काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्कीपक्स रोगप्रति सचेत रहन आग्रह गरेको छ । विश्वमा मङ्कीपक्स रोग फैलिन थालेको र त्यसबाट नेपाल पनि जोखिममा रहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्कीपक्सका सङ्क्रमित फेला नपरेको बताउनुभयो ।
उहाँले नेपालमा सङ्क्रमण नदेखिए पनि सचेत हुनुपर्ने बताउनुभयो । यो रोग भाइरसबाट सर्ने सरुवा रोग हो ।
सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा जनावरका र्याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ र दूषित सतह र सामग्रीबाट सर्ने गर्दछ ।
स्वास्थ्य मन्त्रालयले ज्वरो आएको एकदेखि तीन दिनभित्र अनुहार, हल्केला र पैतलामा दाग वा डाबर देखिएमा मन्त्रालयको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।