शुक्रबार, माघ १४, २०७८
राज्य जोगाउन पुरुष बनेकी दक्षिण भारतीय रानीको कथा, हेर्नुहोस् युट्युबमा

राज्य जोगाउन पुरुष बनेकी दक्षिण भारतीय रानीको कथा, हेर्नुहोस् युट्युबमा


  • स्वदेश नेपाल
  • शुक्रबार, माघ १४, २०७८

भारतमा पृथ्वीराज चौहानदेखि बाजिराओ पेश्वाजस्ता वीर पुरुषका जीवनमा आधारित थुप्रै फिल्म र टेलिश्रृंखला बनेका छन्। जब वीर महिलाहरूको कुरा आउँछ तब भारतीय फिल्महरूले झाँसीकी रानी, अर्थात् रानी लक्ष्मीबाइलाई मात्रै धेरै स्थान दिएको पाइन्छ।

तर भारतीय इतिहासमा थुप्रै वीरंगनाले जन्म लिएका थिए। यिनैमध्ये एक हुन् रूद्रमादेवी।

उनी काकातीय वंशकी रानी थिइन्। यो वंशले दक्षिण भारतमा १२ औं शताब्दीदेखि १४ औं शताब्दीसम्म शासन गरेको थियो। १३ औं शताब्दीमा भारत भ्रमण गरेका मार्को पोलोले समेत रूद्रमादेवीका बारेमा वर्णन गरेका थिए।

काकातीय वंशको शासन क्षेत्र अहिले तेलंगना आन्ध्र प्रदेशदेखि कर्नाटक र उरीसम्म फैलिएको थियो। त्यति बेला उत्तरी भारतमा यदावश वंशको शासन थियो। यदावश वंशको आक्रमणबाट काकातीय वंशलाई जोगाउनमा रूद्रमादेवीको ठूलो हात रहेको इतिहास छ।

रूद्रमादेवीको निधनपछि १४ औं शताब्दीमा आएर अलाउद्दिन खिलजीले काकातीय वंशमाथि शासन गर्न सफल भएका थिए।

भारतमा कुनै वंशको उत्तराधिकारी भएर शासन गर्ने धेरै कम महिलामध्ये एक हुन् रूद्रमादेवी। त्यसैले पनि दक्षिण भारतीय इतिहासले उनलाई विशेष स्थान दिएको पाइन्छ।

उनै रानीको जीवनमा आधारित फिल्म हो रूद्रमादेवी।

तेलेगु भाषामा बनेको यो फिल्ममा रूद्रमादेवीको भूमिकामा दक्षिण भारतकी सुपरस्टार मानिने अनुष्का शेट्टी छन्।

फिल्म काकातीय वंशका राजा गणपतिको तेलेंगना राज्यको राजधानी सहरका ओरूगल्लामा राज गर्दाको समयबाट सुरू हुन्छ। राजा गणपतिलाई राजकाजमा दुइटा चुनौती हुन्छ।

एउटा देवगिरिका सम्राट सिंघनाबाट। उनी काकातीय वंश समाप्त गरेर आफ्ना नातिलाई राजा बनाउन चाहन्छन्।

अर्को आफ्नो शासन कायम राख्न राजा गणपतिलाई उत्तराधिकारीको खाँचो हुन्छ। रानीको कोखबाट राजकुमार नजन्मिए उनको शासन सकिने भयले राज्यलाई नै खाइरहेको हुन्छ। फेरि काकातीय वंशकै दुई अधिराजकुमारहरू शासन आफ्नो हातमा लिने सपना देखेर बसेका हुन्छन्।

उनीहरूलाई ज्योतिषीले रानीको कोखबाट छोरी जन्मिने बताउँछन्। र, तिनै छोरीले राज्य बचाउने पनि भन्छन्।

तर अधिराजकुमारहरू छोरीले के गर्छे र भन्दै गणपतिको शासन अब खतम हुने भयो भनेर खुसीयाली मनाउँछन्।

जनता र राज परिवार सबैले रानीको कोखबाट छोरा जन्मिऊन् भनेर प्रार्थना गर्छन्। तर उनले रूद्रमादेवीलाई जन्म दिन्छिन्। यसले राजा गणपतिलाई चिन्ताग्रस्त बनाउँछन्।

तर त्यही बेला उनका प्रधानमन्त्री शिवा देव्यायले राजालाई सुझाउँछन्- रूद्रमादेवीलाई राजकुमारका रूद्रको रूपमा सबैका अगाडि चिनाउने।

उनीहरूले रूद्रदेवीको वास्तविक पहिचान लुकाएर रूद्रलाई अगाडि सार्छन्। त्यहीअनुसार उनलाई सानैदेखि अलग्गै राखेर हुर्काउँछन्। प्रधानमन्त्री शिवाले उनलाई एक योद्धा राजकुमारका रूपमा तालिम दिन्छन्। रूद्रमादेवीले पनि आफू केटी हुँ भन्ने अनुभव नै गर्न पाउँदिनन्।

तालिमपछि उनी राजकुमारका रूपमा राजधानी फर्किन्छिन्। उनलाई युवराज घोषणा गरिन्छ।

अब रूद्रमादेवीमाथि रूद्र भएर राज्य सम्हाल्ने जिम्मेवारी आइपर्छ। यही क्रममा उनलाई एक दिन आफू पुरुष नभएर महिला भएको पनि थाहा हुन्छ। उनी दुखी भएर आफ्ना आमाबासँग यसबारे सोध्छिन्।

उनको पहिचान लुकाउनुको कारण आमाबुवाले खुलाएपछि रूद्रमादेवी आफैं राजकुमार रूद्रका रूपमा प्रस्तुत हुन राजी हुन्छिन्। राज्यको हिफाजत र काकातीय वंशको निरन्तरताका लागि उनले आफ्ना सबै रहरको बलिदान दिन्छिन्।

यहीबीच राजकुमारको बिहेको दबाव आउँछ। आफ्नो पहिचान लुकाएर राख्नैका लागि पनि रूद्रमादेवीले राजकुमारी मुक्तम्बासँग बिहे गर्छिन्।

अनेक गर्दागर्दै पनि एकदिन रूद्रमादेवीको पहिचान दुश्मनहरूले पत्ता लाउँछन्। यसपछि रूद्रमादेवीलाई संकट आइपर्छ। तेलंगना राज्यमाथि आँखा गाडेर बसेका देवगिरिका सम्राट सिंघना पनि चलमलाउँछन्।

के रूद्रमादेवीले आफ्नो आफू महिला भएको रहस्य दबाएर राख्न सक्लिन्?

उनकी श्रीमती मुक्तम्बाले यो रहस्य थाहा पाएर के भन्लिन्?

उनलाई महिला भए पनि उत्तराधिकारीका रूपमा राज्यले स्वीकार्ला?

के काकातीय वंशको नामनिसान रूद्रमादेवीको रहस्य खुलेसँगै सकिएला?

उनले यो राज्यलाई कसरी बचाउलिन्?

यो फिल्मले यी सबै कथा समेट्छ।

रूद्रमादेवीमा अनुष्का शेट्टीसँगै अल्लु अर्जुन, प्रकाश राज, राना दघुबत्ती लगायतको मुख्य भूमिका छ। तेलेगू भाषामा बने पनि यो फिल्म मलयालम, तमिल र हिन्दीमा पनि डब भएको छ।

सन् २०१५ मा रिलिज भएको यो फिल्म त्यो बेलै धेरै कमाउनेमध्येको हो।

त्यस्तै प्रायः पुरुष पात्रका गाथा मात्र गाउँदै आएका बायोपिक विधामा रूद्रमादेवीमार्फत् एक शसक्त महिलाको जीवन प्रस्तुत भएको छ।

रूद्रमादेवीको व्यक्तित्व र कथा इतिहासले जसरी वर्णन गरेको छ, फिल्ममा अनुष्का शेट्टीले त्यसलाई न्याय गर्न सकेकी छन्। यही फिल्मबाट उनले उत्कृष्ट अभिनेत्रीका रूपमा थुप्रै अवार्ड जितेकी थिइन्।

यसबाहेक फिल्मले विभिन्न विधामा एक दर्जन हाराहारी अवार्ड जितिसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट