एजेन्सी । डेटिङ जान पूरा गाउँभरी लोडसेडिङ गराएको थाहा पाएपछि एक इलेक्ट्रिसियनको जागिर गएको छ । भारतको पूर्वी बिहारस्थित एउटा सानो गाउँ गणेशपुरका मानिसले हप्तौँसम्म बारम्बार लोडसेडिङ व्यहोर्दै आएका थिए ।
उनीहरुलाई लोडसेटिङको कारण थाहा थिएन । उनीहरुले वास्ता पनि गरेका थिएनन् । यस्तो समस्या छिमेकी गाउँ कतै पनि देखिएको पनि थिएन । आजित भएका गाउँलेले लोडसेडिङको समय याद गर्न थाले । लोडसेडिङ त सधैँ सूर्यास्त भएको केही घण्टापछि मात्रै हुने गर्दथ्यो । उनीहरुलाई यसमा शंका लाग्यो । तसर्थ, गाउँलेले कारण खाेज्न थाले ।
विगतका हप्ताहरूमा प्रायजसो बिजुली गएपछि, एक रात गणेशपुरका धेरै बासिन्दाहरूले समस्याको जवाफ खोज्ने निर्णय गरे ।
सडकहरू घुम्दै हिँडिरहेका उनीहरु गाउँकै एक विद्यालयको आँगनमा पुगे जहाँ उनीहरूले आफ्नो सम्बन्ध गोप्य राख्न खोजिरहेका दुई प्रेमी–प्रेमिका भेट्टाए ।
उनीहरुलाई सोधपुछ गर्दै जाँदा प्रेमी इलेक्ट्रिसियन भएको पत्ता लाग्यो । जसले प्रेमिकालाई प्रत्येक पटक भेट्न जाँदा रातको समयमा दुई तीन घण्टा लोडसेडिङ गर्ने गर्दथे ।
आफूहरु डेटिङमा रमिरहेको गाउँलेले नदेखू्न् भनेर यस्तो गरेको ती प्रेमीले बताए ।
हप्तौँसम्म पूरा गाउँलाई अन्धकारमा राखेको स्वीकार गरेपछि ती इलेक्ट्रिसियनलाई गाउँलेले कुटपिट पनि गरे । उनलाई सजाय स्वरुप पूरा गाउँ पनि घुमाइयो । यी दुईको सम्बन्ध थाहा भएपछि गाउँका मुखियाले यी दुईको विवाह गरिदिने निधो पनि गरे । र विवाह पनि गरिदिए ।