सोमवार, बैशाख २६, २०७९
नेचुरल सुन्दरी पल्लवी जसले अस्वीकार गरिन् दुई करोडको फेयरनेस क्रिमको विज्ञापन

नेचुरल सुन्दरी पल्लवी जसले अस्वीकार गरिन् दुई करोडको फेयरनेस क्रिमको विज्ञापन


  • स्वदेश नेपाल
  • सोमवार, बैशाख २६, २०७९

काठमाडौं– दक्षिण भारतीय अभिनेत्रीहरुमध्ये पनि साई पल्लवी विशेष छिन्। सामाजिक सञ्जालदेखि सिनेमा र व्यक्तिगत जीवनमा पनि उनमा एउटा समानता देखिन्छ। उनी कुनै पनि मेकअपबिना नै प्रस्तुत हुन्छिन्। पल्लवीको जन्म भारतको तमिलनाडुमा भएको थियो। उनले अध्ययन भने कार्डियोलोजिस्टको रुपमा गरिरहेकी थिइन्। अभिनेत्री नभएको भए आज पल्लवी सोही पेसामा हुन्थिन्।

पल्लवीले २०१४ मा पहिलो फिल्ममा काम गरेकी थिइन्। उनी कार्डियोलोजिस्टको रुपमा काम गरिरहँदा उनलाई ‘प्रेमम्’ फिल्मका लागि प्रस्ताव गरियो। फिल्मको प्रस्ताव स्विकार्दै मलारको भूमिकामा देखिइन्।

त्यसयता उनको अभिनय यात्रा सुरु भयो। उनले त्यसपछि काम गरेको मलयालम फिल्म ‘काली’ पनि निकै चर्चित भयो, जसबाट पल्लवी अरु निर्माता निर्देशकको नजरमा पर्न थालेकी थिइन्।

हालसम्म पल्लवीले १६ फिल्ममा काम गरिसकेकी छिन्। उनलाई ‘प्रेमम’ र ‘फिदा’ फिल्ममा गरेको अभिनयका लागि भारतको ‘फिल्मफेयर पुरस्कार’ पनि दिइएको छ। सँगै फोर्ब्समा टप ३० को सूचीमा पनि उनको नाम समावेश भइसकेको छ।

पल्लवीको करिअरको यतिका वर्षसम्म उनले आफ्नो परिचयमा बिनामेकअप अभिनय गर्ने अभिनेत्रीको रुपमा स्थापित गरेकी छिन्। उनी फिल्ममा बिनाकुनै सौन्दर्य साधनको प्रयोग देखिन्छिन्। उनको पहिलो फिल्म ‘प्रेमम्’बाटै साइले यो परिचयलाई निरन्तरता दिएकी छिन्।

यसकारण पनि पल्लवी चर्चामा रहन्छिन्। अर्कातिर, पल्लवी आफूले मेकअप नगर्ने मात्रै नभएर अप्राकृतिक सौन्दर्य साधनको विज्ञापन पनि गर्दिनन्। उनले दुई करोडको फेयरनेस क्रिमको विज्ञापनलाई अस्वीकार गरेकी थिइन्।

पल्लवीले सौन्दर्य साधन प्रयोग नगर्नु र यसको विज्ञापन पनि नगर्नुको कारण आफूलाई कृतिम कुरा मन नपर्ने भएकाले बताएकी छिन्। आज यीनै अभिनेत्री ३० वर्षकी भएकी छिन्। पल्लवीलाई जन्मदिनको धेरै शुभकामना।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट