिले लगातार जसो बजारमा आइरहेका छन् । यहाँ(काठमाडौं)मा धेरै दुख र संघर्ष गरेका पलहरु छन् उनीसँग ।

चलचित्र ‘रामप्यारी’को गीतमा पनि गौतमले गजलको प्रयोग गरेका छन् । ‘छमछम ती पाउजुहरु बजाएर आउ’ लाई गौतमले गजल शैलीमै तयार पारे जुन गीत निकै रुचाइयो । नारायण गोपाल, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, तारादेवी, अरुणा लामा, धर्मराज थापा, नारायण रायमाझी, बमबहादुर कार्की, ज्ञानु राणा जस्ता कलाकारको बढि गीत सुन्ने गौतमले प्ररणाको श्रोत पनि यीनै कलाकारलाई मान्छन् । गौतमको ‘फुर्के धागो’बोलको गीत टिकटकमा निकै भाइरल भएको गीतमध्ये पर्छ । गौतमलाई ‘गजल गाएर गुल्जार बनेका’ पनि भन्दा फरक नपर्ला ।

सांगीतिक क्षेत्रमा सफल मानिएका गौतमको यहि क्षेत्रमा एउटा जिन्दगीको सबैभन्दा नमिठो पल पनि छ । आमाको अन्तिम मुख देख्न पाएनन् गौतमले यहि क्षेत्रमा संघर्षको दौरानमा ।

गायक गौतमका “बेचेर सपना मैले रात किनेको छु, होश लिलाममा राखी मात किनेको छु”,”तिम्रा यादहरुलाई भेटेर जान्छ्न,सपनीमा आई मुटु रेटेर जान्छ्न” ,”गढ्यो प्यार दिलमा”, “तिम्रो मायामा हरेक पल” यी गितहरु पछिल्लोसमय अत्यधिक चलेका छन् । उक्त गीतहरु टिकटक र सामाजिकसंजालमा निकै रुचाइएपछी सोचेभन्दा धेरै दर्सक स्रोताको माया पाएको गायक गौतमको भनाइ छ ।

उनै गौतमसँग गरिएको कुराकानीको सम्पादित अंश

१. यतिबेला कुन गीतको तयारीमा हुनुहुन्छ ?

‘छुट्नलाई पो रैछ क्यारे ए सानु’ को भाग २ ‘एउटा कथा’ बोलको गीतमा व्यस्त छु । अब चाँडै सुन्न र हेर्न पाउनुहुन्छ ।

२. संख्यात्मक हिसावले अहिलेसम्म कति गीतमा स्वर भर्नुभयो ?

सात सयको हाराहारीमा ।

३. यो क्षेत्रमा लागेर कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

आफुले रोजेको क्षेत्र हुँदा एकदम सन्तुष्ट छु ।

४. सांगीतिक क्षेत्रमा लागेर के गुमाउनु भयो के पाउनु भयो ?

सायद संगीत यात्रामा संघर्षको क्रममा आमा गुमाए त्यो मेरो सबैभन्दा अमुल्य गुमाई हो । र आत्मिक आनन्द र सन्तुष्टि । हिजो थानेश्वर गौतम लाई कमैले चिन्नुहुन्थ्यो भने आज संसार भर सबैको माया पाएको छु ।

५. कतिवटा देशमा घुम्नुभयो ?
४० वटा देशमा गएको छु ।

६. अन्त्यमा के भन्न चाहनुहुन्छ ?

म आज जे छु यो सबै दर्शक श्रोताको माया हो । दर्शक श्रोता मेरा भगवान हुनुहुन्छ । हजुरहरुले दिएको माया र आशिर्वाद सधैं पाइराखु । मेरा भगवानरुपी दर्शक श्रोताप्रति सधै आभारी छु, तपाइहरुलाई सधै म मिठा र राम्रँ गीत पस्कने प्रयारसरत छु र रहिरहने छु । धन्यवाद । दर्शकश्रोताको माया बचाइराख्न सकु ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट