आइतवार, पुस २५, २०७८
राष्ट्र निर्माता पृथ्वीनारायण शाह- सनातन धर्मका पहरेदार !

राष्ट्र निर्माता पृथ्वीनारायण शाह- सनातन धर्मका पहरेदार !

जुन दिन यिनको शालिक ढल्यो त्यसै दिनबाट ढल्न शुरु भयो नेपालको अधोगति


  • स्वदेश नेपाल
  • आइतवार, पुस २५, २०७८

मोहन लामा रुम्बा

२०६३ को कथित जनआन्दोलन सके लगत्तै पहिलोपटक बिशाल नेपाल एकीकरणको नायक पृथ्वीनारायण शाहको शालिक राति ढलायो, पृथ्वीनारायण शाहको सालिक कुनै भिंडले ढालेको थिएन, सुनियोजित रूपमा ढालेको थियो र त्यो ढाल्ने भिंडको नेतृत्व गर्ने तत्कालीन माओवादी पार्टीले पृथ्वीनारायण शाहलाई एउटा क्रूर शासक रूपमा ब्याख्या गर्दै संगसंगै मुलुकमा धर्म निरपेक्षताको एजेन्डा पनि जोड्तोडले उछाल्दै थियो ।

पृथ्वीनारायण शाहको अवमूल्यन गर्दै धर्म निरपेक्षताको महिमामण्डित गर्दै जानुपर्ने कारण के थियो त ? एकातिर पृथ्वीनारायण शाह र अर्कोतिर धर्म निरपेक्षता यो एकापसमा दुई बिपरित धुर्वको हुनुपर्ने कारण के थियो ?

केही केहि अल्पज्ञानी बुद्धिजीवीले माओवादीलाई सुझाव पनि दिने गर्थे की धर्म निरपेक्ष मान्दै राष्ट्रिय एकीकरणको नायकको रूपमा पृथ्वीनारायण शाहलाई मान्न पनि सकिन्छ भन्दै तर यो बेमौसमी बाजा मात्रै हो, नेपालमा धर्म निरपेक्ष र राष्ट्र नायक पृथ्वीनारायण शाह एउटै डुंगामा सयर गर्न बिल्कुलै सक्दैन किनकि पृथ्वीनारायण शाहको उदयदेखि अस्त सम्म यहाँको धर्म संस्कृतिको माटो संग साइनो जोडिएको थियो र छ जुन कुरालाई स्वीकार गर्दा धर्म निरपेक्षवादीको निहित उद्देश्यमा तगारो लाग्न पुग्छ।

एकथरी छन् हिन्दुराज्यको एजेन्डामा सहमति देखाउने तर राजतन्त्रको सन्दर्भमा त्यो धर्म संग जोडिएको कुरा नै होइन भन्ने तर्क गरेको पनि यदाकदा देखिन्छ, यसलाई केही हदसम्म एउटा तर्कको रूपमा लिन सकिन्छ, केही गणतान्त्रिक देशमा ईस्लामिक राज्य,इसाई राज्य नभएको होइन तर यो तर्कमा किन दम देखिन्न भने नेपालमा मुख्यत दुई कारणले यस्तो प्रणाली टिक्न सक्दैन, पहिलो नेपाल राज्यको संस्थागत संरचना पृथ्वीनारायण शाहको एकीकरण धारलाई नमाने बहुराज्य सिद्धान्त हुन पुग्छ,बहुराज्य सिद्धान्त भए देश अन्ततः विघटनमा टुंगिन्छ, अहिले नै बिभाजनको धर्सोहरु देखिन शुरु भैसकेको छ।

दोस्रो नेपालको भूराजनीतिक अवस्था !

 

कमजोर देशको बलियो स्थाई”शक्ति केन्द्र” नभएमा अस्थायी जनप्रतिनिधि लाई जोरिवैरीले बिरालोले मुसा खेलाएको भन्दा बढी खेलाउने गर्दो रहेछ भन्ने यो दस बर्षको वैदेशिक नाङ्गो गतिविधिले हामी सबैलाई राम्रोसँग पाठ घोकाएको सर्वविदितै छ त्यसैले नेपालको राजसंस्था हिन्दुराज्य र पृथ्वीनारायण शाह एकापसमा जोडिएको अभिन्न अंग हुन्।

यो यथार्थलाई बेलैमा राष्ट्रवादीले भन्दा अझ बढी गहिराइमा पुगेर धर्म निरपेक्षता वादीले बुझे त्यति साहेत सापेक्षता वादीले बुझ्न सकेनौ वा हामी बुझ्न पछाडी पर्‍यौं !!

पृथ्वीनारायण शाहको कासी तिर्थ यात्रामा प्रस्थान गर्न अगाडिको उनमा जान पुर्वको जुन भ्रम थियो हिन्दुस्थान प्रतिको त्यो त्यहाँको वस्तुस्थिति प्रत्यक्ष देखेर फर्केर आएपछि नेपाललाई मात्रै असली हिन्दुस्थान रहेछ भन्ने ज्ञान् बोध गरेको देखिन्छ, एउटा लाई असली भन्नुको अर्थ हुन्छ अर्कोलाई नक्कली देख्नु, वा भएको हुनुपर्छ, किनकि कासी तिर्थ यात्रा जान अगाडिको नेपाली हिन्दु जनमानसमा रहेकोे “एक मुठी खानु कासी जानू” भन्ने लोकक्ती देखि थुप्रै प्रशिद्ध तिर्थ धामहरुको वर्णन सुनेर हुर्केको पृथ्वीनारायण शाहलाई पनि असली हिन्दुस्थान भारत नै होला भन्ने भ्रम पर्नु स्वभाविकै देखिन्छ, तर पृथ्वीनारायण शाह जतिबेला कासी तिर्थाटन गर्दै थियो त्यतिबेला हिन्दुस्थानको धेरै भूभागमा बेलायती साम्राज्य बिस्तार हुँदै थियो भने उत्तर मध्य भूभागमा मुगल वादशाहको साम्राज्य भित्र हिन्दुहरु आफू हिन्दु भइरहनको लागि मुगल वादशाहलाई जजिया “कर” तिर्दै गरेको देखि दोस्रो दर्जाको नागरिक भएर बसेको देखेर होला साहेत नेपाल आएपछि उनलेे एक मात्र असली “हिन्दुस्थान” भन्न पुगे !

ठिक यही उनको सैद्धान्तिक मान्यतामा उभिएको शाहवंशीय परम्परा नै मुख्य तगारो हो धर्म निरपेक्षको, त्यसैले नेपालमा धर्म निरपेक्ष स्थापना हुन पृथ्वीनारायण शाहको सालिक ढाल्नु अनिवार्य नै थियो किनकि त्यो एउटा एकीकृत नेपालको बिम्ब थियो।

पृथ्वीनारायण शाहले उपत्यका एकीकरण गर्न अगाडि उपत्यकाको मल्ल राजाहरू एकापसमा अन्तर्द्वान्द चल्दै थियो त्यसको फाइदा रोम बाट इसाई धर्म प्रचार गर्न आएको क्याप्चुन पादरीहरुले उठाउदै यहाँको सनातन धर्मावलम्बी हरुलाई इसाईकरण गर्दै यहाँको पुरातात्त्विक वस्तुहरु अमुल्य प्राचीन पाण्डुलिपीहरु नष्ट गर्दै थियो, भने भक्तपुरको राजा जयरणजित मल्लले त आफ्नो देशमा धर्म प्रचार गर्ने जिम्मा नै इसाई धर्म प्रचारक पादरीहरुलाई दिने घोषणा गर्दै आदेश जारी गर्‍यो ” हामी जयरणजित मल्ल नेपालको भातगाउँको राजा,हाम्रो अधीनका सबै प्रजा,स्त्रीहरुलाई पनि धर्मको ज्ञान् दिलाउने र धर्म फैलाउने आज्ञा सम्पुर्ण युरोपेली पादरीलाई दिन्छौं। हामी हाम्रा प्रजालाई बिनाकुनै हिचकिचाहट युरोपेली पादरीको धर्म अपनाउने अनुमति दिन्छौं !” नेपाल संवत् ८६१ मार्गशीष।

यसरी राज्यको आधिकारीक निकायबाट नै घोषणा गरेर धर्म प्रचार गर्ने जिम्मा युरोपेली पादरीहरुलाई पाएपछि उपत्यका भित्र इसाईको संख्या क्रमशः वृद्धि हुन थाल्यो सामाजिक संरचनाहरु खलबलिन थाल्दै थियो सोही समयमा पृथ्वीनारायण शाहले काठमाडौ उपत्यका पनि कब्जामा लिएको केही समयपछि नै इसाई पादरीहरुलाई देश निकाला गर्दै आफ्नो सनातन देखिन मान्दै आएको कुल धर्म नछोड्नु भन्दै बडा महाराज पृथ्वीनारायण शाहबाट देशबासीको नाउँमा उर्दी जारी गरियो।

सन् १८९८ मा नेपाल आएको फ्रान्सेली नागरिक सिल्भाँ लेभी आफ्नो पुस्तक Le Nepal: Etude historique d un Royaume Hindu मा लेख्छन् “ क्यापुचिनहरु नेपालमा साठी बर्ष बसेपछि निकालिए उनिहरुलाई नेपालको हजारौं पाण्डुलिपिहरु नष्ट गर्न सकियो भन्ने सन्तोष थियो। सोही पुस्तकमा अर्को डरलाग्दो कुराको पनि उल्लेख गरेको छ पृथ्वीनारायण शाहले उपत्यकाबाट भगाएको इसाई पादरीहरु भारतको अहिलेको बिहार प्रान्तमा पर्ने बेतीयामा गएर बसेको थियो त्यहाँ बसेको पादरीहरु बाट नेपालको महत्त्वपूर्ण सूचना हरु पाइन्छ की भनेर इस्ट इन्डिया कम्पनीको क्याप्टेन भेट्न गएछ उनलाई काम लाग्ने सूचना त दिन सकेन छ तर इसाई पादरीहरुले ” आफुहरुले नेपालमा तीन हजार हस्तलिपिहरु जलाएको कुरा बताए” भनेछ ! ऊनी अगाडि थप्छन् “भाग्यवश क्यापुचिनहरु नेपालमा धेरै बर्ष बस्न नपाएकोले तिनीहरुले धेरै सामाग्री बिगार्न पाएनन्” ।

यसरी नेपाल भित्र कोही ब्यापारीको रूपमा कोही धर्म प्रचारको भेषमा उपत्यका भित्र छिरेर यहाँको बज्रयान बौद्ध धर्म एवं हिन्दु धर्मको प्राचीन हस्तलिपी पाण्डुलिपिहरु जलाउदै यहाँको सभ्यताको इतिहास मेटाउदै गरेको देखेर बडा महाराज पृथ्वीनारायण शाहले युरोपेली इसाई मिसनरीहरु लाई चार भञ्ज्याङ् कटाएर राष्ट्रिय एकीकरण मात्रै होइन यहाँको मौलिक धर्म संस्कृतिको पहरेदार बनेर आफ्नो प्रजाहरुलाई आफ्नो कुल धर्म नछोड्नु है भन्दै अर्ती दिएर जाने एउटा सनातन धर्मको हिमवत खण्डको असल पहरेदार पनि हो ।

यिनै पहरेदारको शालिक जुन दिन  ढल्यो त्यसै दिनबाट ढल्न शुरु भयो नेपालमा बोन, बौद्ध, किराँत, हिन्दुको कुल धर्म संस्कृति पहिचान सभ्यताको एकएक अंग प्रत्यङ्गहरु………. ।

बडामहाराज पृथ्वीनारायण शाहको  ३००औं शुभ जन्मोत्सवको पावन अवसरमा बडामहाराजप्रति सतसत नमन अर्पण गर्दछु ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट