सोमवार, माघ १०, २०७८
श्रीमद्भगवद्गीताको दार्शनिक योगदान

श्रीमद्भगवद्गीताको दार्शनिक योगदान

शहिद शुक्रराज शास्त्री पनि गीताबाट प्रभावित थिए , उनैले गीताका कर्मयोगको व्याख्या गरेर नेपालीहरु भित्र स्वतन्त्रता चेत उत्पन्न गरेका थिए ।


  • प्राध्यापक बाबुराम ज्ञवाली
  • सोमवार, माघ १०, २०७८

परिचय- श्रीमद्भगवद्गीता, जसको छोटकरी नाम गीता प्रसिद्ध छ, विश्वका सर्वाधिक अनूदित धार्मिक शास्त्रमध्ये एक हो । यति मात्र होइन यो पाश्चात्य र पूर्वीय दार्शनिकहरुलाई सर्वाधिक प्रभावित गर्ने दर्शनमध्ये एक पनि हो । यो महाभारतको अन्तरंग हिस्सा हो, जसमा १८ अध्याय र ७०० श्लोकहरु छन् । कौरव र पाण्डवबीच अधिकारका लागि भएको विवाद टुंगोमा पुर्याउनका लागि युद्ध निश्चित भएको थियो । युद्धको सुरुमा दुवै सेनाको बीचमा उभिए पछि हरेस खाएका अर्जुनलाई श्रीकृष्णद्वारा दिइएको उपदेश नै गीता हो ।

वेदान्तका तीन मूल ग्रन्थ (प्रस्थात्रयी–उपनिषद्, ब्रह्मसूत्र र गीता) मध्ये यो एउटा हो । के भन्दा अतिशयोक्ति हुने छैन भने हिन्दु दर्शनमा यस ग्रन्थले यस्तो एक मार्ग प्रशस्त गरेको छ, जुन गीताको प्रतिपादन हुनु अघि अज्ञात थियो ।

चार मौलिक सिद्धान्त

गीताले हिन्दु दर्शनमा निम्नलिखित चार मौलिक योगदान गरेको छ– १. निष्काम कर्मयोग २. योगको समन्वय ३. अवतार सिद्धान्त ४. पुनर्जन्म

१. निष्काम कर्मयोग

श्रीकृष्णको जीवन कालमा दुई प्रमुख विचारधाराहरू थिए । जसको परिणामस्वरुप जीवनका दुई भिन्न दृष्टिकोण र मार्ग अस्तित्वमा आए । एउटा विचार थियो अभ्युदय र अर्को थियो निश्रेयस । अभ्युदय भनेको सांसारिक सुख जसका लागि यज्ञ–याग, बलिप्रथा र कर्मकाण्डलाई अत्यधिक महत्त्व दिने विचार हो । यस अनुसार गर्नेले इहलोक र परलोक दुवैमा सबैथोक प्राप्त गर्नसक्छ भन्ने मानिन्थ्यो । तर यसमा समय, शक्ति र धनको अत्यधिक आवश्यकता पर्ने तर त्यसको दाजोमा प्राप्त प्रतिफल नगण्य हुने अनुभव समाजले गर्यो । यस सिद्धान्तको प्रतिक्रियास्वरुप निश्रेयस सिद्धान्तको प्रतिपादन भयो । यो अवधारणा उपनिषद्का ऋषिहरूले प्रस्तुत गरेका थिए । उनीहरूले यस्तो जीवनको पक्ष लिए जहाँ सबै कर्मको त्याग गरिन्छ । र केवल जीवित रहनका लागि आवश्यक कर्म गरेर आफु भित्र निरन्तर खोजी गर्नुलाई जीवनको उद्देश्य मानिन्थ्यो ।

आआफ्ना स्वभावको आधारमा यी दुई दृष्टिकोण वा मार्ग ब्राह्मण–क्षत्रिय वा अन्य बढी सम्पन्न, दक्ष र समाजलाई प्रभाव पार्न सक्ने वर्गसम्म सीमित हुन पुगे । आध्यात्मिक मार्गका थुप्रै आकांक्षी हुँदाहुँदै पनि समाजका बहुसंख्यक मानिस अन्यौल अवस्थामा रहे । गीताको निष्काम कर्मयोगको सिद्धान्तले दुवैलाई समन्वय गर्यो र बहुसंख्यकलाई आफुतिर आकर्षित गर्यो ।

बुद्धिमान र चतुर नेता भएकाले श्रीकृष्णले प्रचलित यज्ञ परम्परालाई त स्वीकार गर्छन् तर उनले त्यसमा परिवर्तन गर्ने र त्यसबाट अझ टाढा जाने बाटो पनि पहिल्याउँछन् । प्रजापतिले यज्ञ वा बलिदानको प्रथा मानिस र देवहरू बीच कडीको रुपमा रचेका थिए । यसबाट उनीहरू आपसी सहायता र सहयोग गर्दै समृद्ध हुन जाने सिद्धान्त प्रतिपादन उनले गरेका थिए । (गीता ३.१०–११) तर यज्ञ वा बलिदान केवल विशिष्ट अग्निमा नै गर्नु पर्छ छैन । व्यक्तिको कुनै पनि कार्य, जसमा स्वार्थको त्याग निहित छ र जुन मानवकल्याणका लागि गरिन्छ, यज्ञ हुन सक्छ भन्ने सिद्धान्त गीताले प्रतिपादन गर्यो । (गीता ४.२५–३०)

सन्न्यास अर्थात् सबै काम्य कर्म (कामना प्रेरित कार्यको) त्यागलाई गीतामा प्रतिपादन गरिएको छ । यस अनुसार सर्वकर्मफल अर्थात् कार्यका परिणामको त्याग कसरी गर्ने भन्ने कुरा व्याख्या गर्दै गीतामा भनिएको छ– यज्ञ, दान र तप सदृश कर्मको त्याग गर्नु हुँदैन भनेका छन् । किनभने यी क्रियाकलापले मनलाई शुद्ध गर्छन् । (गीता १८.२–५) तर यी क्रिया पनि आसक्ति वा फल कामनारहित भावले कर्तव्यरुपमा सम्पन्न गर्नु पर्छ । वास्तवमा व्यक्तिलाई कर्मले होइन बरु त्यसका परिणामको कामनाले पासोमा जेल्छ (गीता ९.२०–२१)। शरीरधारीका लागि कर्म अपरिहार्य भएको तथ्यलाई सहजै स्वीकार गरी आत्मसंयम राखेर तथा फलकामना त्यागेर यज्ञ रुपमा कर्महरू सम्पन्न गर्नु नै श्रेयस्कर छ ( गीता ३.५–१२,१९)। यसरी जसले कर्म गर्छ उ सन्न्यासी र योगी दुवै हुन्छ । अनि अर्को उपाय हो, ईश्वर समर्पित कर्म गर्दै त्यसको परिणाम पनि उनैलाई अर्पित गरीदिनु (गीता ५.१०,१२, ११.५५, १२.६–११) । लोकसंग्रहका दृष्टिले पनि कर्म गर्नु आवश्यक छ, मानिसलाई सन्मार्गको बाटो देखाउनु समाजका नेताहरूको अनिवार्य कर्तव्य हो (गीता ३.२०,२५)।

यसरी उचित भावनाले गरिएको कर्मले पनि मोक्ष (मुक्ति) वा पूर्णत्वतर्फ लैजान सक्छ । यो ज्ञान कुनै पनि किसिमले कम प्रभावकारी छैन । धेरै अघि जनक जस्ता अनेक महान व्यक्तिहरूले कर्म मार्गद्वारा पूर्णत्व प्राप्त गरेका थिए (गीता ३.१९,२०)। तिनीहरू मात्र होइन, स्वयं श्रीकृष्ण पनि त्यस्तै मानिस हुन् । निरन्तर समाजमा रहेर कर्म गर्दै अज्ञानीहरू समक्ष कर्म–कुशलताको त्यो आदर्श राखे जसले ब्रह्मानन्द समेत प्रदान गर्नेछ ( गीता ३.२१–२६) ।

अर्जुन आध्यात्मिक ज्ञानका निष्ठावान जिज्ञासु थिए । सकाम कर्म वा कामनाहरूबाट प्रेरित कार्यहरूमा रुचि थिएन । तर पनि उनका लागि त्यो मार्ग उचित थिएन जसमा सबै कर्मको त्याग गर्नु पर्छ । त्यसैले कृष्णले के घोषणा गरीदिएका छन् भने उसको सामथ्र्य केवल कार्य गर्नु हो, त्याग गर्नु होइन । तर उसले परिणामतर्फ ध्यान होइन कर्मतिर ध्यान केन्द्रित गर्नु पर्छ (गीता २.४७)।

यससंगै जोडिएको स्वधर्मको अर्थ हो, धर्म वा कर्तव्य । यस्तो धर्म जुन मानिसको निजी हो र कुनै मानिसलाई उसको प्रकृति पालनद्वारा प्राप्त हुन्छ साथै धर्मशास्त्रद्वारा निर्धारित छ । के भन्नु नपर्ला भने स्वधर्म नै पहिलो धर्म हुनुपर्छ । यस्ता स्वधर्मलाई कहिल्यै पनि त्याग्नु हुँदैन । स्वधर्माचरणले महान् पुण्य प्राप्त हुन्छ । उसलाई त्याग्नु पाप हो (गीता २.३१–३३)। परधर्म (अरुको धर्म, जुन आफ्नो अनुकूल छैन) गर्नुभन्दा जति नै अपूर्ण लागे पनि स्वधर्म गर्दै मर्नु कैयौं गुना श्रेयस्कर छ ( गीता ३.३५)।

”स्वामी दयानन्दका जीवन र उपदेशको प्रभावले नेपालमा स्वतन्त्रताको शंखध्वनि गर्ने प्रथम व्यक्ति शुक्रराजले पनि गीताका कर्मयोगको व्याख्या गरेर नेपालीहरु भित्र स्वतन्त्रता चेत उत्पन्न गरेका थिए । सम्भवतः यसको प्रभावले गर्दा नेपालमा प्रजातन्त्रको नयाँ युग सुरु भएको हो ।”

२. योगको समन्वय

हुनत, योग एउटै छ तर कर्मठ, चिन्तक, भावुक र मन–संयमी जस्ता भिन्न भिन्न मानसिक अवस्थाका चार मार्गमा यसका शाखा फैलिएका छन् । कर्मठ व्यक्तिका लागि कर्मयोग उपयुक्त हुन्छ भने चिन्तकका लागि ज्ञानयोग, भावुकका लागि भक्तियोग र बुद्धिवादीका लागि राजयोग वा मनोनिग्रहको मार्ग उपयुक्त हुन्छ । यी मध्ये प्रत्येक योग सत्यको अनन्त क्षितिजमा प्रस्फुटित हुन्छ र ईश्वरसित एकाकार गराउँछ । गीताले यी सबैको वर्णन गर्छ ।

गीतामा श्रीकृष्णले योग शब्दको उपयोग विभिन्न अर्थमा गरेका छन् । उदाहरणार्थ २.४८,५० र ६.२ मा यसको अर्थ कर्मयोग हो । ६.१,२ र १५ मा यसको संकेत राजयोगलाई छ । ५.८ मा युक्त शब्दलाई ज्ञानयोगीको सन्दर्भमा प्रयोग गरिएको छ । अनि ८.१४ मा नित्युक्त शब्दले भक्तियोगी भनेर बुझिन्छ ।

अर्को ध्यान दिनु पर्ने कुरा के हो भने श्रीकृष्णले यी चारवटै योग एउटै मानिस–अर्जुन–लाई सिकाएका छन् र तिनीहरूको अनुसरण गर्नका लागि उसलाई प्रेरित पनि गरेका छन् । यसबाट निसंकोच के निर्णय गर्न सकिन्छ भने गीताको योग एक समुचित आध्यात्मिक साधना हो । जसले त्यस साधनाका चारवटै पक्षलाई समन्वित गर्छ । तर पनि अर्जुन जुन मनोविज्ञानयुक्त थियो, उसका लागि कर्मयोग नै बढी अनुकूलको थियो । त्यसैले श्रीकृष्णले उसलाई युद्धका लागि प्रेरित गरेका हुन् ।

गीताको निष्कर्ष घाम जस्तै छर्लंग छ । गीताले साधकलाई चारवटै योगका सन्तुलित मिश्रणको अभ्यास गर्न प्रेरित गर्छ । जुन आफ्नै प्रकृतिका लागि बढी अनुकूल हुन्छ त्यस योगलाई साधकले मुख्य साधना बनाउनु पर्छ । तर उचित अनुपातमा अन्य योगहरुलाई पनि मिसाउनु पर्छ । यही निर्णय न्यायसंगत छ । कुनैपनि मानिसमा केवल एउटा शक्ति मात्र हुँदैन अघि भनिएका चारवटै शक्तिहरू हुन्छन् । तर चारवटै शक्तिको अनुपात भने प्रत्येकमा फरक फरक पाइन्छ । श्रीकृष्णले आफ्ना सबै शिष्यलाई युद्ध सिकाएका छैनन् । अन्य शिष्यमध्ये कसैलाई भक्ति र कसैलाई कर्मकाण्डमा परिवर्तन पनि सिकाएका छन् । भागवत्मा उद्धवलाई उपदेश दिंदा श्रीकृष्णले भक्ति सिकाएका छन् । यसबाट श्रीकृष्णले मानिसको प्रकृतिलाई ध्यानमा राखेको देखिन्छ ।

३.अवतार सिद्धान्त

ईश्वर अवतारको सिद्धान्त हिन्दु दर्शन र धर्म साहित्यमा गीताको एक अनुपम योगदान हो । अनुमानतः अवतारको धारणा स्वयं ऋग्वेदमा संकेत गरिएको छ (ऋग्वेद ३.५३, ८ः६.४७,१८) । पुराणोक्त दशावतारको सूचीमा केहीको उल्लेख शतपथ ब्राह्मणमा पाइन्छ (१.८,१–६,१.२.५.१)। तथापि केवल गीतामा यसको सुनिश्चित र स्पष्ट धारणा पाइन्छ ।

जुन योग उनले विवस्वानलाई सिकाए र जो उनले मनुलाई दिए त्यो कालप्रभावले लुप्त भएको थियो, यो कुरा श्रीकृष्णले भन्नु हुँदा यसमा स्वाभाविक रुपमा अर्जुनले अविश्वास गर्छन्– तपाईं जस्तो समकालीन मानिसले त्यति प्राचीन मानिसलाई कसरी सिकाउनु भयो (गीता ४.१–४) ? अनि श्रीकृष्णले के सत्य प्रकट गर्छन् भने दुवैका अनेकौं जन्महरू भइसकेका छन् तर अर्जुनले विवश भएर प्रारब्ध कर्म (जन्मका लागि उत्तरदायी अवशेष कर्म) का कारण शरीर प्राप्त गरेको छ त्यसैले उसलाई यस बारेमा कुनै जानकारी छैन । तर श्रीकृष्ण परमेश्वर भएकाले स्वप्रेरणा र स्वेच्छाले उच्च उद्देश्यका लागि यो जन्म स्वीकार गरेका छन् ।

धर्म वा नैतिकता नै सृष्ट विश्वलाई सुचारु संचालन गर्ने मूल तत्त्व हो । किनभने यो विश्व तीन गुण– सत्व, रजस्, र तमस् को सृजन हो । यी तीन गुण अविराम प्रवाहित भइरहन्छन् त्यसैले के स्वाभाविक छ भने कहिले कुन र कहिले कुन सर्वोपरि हुनजान्छ । कहिले काहीं सत्त्वको अधोगति हुन्छ र रजस् वा तमस् उध्र्वगति हुन्छ धर्मको पतन हुन्छ र अधर्मको चकचकी हुन जान्छ । मानव इतिहासको यस्ता संक्रमण कालमा परमेश्वर सन्तुलन पुनस्र्थापित गर्नका लागि मानव रुपमा आफैं आउने कुरा निश्चित गर्छन् । हुनत, उनी अजन्मा, अनन्त र सबै प्राणीका प्रभु हुन् तर आफ्नो माया शक्ति (जसलाई प्रकृति पनि भनिन्छ) को सहारा लिएर अवतरित हुनसक्छन् । आवश्यकता अनुसार हुने गर्छन् (४.६,७) । अवतारको मूल उद्देश्य धर्मसंस्थापन वा दृढ जगमा धर्मलाई स्थापित गर्नु हो । यस प्रक्रियामा जरुरी परेमा दुष्टको संहार वा प्रताडन गर्छन् र यस्तो गरेर सज्जनको रक्षा गर्छन् (गीता ४.८) ।

ईश्वरको यो मानव काया जुनसुकै स्थान र समयमा अवतरण हुनसक्छ । तर यसको अनिवार्य सर्त हो, धर्मको पतन र अधर्मको उध्र्वगति (४.७) यति बढी हुन जाओस् कि सज्जनहरूलाई दुर्जनका दयाको पात्र भएर बाँच्ने बाध्यता हुन जाअओस् ।

श्रीकृष्णद्वारा थप आश्वासन के पनि छ दिइएको छ भने उनको अवतारको रुप, जन्म र कार्यको महिमा जसले बुझ्न सक्छ उसले मुक्ति प्राप्त गर्छ ।

४.पुनर्जन्म

ईश्वरको अवतार भए जस्तै जीवको पुनर्जन्म हुन्छ । दुवैमा अन्तर के हो भने ईश्वरको अवतार स्ववश छ भने जीवको परवश । जन्म कर्मको प्रभाव अनुसार जीवले विभिन्न योनिहरुमा जन्म लिएर त्यसको फल भोग्नका लागि जन्म लिनु पर्छ । तर यसका साथै अझ उन्नतिका लागि प्रयास गर्न भने उ स्वतन्त्र हुन्छ । यस आत्मिक उन्नतिका लागि अवसरको रुपमा पुनर्जन्म भइरहन्छ । आत्माको अमरता सिद्धान्त उपनिषदबाट ग्रहण गरेकोले त्यसलाई गीताको मौलिक सिद्धान्त भन्न सकिंदैन । तथापि पुनर्जन्म सिद्धान्तलाई गीताले वैज्ञानिक स्वरुप प्रदान गरेको छ भन्न सकिन्छ । मानवभित्र निहित चेतना, जुन शरीरको वास्तविक स्वामी हो, लाई शरीरी भनिएको छ । यसको अमरता प्रतिपादन गर्न यसलाई अच्छेद्य, अदाह्य, अक्लेद्य, अशोष्य, नित्य, सर्वव्यापक, स्थाणु, अचल र सनातन आदि विशेषताहरु दिइएको छ । (२.२३–२४) मानिसका मन, विचार, कामनाहरु एक शरीरदेखि अर्को शरीरमा हस्तान्तरण हुँदै जान्छन् भनिएको छ । पुनर्जन्म सिद्धान्तले मानिसलाई उचित र श्रेष्ठ कर्म गर्ने प्रेरणा प्राप्त हुन्छ ।

उपसंहार

महाभारतको एक अंश भए तापनि एक स्वतन्त्र कृतिको रुपमा गीता महाकाव्यले आफ्नो मर्यादा कायम गर्न सकेको छ । कुरुक्षेत्र युद्ध भूमिमा यसलाई प्रतिपादित गरिएको कुरा सत्य हो तर युद्ध, मारकाट वा रक्तपातसंग यसको कुनै यथार्थ सम्बन्ध भने छैन । जति नै अप्रिय लागे पनि आफ्नो जीवनका पवित्र कर्तव्य पालन गर्नु पर्छ भन्ने कुरा संगमात्र यसको सम्बन्ध छ । गीताको उपदेशमा दिइएको परिस्थितिमा अर्जुन जस्ता क्षत्रियले युद्ध गर्नु उसको कर्तव्य हो भनी समझाइएको मात्र छ । युद्धका लागि उक्साइएको भन्न मिल्दैन । गीताको अन्तमा अर्जुनको स्वेच्छालाई स्पष्ट शब्दमा भनिएको छ– यथेच्छसि तथा कुरु– तिमीलाई जे ठीक लाग्छ, त्यो गर (१८.६३) । अर्जुनलाई युद्ध नगर्ने स्वतन्त्रता पनि छ । मेरो स्मरण गर अनि क्षत्रियोचित कर्तव्य पूरा गर इत्यादि भनेर अति प्राचीन कालमा श्रीकृष्णद्वारा अर्जुनलाई जुन उपदेश दिइएका छन् तिनीहरुले आजका जटिल समस्यामा हामीलाई सहायता र प्रेरणा प्रदान गरी नै रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट