शनिबार, जेष्ठ १४, २०७९
चीनविरुद्ध सक्रिय संस्थालाई मैले रोक लगाएको हुँः देउवा

चीनविरुद्ध सक्रिय संस्थालाई मैले रोक लगाएको हुँः देउवा


  • स्वदेश नेपाल
  • शनिबार, जेष्ठ १४, २०७९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक चीन नीतिप्रति नेपाल दृढ रहेको बताएका छन् । शनिबार सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले छिमेकी मुलुकविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन सरकार सचेत रहेको बताए ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको परराष्ट्र नीतिमाथि प्रश्न उठाएका थिए । ओलीको प्रश्नतर्फ संकेत गर्दै देउवाले चीनविरुद्ध सक्रिय संस्थालाई आफू प्रधानमन्त्री भएको बेला रोक लगाएको दावी गरे । देउवाले बीआरआई लगायतका सहायता प्राप्त गर्ने सम्बन्धमा राष्ट्रिय आवश्यकता, क्षमता र उपादेयताका अधारमा निर्धारण हुने भएकाले नेपाल सरकारले बुद्धिमत्तापूर्ण ढंगले यस्ता विषयमा निर्णय गर्ने बताए ।

यस्तै सांसदहरूबाट छलफलको क्रममा उठाइएका विषय र प्रस्तुत गरिएका संशोधन प्रस्तावप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै उनले कार्यान्वयन हुनसक्ने विषयको सान्दर्भिकता र उपयुक्तता हेरेर सरकारले आगामी दिनमा सम्बोधन गर्दै जाने र रचनात्मक सुझावका लागि धन्यवाद व्यक्त गरे । प्रधानमन्त्री देउवाले दोस्रो कार्यकालका लागि भर्खरै सबै स्थानीय तहको निर्वाचन सम्पन्न भएको बताउँदै पहिलोपटक एकैसाथ सबै स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गरे ।

साथै उनले सबै मतदातालाई भयरहित वातावरणमा स्वतन्त्ररूपले मतदान गर्ने अवसर सरकारले उपलब्ध गराएको बताउँदै लोकतन्त्रलाई जगैदेखि मजबुत बनाउने स्थानीय तहको निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मतद्वारा जनप्रतिनिधि छनोट गर्नुभएकामा सम्पूर्णमा आभार व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले भने, “निर्वाचनको निष्पक्षताका बारेमा केही माननीय सदस्यले चासो राख्नुभएको छ । यससम्बन्धमा सरकारको धारणा स्पष्ट पार्न चाहन्छु । देशभरि एकैपटक एकैसाथ निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण विषय थियो । साधन र स्रोतको सीमितताका बीच पनि निर्वाचन समग्रतामा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको छ । छिटपुट घटनालाई लिएर निर्वाचनको समग्र प्रक्रिया र परिणाममा संशय व्यक्त गर्नु उपयुक्त हुँदैन । सार्वभौम जनता नै यसको निर्णायक शक्ति भएकाले जनमतको कदर गर्नुको विकल्प छैन ।”

लोकतान्त्रिक मूल्यमान्यता अनुरुपको प्रतिस्पर्धात्मक प्रक्रियाबाट जनु अनुमोदन भई स्थानीय तहको नेतृत्वमा पुग्न सफल जनप्रतिनिधिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनले नवनिर्वाचित जनप्रतिनिधिले स्थानीय तहको विकास निर्माण र सेवा प्रवाहमा सुधार गरी जनताको विश्वास जित्नु हुनेछ भन्ने अपेक्षा गरे ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट