शुक्रबार, जेष्ठ २७, २०७९
आज निर्जला एकादशीः घरघरमा तुलसीको दल राखिँदै !

आज निर्जला एकादशीः घरघरमा तुलसीको दल राखिँदै !


  • स्वदेश नेपाल
  • शुक्रबार, जेष्ठ २७, २०७९

वैदिक सनातन धर्मावलम्बीले आज आआफ्ना घरको मठमा तुलसीको दल राख्दै छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ।

आज निर्जला एकादशीमा रोपिएको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ। यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ। यो चार महिनालाई चतुर्मास भनिन्छ।

स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। आज पानीसमेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय मान्यता छ । आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ। तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ।

निर्जला एकादशी व्रत कथा

५ पाण्डव अनि द्रोपति गरि ६ जना नै हरेक एकादशीको व्रत बस्ने चलन थियो तर खानाका अत्यन्त सौखिन र खाने कुरामा सम्झौता गर्न नसक्ने भीमले भने व्रतका क्रममा कहिल्यै आफ्नो खानाप्रतिको आशक्ति तोड्न सकेनन् ।

भीम यस कुराले चिन्तित थिए र गएर गुरु व्याससङ यस समस्या सुनाए । अनि गुरु व्यासले भीमको कुरा सुनेपछि वर्षभरिका सम्पूर्ण एकादशीको फल एकै पटक पाउन निर्जला एकादशीको व्रत बस्न भीमलाई बताउनुहुन्छ । यसरी यस एकादशी भीमले रितपूर्वक पालन गर्दछन्, यसपछि यस एकादशीलाई भीम एकादशी अनि पाण्डव एकादशी पनि भनिन्छ ।

यस एकादशीमा के के गरिन्छ ?

ज्येष्ठ शुक्ल एकादशीका रूपमा यस निर्जला एकादशीको व्रत पश्चात् द्वादशीका दिनमा बिहान उठेर, चोखो भएर अनि दान पुण्य गरेर मात्र भोजन लिने चलन छ । भगवान् विष्णुको कीर्तन अनि भजनको यस एकादशीमा विशेष महत्त्व रहन्छ, एकादशी महत्मय, बिष्णुसहस्त्रानाम लगायतका ग्रन्थहरूको अध्ययन अनि व्याख्याको विशेष महत्त्व राख्ने यस एकादशीमा माटोको भाँडो, बाँसले बनाएको हाते पङ्खा लगायतका कुरा दान गर्ने चलन छ ।

निर्जला एकादशीभन्दा एक दिन अगावै सन्ध्या वन्दना गर्ने चलन रहन्छ, यसो गर्दा अचामनीवाट पवित्र पानी लिएर हत्केलामा राखी पवित्रताका साथ आरती र वन्दना गरिन्छ । एकादशीकै दिनमा आफ्ना बिचार र सोचमा विष्णुलाई राख्न सुझाव दिइन्छ, विष्णुको शालिग्राम स्वरूपलाई स्नान गराउने, अभिषेक गराउने, पञ्चामृत अर्पण गर्ने र पवित्र कपडामा बेरेर राख्ने चलन छ ।

एकादशीको रातमा जाग्राम बस्ने चलन पनि पाइन्छ । मार्कण्डेय पुराण अनि विष्णु पुराणमा भने यस एकादशीको पवित्र चित्तका साथ व्रत बस्नाले सम्पूर्ण पाप मोचन हुने र सोझै वैकुण्ठ प्राप्त हुने लेखिएको छ ।

जाँदाजाँदै महाभारतको प्रसङ्ग छाडेर जान्छौँ, भीमले आफ्नो सम्पूर्ण भोजनका आशक्तिलाई काबुमा राखेर यस एकादशी व्रत लिन्छन् तर भोलिपल्ट बिहान भीम भोक र प्यासका कारण अर्धचेतनमा पाइन्छन् । त्यसपछि भीमलाई गङ्गाको पवित्र पानी र तुलसी पात दिएर उठाइन्छ । यस एकादशी आशक्ति अनि चाहना माथिको विजय प्राप्त गर्ने एकादशी पनि हो, यस वर्षको निर्जला एकादशीमा सबको कल्याण होस् ।

-हाम्रो पात्रोबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट