बिहिबार, जेष्ठ १२, २०७९
अभिनेत्री सुरक्षा पन्तको भेरिफाइड फेसबुक प्रोफाइलमा मेयर हर्क साम्पाङको फोटो

अभिनेत्री सुरक्षा पन्तको भेरिफाइड फेसबुक प्रोफाइलमा मेयर हर्क साम्पाङको फोटो


  • स्वदेश नेपाल
  • बिहिबार, जेष्ठ १२, २०७९

काठमाडौँ । अभिनेत्री सुरक्षा पन्तले आफ्नो फेसबुक प्रोफाइलमा धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङ राईको फोटो राखेकी छन् ।

अभिनेत्री यतिबेला दुई कारणले चर्चामा छिन् । पहिलो– पछिल्लो समय कान्स फिल्म फेस्टिभलमा गएर रेड कार्पेटमा हिड्ने पहिलो नेपाली कलाकार भएर । दोस्रो– आफ्नो फेसबुक प्रोफाइलमा धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङ राईको फोटो राखेर ।

यसै पनि अभिनयमा क्षमतावान मानिने पन्तको चर्चा भइनै रहन्छ । पछिल्लो समय कान्स फिल्म फेस्टिभलमा गएर रेड कार्पेटमा हिँडेपछि चर्चामा रहेकी सुरक्षाको अर्को एउटा कार्यले धेरैलाई चकित तुल्याएको छ । उनले आफ्नो भेरिफाइड फेसबुक एकाउन्टमा धरान उपमहानगरका नवनिर्वाचित मेयर हर्क साम्पाङको फोटो राखेकी छन् ।

वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका हर्क अन्ततः धरानवासीको पहिलो रोजाइमा परे । फलस्वरुप उनी धरान उपमहानगरको मेयर बने । दशकौंदेखि राज गर्दै आएका दलका उम्मेदवारुलाई पाखा लगाउँदै मेयरमा निर्वाचित हुनु हर्कका लागि पनि त्यत्ति सहज थिएन । मतगणनाका क्रममा सुरुदेखि नै अग्रता लिएका उनले मेयरमा बाजी नै मारिसकेपछि स्वभाविक रुपमा उनको चर्चा निक्कै चुलियो । त्यो चर्चालाई अभिनेत्री सुरक्षाले अहिले झनै चुल्याइदिएकी छन्, आफ्नो भेरिफाइड फेसबुकमा हर्कको प्रोफाइल फोटा राखेर ।

उनले नवनिर्वाचित मेयर हर्कले जायज अभियानलाई दिएको निरन्तरताको प्रशंसा गर्दै एक्लो भएर कुनै जायज अभियान निरन्तर चलाउने मान्छे आफूलाई मन पर्ने उनको भनाइ छ ।

मानिसले जिद्दी व्यक्तिलाई शक्तिको साँचो हस्तान्तरण गरेका यो पहिलो घटना भएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘यो पहिलो एउटा घटना हो, जहाँ जिद्दी व्यक्तिलाई मानिसहरुले शक्तिको साँचो सुम्पिएका छन् । त्यसले त उहाँ (हर्क साम्पाङ राई)को फ्यानै भाको छु ।’

देशको हितका निम्ती जिद्दीपन बोक्ने हरकोहीले हर्कमा आफू देख्ने सुरक्षा बताउँछिन् । ‘देशको हितका निम्ती जिद्दीपन बोक्ने सबैले हर्कमा आफू देख्छन् । मैले पनि आफैलाई देखें’, उनी भन्छिन्, ‘त्यसैले मेरो प्रोफाइल पिक्चर जुन हजारौंको संख्यामा मानिसले हेर्छन् । त्यहाँ हर्कको फोटो हुनुपर्छ यो समयमा जस्तो महसुस भयो अनि राखें ।’

सुरक्षाले हर्कसँगै काठमाडौँ महानगरको मेयरमा जित निश्चित गरेका बालेन साहको प्रशंसा पनि गर्दै आएकी छन् । यसैगरी स्वतन्त्र उम्मेदवारी दिएर धनगढी उपमहागरपालिकाका मेयरमा निर्वाचित गोपाल हमालको फोटो पनि ‘आशाका अनुहार’ भन्दै फेसबुकमा शेयर गरेकी छन् । बालेनले उम्मेदवारी घोषणा गरेदेखि नै धेरै कलाकारहरु बालेनको पक्षमा उभिँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट