शनिबार, माघ १५, २०७८
मेरो विशाल नेपाल खोई ?

मेरो विशाल नेपाल खोई ?

यदि नेपाल आमालाई यथारुपमा फर्काउन नव-जीवन दिन नसक्ने हो भने के हामी ति वीर पुर्खाको सन्तति भन्न लायकका छौँ ?


  • स्वदेश नेपाल
  • शनिबार, माघ १५, २०७८

झलक मगर – मेरो विशाल नेपाल खोई ?

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान अवतरण भए लगतै म लकेज लिनलाई पर्खीरहेको थिएँ । थाहा थिएन लकेज कहिले आइपुग्ने हो । त्यसैले म यता उता डुल्दै मेरो देशको एक मात्र अन्तराष्ट्रिय विमानस्थलको अवलोकन गर्दै थिएँ । अलि पर एकजना सेतै कपाल फुलेको वृद्ध निन्याउरो मुख लगाएर बसिरहेका थिए । पापी मन राम्रो भन्दा पहिले नराम्रो सोच्छ । के भएछ भनी बुझ्न गएँ ।

बाजे के भयो ? किन यसरी एक्लै झोक्राएर बसिरहनु भएको ? उनी म तिर फर्कीय । स्वेत कपाल , मज्जैको एक झुप्पा स्वेत जुँगा , ठम्म परेको जीउ । हेर्दा कुनै वीर क्षेत्रीय जस्तो देखिने । उनले सोधे ” बाबु तिमी नेपाली हो ? विदेशबाट आएको जस्तो छ बाबु तिमी माथि माथि आकाशमा उडीरहदा कतै मेरो देश नेपाल देख्यौ ?

” अचम्म लाग्यो ! होइन मैले त नेपाली मै सोधेको थिएँ फेरी यो प्रश्न किन ? मन मनै सोचेँ ढिला नगरी मैले जवाफ दिएँ ” हो बाजे म नेपाली नै हुँ ! हजुर भर्खर विदेशबाट आएको हुँ ।” विदेशबाट आएको भने पछि नेपालमा छुट्टै शान छ ! त्यही खोक्रो शान देखाइँ हालेँ मैले पनि ! बरु बाजे तपाईँ को हो ? यसरी यहाँ के खोजी रहनु भएको ? मेरो प्रश्न सुनेर दुःखी हुँदै जवाफ दिए ” बाबु म भक्ति थापा मगर नेपालको विभूती ! भक्ति थापा मगर ? म अचम्म मान्दै हेरी रहेको थिएँ ! अचम्म मान्नु पर्दैन बाबु म मात्र होइन मेरो समकालीन साथीहरू पनि छन् म संगै ! ऊ हेर त ! उनले दाया तिर देखाए ! मैले मुन्टो अलिकति दाया तिर बटार्दै हेरें ! ठुलै जमात रहेछ ! कोही ढाका टोपी लगाएका , कोही छत्रे टोपी लगाएका ,सबैले दौरा सुरुवाल लगाएका , कम्मरमा सेतो पटुकी बाँधेका , पटुकीमा झन्डै एक हात लामो खुकुरी भिरेका उस्तै स्वेत स्वेत जुँगा ।’

म अनौठो मानेर हेरी रहेको थिएँ। उनले विस्तारै परिचय गराए ।उ परको श्री ५ पृथ्वी नारायण शाहदेव , उहाँ चाहिँ श्री ५ प्रताप सिंह शाहदेव , उहाँ चाहिँ बडामहारानी राजेन्द्रलक्ष्मी शाह , उहाँ चाहिँ श्री ५ रण बहादुर शाहदेव , उहाँ चाहिँ श्री ५ गीर्वाणु युद्ध बिक्रम शाह देव , उहाँ बहादुर शाह , उहाँ भिमसेन थापा , उहाँ जंग बहादुर राणा , उहाँ विराज थापा मगर , उहाँ महेश्वर पन्त , उहाँ कालु पाण्डे , उहाँ शिवराम सिंह बस्नेत , उहाँ राम कृष्ण कुँवर , उहाँ कहर सिंह बस्नेत , उहाँ वंशराज पाण्डे , उहाँ अभिमान सिंह बस्नेत , उहाँ बलभद्र कुँवर , उहाँ किर्तिमान सिंह बस्नेत , उहाँ दामोदर पाण्डे , उहाँ बडा काजी अमर सिंह थापा मगर , उहाँ सानो काजी अमर सिंह थापा मगर ! चिन्यौँ बाबु ? मैले त पुस्तकमा मात्र पढेको थिएँ । आज साक्षात्कार हुँदै छ । उही महान् वीर विभूतीहरु । मैले अचम्म मान्दै सोधेँ -” तपाईँहरू त नेपालको निर्माता हुनुहुन्छ फेरी नेपाल खोज्दै हुनुहुन्छ ? किन स्वर्गबाट मेरो नेपाल देखिदैन ? त्यति सानो छ मेरो नेपाल ?

मेरो कुरा सुन्नासाथ श्री ५ पृथ्वी नारायण शाह अगाडि बढेर मेरो कठालोमा च्याप्प समातेर सोध्नु भयो ” के तिमी साँच्चै नै नेपाली हो ?” मैले डराई डराई सानो स्वरमा जवाफ दिएँ ” हजुर हो । ” उनी क्रोधान्वित हुँदै झन् चर्को स्वरमा भने ” त्यसो भए भन् मेरो नेपाल खोई ?” मेरो डरको सिमा रहेन । असहज प्रश्नले हठात ब्युझाए झैँ लाग्यो ! मैले उस्तै सानो स्वरमा भने ” तपाईँहरूले निर्माण गरेर जानु भएको नेपाल यही त हो नि !” कम्मरमा रहेको खुकुरीमा हात पुर्याउँदै बडा काजी अमर सिंह थापा मगर अघि बढ्दै विडम्बित भावमा बोले ” हामीले छोडेर गएको नेपाल यत्ति हो ? मैले लज्जाबोधले शिर झुकाउदै हिनताले थकित हुदै भने ” बाँकी त प्रजातन्त्र लोकतन्त्र अनि गणतन्त्र को खोल ओढेका माताद्रोही धर्मभ्रस्ट नेताहरूले बेचे अनि अनि जनताले जोगाउन सकेनन बाजे ।” मेरो जवाफ सुन्ना साथ सबैले एकै साथ खुकुरी निकाल्दै एकै स्वरमा ” तिमीहरुले किन रोकेनौ ” भन्दै म माथि आइलागे । मेरो हँसले ठाउँ छोड्यो ! यसो पछाडि हेरेको दुई नम्बर गेट खुला रहेछ ! म त्यतैतिर जोडले भाग्न थालेँ ! उनीहरू मलाई लखेट्दै थिए ।

भाग्दै थिएँ भाग्दै थिएँ आफूभन्दा अगाडि दुईवटा रुखमा गोलीले शरीर छिया छिया बनाएको चार निर्वाण शरीर झुन्ड्याइएको अवस्थामा थियो ।टक्क उभिएँ । यसो पछाडि हेरेको केही थिएन।म झुन्ड्याइएको शवको नजिक गएर नियाल्न खोज्दै थिएँ । ति शवहरु एक्कासी बौरिएर अट्टहाँसको हाँसो हाँस्न थाले !मानौ इतिहासले मेरो निर्लज्जताको खिल्ली उडाउदै छ।भयभीत म झन् विचलित हुन लागेँ । एउटा अशोभनीय अट्टहाँसको हाँसो सगै शहिद क्रन्दनं सुनियो । म झन् नजिकै गएर नियाल्न लागेँ ! त्यसैबिच एक प्रश्न को ध्वनि सुनियो – ” बाबु हामीलाई चिनेनौ ? ” मैले अहँ भनेर छोटो जवाफ दिएँ ! मेरो जवाफ सुनेर दुःखी हुँदै आफ्नो परिचय दिन लागे । म दशरथ चन्द , उ धर्मभक्त माथेमा , उ शुक्रराज शास्त्री र उ गंगालाल श्रेष्ठ । हामी बर्ष दिनमा एक चोटी फुलमाला लगाउन पाउने तिमीहरूको वीर शहीद।उनीहरूको परिचय पाउनासाथ मैले शिर झुकाएर प्रणाम गर्दै भने ” तपाईँहरू जस्तो सच्चा वीर नेपाल आमाको सन्ततीको दर्शन गर्न पाउनु मेरो सौभाग्य हो । म विनम्र अनुरोध गर्दछु आउनुहोस् पुनर्जन्म लिएर अझै देशलाई तपाईँहरू जस्तो नेपाल आमाको राष्ट्रवादी सन्ततीको खाँचो छ।” मेरो कुरा सकिन नपाउँदै शुक्रराज शास्त्री बोल्न थाल्नु भयो ” भयो बाबु हामीलाई राष्ट्रवादी नभन , तिमीहरूको राष्ट्रवादीहरु त खड्ग ओली , प्रचण्ड , बाबुराम , माधव , देउवा , सिटौला , आङ्काजीहरु हुन् ! हामी त विस्मृतिमा विलिन अतित हौ ! हामीलाई राष्ट्रघाती भनेर एकचोटि मृत्युदण्डको सजाय दिइसके ! अब तिमी पनि राष्ट्रवादी भन्दै तिनै खड्ग ओली र प्रचण्डहरुको लाइनमा उभ्याइदिएर अर्को सजाय नदेउ ! हामीले हाम्रो जीवनकाल भरी नेपाल र नेपालीसँग कहिल्यै केही मागेनौँ आज तिमी संग माग्दै छु ” बिन्ती छ हामीलाई राष्ट्रवादी नभनीदेऊ। हामीलाई राष्ट्रघातीको उपमा नै प्यारो छ ति के पि प्रचण्डहरुको लाइनमा उभिनु भन्दा त ! यति भन्दै शहिदहरु कतै विलिन हुनुभयो। म ब्याकुल हुँदै यता उता खोज्न थालेँ।

मैले आफूलाई दुई ठुला ठुला पवित्र निर्मल नदीको दोभानमा पाएँ ! भयभीत मन केही सम्हालिन खोज्दै थियो अकस्मात् ति मौन नदीहरुमा भुलभुल गर्दै रगत प्रबाह देखियो ! म डर मिश्रित आश्चर्य मान्दै चारैतिर आँखा डुलाउँदै थिएँ एक्कासी आफूलाई शवहरु बिचमा पाएँ । शवहरु पनि चिर परिचित जस्तो ! पुरुषहरू ढाका टोपी दौरा सुरुवाल लगाएका भने महिलाहरू छिट्को गुन्यु , मखमलको चोली लगाएका ! कसैको हातमा तरवार , ढाल , खुकुरी त कसैको हातमा गुलेली , मट्याङ्ग्रा , ढुङ्गामुढा ! मैले आँखा डुलाएर भ्याउन के लागेको थिएँ ति शवहरु एकाएक बौरिएर जाराक जुरुक् उठे ! हेर्दा अलिक बुढो जस्तो देखिने बाजेले सोध्नुभयो ” बाबु तिमी नेपाली हो ? ” मैले हजुर हो म नेपाली नै हुँ भने ।” तर तपाईँहरू पनि हेर्दा नेपाली नै जस्तो देखिनुहुन्छ फेरि यहाँ किन ? यहाँ किन ? उनले भृकुटी खुम्च्याउँदै प्रश्नवाचक भावले सोधे !

फेरि थपे ” हामी कहाँ छौँ र बाबु ?” तपाईँहरू हामीले मुग्लान भनेर चिन्ने भारत देशको टिस्टा र काँगडा नदीको वरपर हुनुहुन्छ। उनी दुःखी हुँदै बोले ” मतलब हामी अंग्रेजको गुलाम भारतमा पो छौँ ? हामीले त हाम्रै नेपाली भूमिमा वीरगति प्राप्त गरेका थियौँ । कसले हामीलाई गुलामहरुको देशमा पुर्यायो ? सगै दुर्भाग्य रोदन सुनियो ! एकपछि अर्को गर्दै वातावरण रोदनले गुञ्जायमान भयो ! कोही हे माता गोरखकाली यो के सुन्नु पर्यो ।हाम्रो देश नेपालमा वीरगति प्राप्त गरेका हामी आज कसरी भारतमा भयौँ ?? निकै बेरको रुवाइ पछि एकजना स्वेतकेशधारी आमाले सम्हालिदै सोधे ” बाबु तिमीलाई थाहा छ मेरो देश नेपाल कहाँ छ ? ” मैले दुःखी हुँदै हालको करीब एक लाख वर्ग किलोमिटर क्षेत्रफलको नेपाल देखाइदिएँ ! उनले खिसी गर्दै भने ” धन्य तिमी वीर गोर्खाली ! बाबु त्यो त तिम्रो नेपाल हो ! मेरो पालाको नेपाल त यो हो ल हेर भन्दै विशाल नेपाल देखाए। जहाँ बलभद्र कुँवर खलाङ्गामा चौडा छाती बनाएर नाङ्गो खुकुरी नचाउँदै थिए ! भक्ति थापा , अमर सिंह थापाहरु टिस्टा काँगडा नदीमा बेलायति साम्राज्यवादको रगतले लतपतिएको खुकुरी पखाल्दै थिए । विस्तारै उनले उनको नेपाललाई मधुरो बनाउँदै मेरो नेपाल देखाउँदै थिए । मेरो ध्यान भने उनको नेपाल मै थियो । उत्तर पूर्वी भागमा बाक्ला लुगा लगाएका मानिसहरू छाङ्छाङ छुङ्छुङ गरेर कुरा गर्दै थिए , पश्चिम र दक्षिणी भागमा खकाले गन्जी र धोती बेरेका मानिसहरू अरे भाइ क्या हाल हे ? भन्दै थिए ! मेरो रगत एक्कासी उम्लेर आयो !

भुइँमा रहेको तरवार उठाएँदै भने ” ओई को होस् तँ वीर गोर्खालीको देशमा नाङ्गो तान्डव नृत्य नाच्ने ?” मेरो कुरा सुनेर छेवैको बुढो बाजे हाँस्दै भने ” बाबु तिमी पनि वीर गोर्खाली ? बाबु को छ अहिलेको नेपालमा वीर गोर्खाली ? अहिलेकोमा त वीर होइन इतिहास भुलेका दुखद सपना मात्र छन् , कायर मात्र छन् ! विश्वास नभए हेर भन्दै देखाए। कोही अंग्रेजको देशमा त कोही गुलामीहरुको देशमा छाती फुल्याइरहेका थिएँ ! कोही खाडी तिर खबुसमा आफूलाई भुल्याइ रहेका थिए ! बाँकी भएको केही लाल सलाम कमरेड भन्दै जनता भुटिरहेका थिए त कोही अधिकार अधिकार भन्दै सडकमा टायरमा आगो फुकिरहेका थिए ! कोही चित्तामा जस्तै मस्त सुतिरहेका थिए त कोही नदी नाला बेच्न जुटिरहेका थिए ।

म निशब्द भएर चुपचाप हेरिरहेको थिएँ ! उनले फेरि बोले तिमारु वीर होइन कायर हौ कायर ! सबैले एकै स्वरमा भने हो तिमारु कायर नै हौ ! तिमारु कायर नै हौ ! म प्रतिवाद गर्दै थिएँ नाँइ म वीर नै हुँ ! नाँइ म वीर गोर्खाली नै हुँ ! नाँई म वीर गोर्खाली नै हुँ !

झलक ए झलक

के भो ? किन वीर गोर्खाली हुँ , वीर गोर्खाली हुँ भन्दै छौ त ?
संगै सुतेको साथी सरोजले हल्लाउँदै पुरै बिउँझायो मलाई !

एक एक गर्दै सपनाको सबै कुरा र घटनाहरू सम्झेँ।सोचमग्न हुन पुगें ! के हामी साँच्चै नै वीर गोर्खाली नै हौँ त ? यदि हौँ भने आज खण्डित वलात्कृत अनि तिरस्कृत विलक्षीकृत नेपाल आमालाई नव -जीवन प्रदान गर्न तिर किन नलाग्ने ? कहिले सम्म विशाल नेपालको अल्प भूमिमा बसेर आफूलाई वीर र स्वाभिमानी गोर्खालीभनी रहने ? यदि नेपाल आमालाई यथारुपमा फर्काउन नव-जीवन दिन नसक्ने हो भने के हामी ति वीर पुर्खाको सन्तती भन्न लायकका छौँ ?

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट