शुक्रबार, माघ १४, २०७८
मेसीबिनाको अर्जेन्टिनाले चिलीलाई हरायो

मेसीबिनाको अर्जेन्टिनाले चिलीलाई हरायो


  • स्वदेश नेपाल
  • शुक्रबार, माघ १४, २०७८

एजेन्सी । फिफा विश्वकप छनोट अन्तर्गतको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले घरेलु टोली चिलीलाई हराएको छ। शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा एन्जल डि मारिया र लाउटारो मार्टिनेजले गोल गरे । घरेलु टोलीका विन वेरेन्टेनले एक गोल फर्काए । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।

खेल शुरु भएको १०औं मिनेटमा नै अर्जेन्टिनाले अग्रता बनाएको थियो। उसका लागि एन्जल डि मारियाले गोल गरेका थिए। खेलको २१औं मिनेटमा बेन बेरेन्टेनले गोल गर्दै चिलीलाई खेलमा फर्काए । उनले मार्सेलिनो नुनेजको पासमा गोल गरेका थिए ।

३४औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए । दोस्रो हाफमा घरेलु टोली चिलीले अर्जेन्टिनामाथि दवाव सिर्जना गरेपनि गोल गर्न सकेन।

जितसँगै दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको १४ खेलबाट ३२ अंक पुगेको छ । अर्जेन्टिनाले कतार विश्वकपमा स्थान पक्का गरिसकेको छ । अर्जेन्टिनासँगको हारले चिलीको विश्वकपमा छनोट हुने सम्भावना कमजोर बनेको छ ।

चिली १५ खेलबाट १६ अंक जोडेर सातौं स्थानमा रहेको छ । टोली शीर्ष चारको उरुग्वेभन्दा ३ अंकले तथा प्ले अफ अर्थात पाँचौ स्थानको कोलम्वियासँग १ अंकले पछि छ ।

अब चिलीले छनोटको बाँकी खेलमा जित निकालेर मात्रै पुग्दैन । अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट