मङ्लबार, बैशाख २०, २०७९
आज अक्षय तृतीया- माँ पार्वती र भगवान शिवको विवाहभएको पवित्र तिथि र परशुराम जयन्ती, यस्तो छ महत्व

आज अक्षय तृतीया- माँ पार्वती र भगवान शिवको विवाहभएको पवित्र तिथि र परशुराम जयन्ती, यस्तो छ महत्व


  • स्वदेश नेपाल
  • मङ्लबार, बैशाख २०, २०७९

आज एउटा विशेष दिन हो, वर्षभरिमै लगन अनि योगका हिसाबले विशेष मानिएको आजको दिन, यस वर्षको अक्षय तृतीयाको चिरञ्जीवी तीथीमा हामी सबैलाई स्वागत छ ।

शुरु गरौं सातुको प्रसङ्गबाट किनभने आजको दिनको मुख्य आकर्षण अनि सरल ब्याख्या सातु खाने दिनका रुपमा रहेको छ । सातु अर्थात् चना, जाै जस्ता गेंडागूडी अथवा अन्नलार्इ भुटेर तयार पारीएको पीठो । यो यात्रामा बोक्न सजिलो, सहजै पच्ने अनि अडिलो खानेकुरा हो । कृष्ण र सुदामाका प्रसङ्ग देखि पौराणीक काल अनि मानव सभ्यताका विभिन्न चरणमा सातु यात्राका क्रममा प्राय लिएर हिंड्ने चलन रहेको छ ।

आज सातु खाने दिन हो, चढ्दो ग्रीष्मकालमा शितलता प्रदान गर्न जौ, मकै, गहुँ आदिजस्ता अन्नहरु बेग्ला बेग्लै भूटेर, पिसेर तयार गरिएको पीठोको आज विशेष महत्व रहेको छ । माटोको भाँडामा माथीबाट भिजेको कपडाले छोपिएको पानीको शितल अवयवसँग सातुलाई घोलेर खानुको मिठास अनन्य छ । अझ यस्ता सातु घोल्ने पानीमा अलैँची, सुकमेल, घयू, मह, मरिच, पिपला, सख्खर आदीजस्ता मरमसला र सुगन्ध मिसाएर सातुको स्वाद लिन पाएमा त उत्साह र उमगंको मिठास एकैपटक समाहित भएर आएको भान हुन्छ ।

यसरी सातु बनाउन सक्ने अन्नहरु प्राय सबै अकुंरण गर्न सक्नेअन्नहरु हुन्छन् । आजको आधूनिक विज्ञानले पनि नतमस्तक भई स्वीकारेको अकुंरणयोग्य अन्नहरुको महिमालाई प्राचीनकाल देखिनै हाम्रो संस्कारमा समाहित गर्न सक्षम हाम्रो वैदिक सनातन संस्कार कति वैज्ञानिक छ, मनन योग्य कुरा हो ।

यी त भए सातुका कुराहरु, आजको दिनलाई अन्य धेरै कुराहरुले पनि सम्झना र सर्मपण लायक बनाएका छन् । आजको दिनलाई यूगहरुको शुरुवाती दिनका रुपमा पनि लिइन्छ, आजकै तिथीबाटै औपचारीक रुपमा सत्य यूगको शुरुवात भएको थियो । यसै उल्लास र उत्सर्गका साथ आज वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारत, बगंलादेश, म्यानमार, पाकिस्तान लगायत विभिन्न एसियाली देशहरु अनि एसियाली डायस्पोरामा विश्वभरि अक्षय तृतीया मनाईन्छ ।

पौराणीक रुपमा अत्यन्त सफल मानिएका केही क्रियाकलापहरु आजकै लगनमा भएका हुन् जस्तै आजकै दिन देवादिदेव महादेव र हिमालय पूत्री पार्वतीबिच विवाह भएको थियो भने सनातन धर्मको आधारशिला महाभारत पनि आजकै दिनको लगनदेखि वेदब्यासले लेख्न थाल्नुभएको मान्यता छ ।

जे होस्, आजको दिन केही नयाँ र सकारात्मक आँट्नुभएको छ भने तपाईं सफल हुने पक्का छ है, इतिहास साक्षी छ ।

अक्षय भन्ने वित्तिकै क्षय गर्न नसकिने, विध्वशं गर्न नसकिने अर्थ लाग्दछ, आउनुहोस् यस अक्षय तृतीयामा गरिने एउटा नौलो परम्पराका बारेमा कुरा गरौं । आज अक्षय पूण्य प्राप्त गर्नका लागप वृद्धवृद्धाहरुलाई लौरो, छाता, खानेकुरा लगायत विभिन्न उपयोगी कुराहरु दान गर्ने चलन छ । अक्षय तृतीया यस अर्थमा अन्तरपुस्ता मायाका लागि पनि अत्यन्त महत्वपूर्ण दिन हो । अघिल्लो पुस्तालाई माया गर्न आजको दिनले एउटा अब्बल अभिब्यक्ति दिएको छ । अक्षय तृतीयामा आफ्ना प्रयोगकर्तालाई हाम्रो पात्रोको अक्षय माया ।

परशुराम जयन्ती

भार्गव गोत्रका अत्यन्त आज्ञाकारी ऋृषी परशुरामको आज, वैशाख शुक्ल तृतीया परशुरामको जन्म जयन्तीका रुपमा मनाउने चलन छ । ब्राह्मणका रुपमा जन्मिएतापनि क्षेत्रिय प्रकृतिको कार्य गरेकाले यिनलाई भार्गव भनिएको हो । हामीले नाम सुनीआएका अनि महाभारत यूद्धका असाधारण योद्धाहरु भिष्म, द्रोण अनि कर्ण यिनै परशुरामका शिष्यहरु हुन् भने परशुरामका साक्षात गुरुका रुपमा भने देवादिदेव शिवजी रहनुभएको मानिन्छ । परशुरामको वास्तविक नाम राम हो । परशु भन्नाले बञ्चरो जस्तो हतियार बुझिन्छ । भगवान रामको त्यो रूपले बञ्चरो जस्तो हतियार बोकेको हुँदा परशुराम भनिएको हो । भगवान् महादेव आफैंले धारण गरेको अमोघ परशु (बञ्चरो) उनलाई दिएका थिए । त्यहि अमोघ बञ्चरो बोकेका कारण उनलाई परशुराम भनिएको थियो । परशुराम जयन्तीका अवसरमा स्नान र संकल्प आदि गरी दिनभर व्रत बस्नु पर्दछ र मध्यान्नमा पुजा गरी परशुराम कथा श्रवण सकेपछि मात्रै फलादि आहार गर्नुपर्दछ भन्ने मान्यता छ ।

पौराणिक कथनहरु अनुसार उनले सत्यका पक्षमा २१ पटक ठूल्ठूला युद्धहरु लडेका थिए । उनी युद्धकलामा निपुण, सुरो र बलियो सिपाही थिए । उनी अपराजित चिरन्जीवी अर्थात अमर थिए । । भगवान राम जन्मनु अगाडि पृथ्वीमा व्याप्त सबै अत्याचार अन्त्य गर्न विष्णुको अवतारका रुपमा परशुरामको जन्म भएको थियो । त्यहि भएर परशुराम जन्मिएको दिन बैशाख शुक्ल तृतिया तिथिलाई चिरन्जीवी तिथि भनिन्छ ।

परशुरामलाई पितृवचनको सच्चा पालनकर्ता मानिन्छ । श्रीमद्भागवद् गीतामा उल्लेख भएअनुसार संसारका सबैकुरा नाशवान छन् तर परशुराम यस्ता महान पात्र थिए जो कालबाट समेत अपराजित थिए ।

कलाकौशल अनि भौतीक पूर्वाधार निर्माणका रचयता परशुराम प्राचीन कालका इन्जिनियर नै हुन् । भारतवर्षका सम्पूर्ण प्राचीन गाँउ अनि नगरहरु यिनैको योजना र कला मुताबिक बनाईएका हुन् । उत्खननक्रममा समुन्द्र विचमा भेटिएको प्राचीन द्वारीका नगरको अहिलेको अवशेष अनि तिनको सान्दर्भिक र वैज्ञानीक संरचनाले पनि प्राचीन कालदेखिनै भएको वैज्ञानीक विकासमा परशुरामको योगदानको ब्याख्या गर्दछ । परशुराम विष्णुका दश अवतारहरु मध्य छैठौ अवतार हुन् । यिनै अमर परशुरामको कृपाले हामीसबैको जीवनमा सत्य अनि कला कौशलताको दृढ विकास होस्, सबैलाई शुभकामना ।

सुयोग ढकाल/हाम्रोपात्रोबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट