बुधबार, असार १, २०७९
सातै प्रदेशको बजेट सार्वजनिक, कुन–कुन योजना बढि प्राथमिकतामा ?

सातै प्रदेशको बजेट सार्वजनिक, कुन–कुन योजना बढि प्राथमिकतामा ?


  • स्वदेश नेपाल
  • बुधबार, असार १, २०७९

काठमाडौं । संविधान अनुसार प्रदेश सरकारहरूले आज (बुधबार) आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेका छन् ।

सातै प्रदेशले आज एकैदिन आगामी आर्थिक बर्षको बजेट प्रदेशसभामा पेश गरेका हुन् । प्रदेश १ सरकारले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा प्रति सांसद १ करोड रुपैयाँ दिने गरी ९० करोड रुपैयाँ बिनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बजेट भाषणका क्रममा आर्थिक वर्ष २०७९/८० को बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ९० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो ।

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा हाल ९० जना सांसद छन् । प्रदेश सरकारले सरकारले पूर्वाधार विकास कार्यक्रमका लागि पनि ९० करोड रुपैयाँ नै विनियोजन गरेको छ । प्रदेश सरकारले प्रदेश लोकमार्ग अन्तरगत समावेश भएका सडकहरुको काम आगामी वर्ष सक्नेगरी पाँच अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्तै, मधेस सरकारले पनि आज आगामी आर्थिक वर्ष २०७९ ÷ ८० को बजेट ल्याएको छ । प्रदेशसभा बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले चालु आर्थिक वर्षको भन्दा करिब ८ अर्ब बढाएर ४२ अर्बको हाराहारीमा बजेट ल्याएको बताउनुभयो ।

यसैबीच बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको छ । आज आगामी वर्ष २०७९/८० को बजेट घोषणा गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले उक्त बजेट विनियोजन गरेको घोषणा गर्नुभयो ।

कूल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख बजेट छुट्याइएको छ । यस्तै, पुँजीगत ४१ अर्ब ५६ करोड २४ लाख बजेट विनियोजन गरिएको छ भने वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ बजेट छुट्याइएको छ । यसैगरी, तथा वित्तीय व्यवस्थातर्फ २ अर्ब बजेट विनियोजन गरेको मन्त्री जमरकट्टेलले घोषणा गर्नुभएको छ ।

कुल बजेटमध्ये चालूतर्फ २७ प्रतिशत र पुँजीगततर्फ ५८ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ११ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ प्रतिशत बजेट विनियोजन भएको छ ।

यस्तै गण्डकी प्रदेश सरकारले आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट पेस गर्नुभएको हो ।

यस्तै कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९ ÷ ८० को लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको छ । आज प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले चालु आर्थिक वर्षको तुलनामा करिब ४ अर्ब कम बजेट प्रस्तुत गर्नुभएको छ । सबै जसो प्रदेशले कृषिलाइ प्राथमिकता दिएका छन् ।

यस्तै लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९र८० का लागि ४२ अर्ब ९१ करोड ४४ लाख रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबारको प्रदेश सभा वैठकमा गत वर्षको भन्दा करिब दुई खर्ब रुपैयाँ बढीको बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेटमा दाङको राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति, रामपुर–रोल्पा सडकलाई प्रदेश गौरवको आयोजनामा राखेर वजेट विनियोजन गरिएको छ ।

यस्तै एक स्थानीय तह : एक खेदकुद संरचना, एक स्थानीय तहस् एक नमुना उत्पादन, एक जिल्ला एक निर्यातयोग्य बाली तथा बस्तु, एक स्थानीय तह एक प्रागांरिक मल उद्योग, स्मार्ट कृषि गाउँ कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ ।

र, सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अनुमानित आय व्ययसहितको कुल ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बजेट ल्याएको छ ।

जसमध्ये चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख ६४ हजार रुपैया अर्थात् विनियोजन बजेटको ३३.४६ प्रतिशत छुट्याएको छ भने, पुँजीगत तर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रुपैयाँ अर्थात् ६५.७४ प्रतिशत छुट्याएको छ ।

यस्तै अन्तर सरकारी वित्त हस्तान्तरण तर्फ १ अर्ब ३६ करोड ४० लाख अर्थात् ३.७१ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ ३० करोड अर्थात् ०.८ प्रतिशत छुट्याएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट