शुक्रबार, माघ १४, २०७८
उच्चले ७५ लाख धरौटी मागेका उमाशंकर रायभरलाई २५ हजार धरौटीमा छाड्न सर्वोच्चको आदेश

उच्चले ७५ लाख धरौटी मागेका उमाशंकर रायभरलाई २५ हजार धरौटीमा छाड्न सर्वोच्चको आदेश


  • स्वदेश नेपाल
  • शुक्रबार, माघ १४, २०७८

राजश्व चुहावटको मुद्दामा उच्च अदालत पाटनबाट ७५ लाख रुपैयाँ धरौटी माग भएका उमाशंकर राय भरलाई २५ हजार रुपैयाँ मात्रै धरौटी लिएर छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश सपना प्रधान मल्ल र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले ७४ लाख ७५ हजार रुपैयाँ धरौटी घटाएको हो।

ब्लुक्रस ट्रेडर्स र जेएन सप्लायर्स प्रालि उमा शंकर राय भरको नाममा दर्ता गरेको पाइएको छ। तर उनको नाममा संस्था दर्ता भएपनि संस्थाको खातापाता लगायत संस्था सञ्चालन गर्ने र प्रयोग गरी सम्पूर्ण लाभ लिने कार्य सरोजकुमार मिश्रले गर्ने गरेको सर्वोच्चको ठहर छ।

‘यी निवेदकबाट राजश्व चुहावटमा प्रत्यक्ष हानी नोक्सानी गर्ने कार्यमा संलग्नता रहेको नदेखिनुको अतिरिक्त सो बिगोको दाबी अन्य मुख्य प्रतिवादीहरु उपर समेत रहेको तथा निवेदकको आर्थिक अवस्था, पारिवारिक स्थिति र कसुरबाट सृजित परिणाम तथा प्रस्तुत मुद्दाको विषयवस्तु तथ्य र निवेदकको संलग्नताको स्थिति समेतको रोहबाट निवेदक प्रतिवादीबाट २५ हजार नगद वा जेथा माग गर्नु उपयुक्त र न्यायोचित हुन्छ’ आदेशमा भनिएको छ।

आदेशमा थप भनिएको छ, ‘७५ लाख धरौटी माग गर्ने गरेको उच्च अदालत पाटनको २०७७ फागुन १९ को आदेश सो हदसम्म मनासिव देखिन नआएकोले बदर गरिदिएको छ।’

उमा शंकरको नाममा दर्ता भएको संस्थाका सम्पूर्ण कारोबार सुरोज कुमार मिश्रले गरेको ठहर गरेको छ। उमा शंकरले ५ कक्षा मात्रै उत्तिर्ण गरेका छन्। उनको आर्थिक अवस्था समेत सामान्य रहेको छ।

छिमेकीले बाइक ग्यारेजमा काम लगाइदिन्छु भनेर उनलाई काठमाडौं ल्याएको खुलेको छ। उनका नागरिकता फोटो लगायतका कागजात लगेको र उनलाई कागजातमा ल्याप्चे लगाउन समेत लगाएर सम्पर्कविहीन भएपछि आफू वीरगन्ज फर्किएको उमाशंकरले बताएका छन्। उच्च अदालतको आदेशपछि हाल उनी पुर्पक्षका लागि थुनामा छन्। अब भने २५ हजार बराबरको धरौटी राखेर उनी छुट्न सक्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट