शुक्रबार, माघ १४, २०७८
मौरिसससँग खेल्नुअघि यसो भन्छन् कप्तान किरण

मौरिसससँग खेल्नुअघि यसो भन्छन् कप्तान किरण


  • स्वदेश नेपाल
  • शुक्रबार, माघ १४, २०७८

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले भोलि (शनिबार) अफ्रिकन राष्ट्रविरुद्ध मैत्रीपूर्ण म्याच खेल्दैछ । नेपालले पहिलोपटक मोरिससविरुद्ध खेल्न लागेको हो । नेपाल र मोरिससबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह पौने ५ बजेदेखि सुरु हुनेछ ।

वर्तमान फिफा वरिएतामा नेपाल १६९ औँ र मोरिसस १७२ औँ स्थान छ । मोरिससविरुद्ध खेल्नुअघि नेपाली टिमका कप्तान र सहायक प्रशिक्षकले प्रतिक्रिया दिएका छन् । कप्तान किरणकुमार चेम्जोङले मोरिससविरुद्धको खेल नयाँ अनुभव हुने बताए ।

‘भर्खर मात्र टिम जोइन गरेको दुई दिन भयो । खेलाडी ब्रेकमा नेशनल टिममा आउनुभाछ । सबै खेलाडी फिट देखेको छु । दुई दिन ट्रेनिङ राम्रो भयो । मैत्रीपूर्ण हो, तर जे पनि गर्न मिल्दैन रिजल्टको अपेक्षा हुन्छ ।

जितकै लागि खेल्छौँ । केही कुरा सिक्ने र अनुभव बटुल्ने अवसर हो । भोलिका लागि खेलमा तयार छौँ,’ शुक्रबार प्रि–म्याच कन्फ्रेन्समा किरणले भने ।

टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले मोरिससविरुद्ध हुने मैत्रीपूर्ण खेल एसिया कप छनोटको तयारीको रूपमा बताए । नेपालले मोरिससँग पहिलोपटक दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । उनले मोरिससविरुद्धको खेलमा सुधारिएको प्रदर्शन गर्ने बताए ।

‘मोरिसस र नेपाल उस्तै लेभलको टिम हो । वरियता उस्तै जस्तो हो । शारीरिक रूपमा अलि बलिया छन् । उही दाँजोको टिम हो,’ श्रेष्ठले भने । मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरी भने प्रिम्याच कन्फ्रेन्समा उपस्थित भएनन् ।

मोरिससमा प्रशिक्षक टोनी फ्राँस्वाले धेरैपछि अन्तर्राष्ट्रिय म्याच खेल्न लागेको र ४५ दिनको मात्र तयारी रहेको बताउँदै नेपालविरुद्ध राम्रो प्रदर्शन गर्ने प्रयास गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट