बिहिबार, जेष्ठ १२, २०७९
पल शाहको मुद्दाको सुनुवाई फेरि सर्‍यो

पल शाहको मुद्दाको सुनुवाई फेरि सर्‍यो


  • स्वदेश नेपाल
  • बिहिबार, जेष्ठ १२, २०७९

काठमाडौं । नाबालिग बलात्काको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पल शाहको मुद्दाकाे सुनुवाई स्थगित भएको छ । उच्च अदालत पोखरामा बिहीबारको लागि पेशी तोकिए पनि सुनुवाई स्थगित भएको हो ।

उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा पेशी तोकिएको थियो । शाहका कानुन व्यवसायीको निवेदनपछि सुनुवाई स्थगित गरिएको हो । यो इजलासको पहिलो नम्बरमै मुद्दाको पेशी थियो । पलसँगै उनका म्यानेजर कृष्ण जोशीको समेत सुनुवाई स्थगित भएको हो । यतिबेला उनी पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा छन् । जिल्ला अदालत नवलपुर र तनहुँका आदेशविरुद्ध तीन वटा निवेदन उच्च अदालत पोखरामा परेका छन् ।

दुवै जिल्ला अदालतले पल शाहलाई थुनामा पठाउने आदेश दिएका थिए । तनहुँको आदेशविरुद्ध १८ चैत २०७८ र नवलपुरको आदेशविरुद्ध १३ वैशाखमा पलले उच्च अदालतमा निवेदन दिएका थिए ।

उनले थुनामुक्त भएर मुद्दा लड्न पाउँ भनि निवेदन दिएका थिए । त्यस्तै, सरकारी वकिल कार्यालयले पनि तनहुँको आदेशविरुद्ध उच्च अदालतमा २५ वैशाखमा निवेदन दिएको थियो । तनहुँ अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि सरकारी वकिल कार्यालयले पनि त्यसलाई बदर गरी जोशीलाई पनि थुनामा राख्नु पर्ने माग गर्दै उच्च अदालतमा निवेदन दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट