शुक्रबार, माघ १४, २०७८
भीम रावलका मानिस होइनन्, बिकुवा माल हुन्, लोकतन्त्रका मुसा हुन् – एमाले नेता कर्ण थापा

भीम रावलका मानिस होइनन्, बिकुवा माल हुन्, लोकतन्त्रका मुसा हुन् – एमाले नेता कर्ण थापा

जनविरोधी सत्ता गठबन्धनले जनतालाई मूर्ख बनाउँदै संविधानको अपव्याख्या गर्दै छ !


  • स्वदेश नेपाल
  • शुक्रबार, माघ १४, २०७८

नेकपा एमालेका नेता कर्णबहादुर थापाले जनविरोधी सत्ता गठबन्धनलाई समयमै स्थानीय निर्वाचन गर्नका लागि सडकबाट दबाब दिनुपर्ने अवस्था आएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले भने, “कोरोनालाई बहाना बनाएर लोकतन्त्रका मूल्य र मान्यता समाप्त गर्न मिल्दैन । जनविरोधी सत्ता गठबन्धनले जनतालाई मूर्ख बनाउँदै संविधानको अपव्याख्या गरिरहेको छ । अब जनतालाई सचेत बनाउँदै जालझेल र षडयन्त्रमा रमाइरहेको सत्ता गठबन्धनलाई खबरदारी गर्ने बेला भयो ।”

संविधानको एउटा धारा पढेर अपव्याख्या गर्न नमिल्ने उनको जिकिर छ । थापाले थपे, “उनीहरुले धारा २२५ को अपव्याख्या गरिरहेका छन् । एउटा धारा मात्र पढेर संविधानको व्याख्या गर्न मिल्छ ? संविधानले स्थानीय तहको अवधि ५ वर्ष भनेर किटान गरेपछि कानुनले त्यसलाई थप स्पष्ट व्यवस्था गरिसकेको छ । म सोध्न चाहन्छु, गठबन्धनका नेताहरुलाई नेपाली पढ्न आउँछ कि आउँदैन ?”

राष्ट्रिय सभा निर्वाचनका क्रममा एमालेमा अन्तर्घात भएको पनि उनले स्वीकारे ।

नेता थापाले भने, “गठबन्धनले नेतृत्वमा पुगेका मानिसहरुलाई बिक्री बट्टाका माल बनाइदियो । हाम्रै सुदूरपश्चिममा ५-७ जना जनप्रतिनिधिहरुले एमालेलाई भोट हालेनन् । ती भीम रावलका मानिस होइनन्, बिकुवा माल हुन् । लोकतन्त्रका मुसा हुन् । तिनमा कुनै आस्था र निष्ठा छैन ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट