शुक्रबार, माघ ७, २०७८
श्रीस्वस्थानी ब्रतकथा पहिले नेपालभाषामा लेखियो, जसमा शिव पार्वती थिएनन् – स्वस्थानीमा पीएचडी गर्ने अमेरिकी डा. जेसिका

श्रीस्वस्थानी ब्रतकथा पहिले नेपालभाषामा लेखियो, जसमा शिव पार्वती थिएनन् – स्वस्थानीमा पीएचडी गर्ने अमेरिकी डा. जेसिका

श्रीस्वस्थानी कथा ज्ञानको ठूलो भण्डार हो - भारतको नियन्त्रणमुखी हैसियतसँग जुध्न तथा नेपालको छुट्टै संस्कृति र इतिहासलाई बाहिर ल्याउन हिन्दु ग्रन्थको अध्ययन हुनुपर्छ ।


  • स्वदेश नेपाल
  • शुक्रबार, माघ ७, २०७८

नेपालका प्रायः सबै हिन्दु परिवारका लागि ‘स्वस्थानी व्रतकथा’को परिचय दिइराख्नुपर्दैन । स्वस्थानीलगायत नाना देवीदेवताहरूका अनेकन कथाहरू ३१ अध्यायमा उनेर एकैजस्तो बनाइएको यो कथा हरेक वर्ष माघ महिनाभरि कतिपय हिन्दू महिलाको दैनिक जीवनको अङ्ग बन्छ । तर, नेपाली ग्रामीण समाजमा यस कथासँग सम्बन्धित परम्परा लोकपि्रय नै रहे पनि शिक्षित समुदायले भने स्वस्थानी व्रतकथा महिलाविरोधी एवं पितृसत्तात्मक भएको आवाज उठाउन थालेको छ ।

हाल अमेरिकाको पेनस्टेट विश्वविद्यालयमा एसियाली अध्यययन, महिला अध्ययन, लैंगिकता तथा यौनिकता पढाउने जेसिका भेन्टिन बिर्कन्होल्ज  करिव २७  वर्ष अगाडि नेपाल आउँदा स्वस्थानी व्रतको परम्परा देखेर अचम्ममा परिन् ।

आफू लैंगिकताको विद्यार्थी भएका कारण उनले यसमा विशेष चासो देखाइन् । पुरुषत्वकै बखान गर्ने कथा भए पनि स्वस्थानी देवी आफैँमा कुनै पुरुषबिना अस्तित्वमा रहेकाले उनलाई यो परम्परा एक हिसाबले पितृसत्तावादी र अर्को हिसाबले नारीवादी लाग्यो ।

करिब दुई वर्षअगाडि स्वस्थानी व्रतकथाको परम्पराबारे एक पुस्तक नै प्रकाशित गरेकी बिर्कन्होल्ज हाल यसलाई अङ्ग्रेजीमा उल्था गर्न तल्लीन छिन् । अनलाइनखबरसँग दुई बर्ष  अघि  कुरा गर्दा उनले लैङ्गिक दृष्टिकोणबाट स्वस्थानीको व्याख्या मात्र गरिनन्, यस परम्परासँग सम्बन्धित केही ऐतिहासिक तथ्यहरूको पनि रहस्य खोलिन् ।

तपाईँले स्वस्थानी व्रतकथाबारे पहिलोपटक कहिले र कहाँ सुन्नुभयो ? अनि किन यसको अध्ययन थाल्नुभयो ?

सन् १९९६ मा म पहिलोपटक नेपाल आएकी थिएँ । त्यसबेला मैले एउटा किताबमा स्वस्थानी देवीका बारे पढेँ । तत्कालै मलाई यो कथा रमाइलो लाग्यो र एक महिनाको थप अध्ययन गरेँ । त्यसपछि म फर्किएँ । यसको विस्तृत अध्ययन भने मैले अलिक पछाडि नै सुरु गरेकी हुँ । सन् २००३ मा सुरु गरेर सन् २००६ तिर सकेँ होला । मैले आफ्नो औपचारिक अध्ययनको शोधपत्रका लागि उक्त अध्ययन गरेकी थिएँ ।

स्वस्थानी कथामा एकातिर महिलाको विषय थियो भने अर्कातिर यो एक पुरानो परम्परा थियो । परम्परा र महिला : दुवै मेरो चासोका विषय भएकाले मैले आफ्नो शोधपत्रका लागि स्वस्थानीलाई रोजेँ । फेरि स्वस्थानीको परम्परा नेपालभरि प्रायः प्रचलित रहे पनि यसबारे नेपाल बाहिर कसैलाई पनि खासै थाहा छैन । स्वस्थानी व्रतकथा आफैँ बाहेक यस विषयमा अन्य ग्रन्थहरू पनि छैनन् । स्वस्थानी देवी आफैँमा एक रहस्य हुन्, यिनलाई बुझ्न कठिन छ, तर समग्र हिन्दु धर्मलाई बुझ्न उनलाई बुझ्नु जरुरी पनि छ ।

मेरो अध्ययन स्वस्थानी देवीलाई बुझ्नका लागि थिएन, स्वस्थानी व्रतकथाको परम्परा बुझ्नका लागि थियो । १६औँ शताब्दीमा सुरु भएको ‘महिला केन्दि्रत’ यो परम्परा आधुनिक कालमा पनि उल्लेख्य चर्चामा छ । हुन त १६औँदेखि २१औँ शताब्दीसम्म आइपुग्दा यसमा धेरै परिवर्तनहरू आए । त्यसैले मैले यी परिवर्तन केके हुन् र तिनीहरू नेपालको सामाजिक, सांस्कृतिक तथा धार्मिक इतिहास र पहिचानसँग कसरी सम्बन्धित छन् भन्ने बुझ्न चाहेँ ।

तर, यी सबै विषयवस्तु त तपाईँका लागि नौला थिए नि । कसरी अध्ययन गर्नुभयो ?

मेरो मुख्य ध्यान स्वस्थानी व्रतकथाको ऐतिहासिक विकासमा भएकाले अध्ययनको सुरुवाती चरणमा अधिकांश समय केशर पुस्तकालय र आशा सफु कुठी लगायतका पुस्तकालयमा बिताएँ । साँखुमा पनि धेरै समय बिताएँ । यसबेला मैले स्वस्थानी व्रतकथाका विभिन्न पुस्तकहरू सङ्कलन गरेर पढेँ । मैले करिब ८०० प्रकारका स्वस्थानीका किताब फेला पारेँ र तीमध्ये १२५को जाँच गरेँ । त्यसमध्ये पनि प्रकाशन मिति उल्लेख गरिएका, आकारप्रकार नबिगि्रएका र पूरा कथा भएका करिब दुई दर्जन छानेर पढेँ ।

अध्ययनका क्रममा मैले प्रवीणराज श्रेष्ठ, ऐश्वर्यधर शर्मा, ज्वाला स्थापित तुलाधर र प्रकाशमान श्रेष्ठ लगायतका स्थानीयहरू, विद्वान्हरू र इतिहासविद्हरूलाई पनि भेटेँ अनि अन्तर्वार्ता गरेँ । उनीहरूले मलाई कथा बुझ्न र यस संस्कृतिको महत्व थाहा पाउन सहयोग गरे । त्यसपछि उनीहरूले मलाई अरू धेरै मानिसहरू भेटाइदिए । मैले उनीहरूसँग पनि अन्तवार्ता गरेँ ।

फरकफरक समयमा नेपाल आउँदा मैले नेपाली, नेपाल भाषा र संस्कृत सिकेँ । स्वस्थानी व्रतकथा र यससँग सम्बन्धित विभिन्न संस्कारहरूको नजिकैबाट अवलोकन गरेँ । म आफैँ व्रत त बसिनँ, तर धेरै व्रतालुहरूसँग धेरै दिन साँखुमा बसेँ । म उनीहरूसँगै सबेरै उठ्थेँ र उनीहरूलाई पछ्याउँथेँ । संस्कृति बुझ्नका लागि उनीहरू सबै क्रियाकलापलाई नजिकबाट हेर्थेँ ।

यस क्रममा धेरै समस्याहरू पनि भोग्नुपर्‍यो । पहिलो कुरा त भाषाको समस्या । सुरुसुरुमा म राम्ररी नेपाली बोल्न जान्दिनथेँ । स्रोत सामग्रीमा पहुँच पनि कठिन थियो, कतिपय अध्ययन सामग्री सहजै उपलब्ध थिएनन् । त्यतिबेलाको लोडसेडिङ र माओवादी युद्धका कारण पनि केही समस्या भए । समग्रमा धेरै दुःख गर्नुपर्ने र लामो प्रक्रिया थियो, तर उपलब्धि पनि राम्रै भयो ।

तपाईँले स्वस्थानी व्रतकथालाई कस्तो पाउनुभयो त ? अध्ययनका क्रममा केके कुरा रमाइला लागे ?

नेपाल बाहिर कसैलाई हिन्दु धार्मिक ग्रन्थबारे सोध्नुभयो भने सबैभन्दा प्रशिद्ध दुई कृतिको नाम आउँछ : रामायण र महाभारत । तर मेरो अध्ययनमा, अध्ययनका लागि, स्वस्थानी व्रतकथा पनि यी दुई ग्रन्थ वा अन्य कुनै पुराण वा वेदभन्दा कम छैन ।

सुरुमा त मलाई स्वस्थानी देवीको नामको अर्थ खोज्नै गाह्रो भयो । यी देवीको नामसँग अभ्यासमा रहेका संस्कारहरू अनि पुस्तकमा समेटिएका कथाहरूलाई जोड्नु पनि उत्तिकै कठिन । कथामा उल्लेखित सङ्केतहरूको अध्ययनका लागि आवश्यक विद्या र आधुनिक समयभन्दा अन्यत्र देवीको दृश्यात्मक प्रस्तुतिको अभाव अनि माधव नारायणका मूर्तिहरू पनि स्वस्थानी नै हुन् कि भनेर जनमानसमा रहेको द्विविधा पनि अध्ययनका लागि आकर्षक रहे ।

पाठ्यसामग्रीकै प्रमाणका आधारमा चाखलाग्दो कुरा के छ भने हामी त्यसमा एउटा स्पष्ट परिवर्तन देख्न सक्छौँ । परम्परा सुरु भएपछिका सुरुवाती दुई सय वर्षसम्म गोमा, चन्द्रावती, नवराज र स्वस्थानी देवीकै कथा प्रचलनमा थिए । त्यसपछि मूलतः तीन भाग थप गरिएका छन् । पहिलो : शिवपार्वतीको कथा, दोस्रो : मधुकैटव वध लगायतका संसारको सृष्टिबारेका कथा, अनि तेस्रो : कामदेव, वृन्दा लगायत अन्य पात्रका कथा ।

कथामा आएको यस्तो परिवर्तनका कारण, आज समग्र कथामा दुईतिहाइजति भागत त शिवकै बारेमा छ । अन्तिमको भाग मात्र खास स्वस्थानीबारे छ ।

फेरि नेपाल (नेवारी) भाषा र नेपाली भाषामा उपलब्ध पुस्तकको तुलना गर्दा नेपाल भाषाका कथाहरू बढी विविधतापूर्ण छन्, तिनमा फरकफरक दृष्टिकोण छन्, सबैका लागि समानजस्ता छन् । नेपाली भाषाका कथाहरू सङ्ख्यामा धेरै छन् र ती सबै हिन्दु पहिचान अनि पितृसत्ता स्थापना गराउनका लागि राखिएजस्ता छन् ।

स्वस्थानीको कथालाई यसरी परिवर्तन गरियो भन्ने तपाईँको भनाइ पछाडि केके आधार छन् ?

यस्तो परिवर्तन किन र कसरी भयो भन्ने ठोस प्रमाण त छैन । तर पनि उपलब्ध पाठ्यपुस्तकका मिति, छापिएका किताब, तिनको भाषा आदिलाई नेपाल तथा भारतको ऐतिहासिक विकास क्रमसँग जोडियो भने केही सङ्केत पाउन सकिन्छ । उपलब्ध सामग्रीका आधारमा भन्न सकिन्छ कि पहिला नेपाल संवत् ६९३मा (सोह्रौं शताब्दीतिर) जयन्त देवले नेपाल भाषामा स्वस्थानी कथा लेखे । त्यतिबेला काठमाडौँ उपत्यकामा नेवार राजहरू थिए ।

तर १८औँ शताब्दीपछि भने नेपाली भाषामा स्वस्थानी कथा प्रचलनमा आएको हामी देख्न सक्छौँ । उपत्यकामा शाह राजाहरूको शासन सुरु भएसँगै तथा भारतमा बेलायती साम्राज्यको प्रभावसँगै स्वस्थानीको नेपाली संस्करण प्रचलनमा आयो । हुन त ठोस प्रमाण केही पनि छैन, यो अनुमान मात्र हो, सायद धेरै पटक स्वस्थानी व्रतकथामा परिवर्तन र थपथाप गरिएकाले पनि होला । यी परिवर्तनले नेपाल मण्डल बाहेक अन्यत्र पनि ध्यान केन्दि्रत गरिएको र सामाजिक तथा राजनीतिक परिवर्तनको असर कथामा परेको देखिन्छ ।

यद्यपि स्वस्थानी देवीबारेकै कथा, कथामा उनको भूमिका तथा महत्व र माघे व्रतका क्रममा व्रतालुले गर्ने क्रियाकलापमा भने केही परिवर्तन भएको छैन । व्रतालुका विश्वासहरू बदलिएका छैनन् ।

स्वस्थानी माताको तस्वीरबारे तपाईँले आफ्नो पुस्तकमा भन्नुभएको छ कि ‘आत्मनिर्भर अनि पुरुष साथीबाट नियन्त्रण नगरिएकी स्वरूपमा देवीको चित्रण अनौठो छ ।’ तपाईँलाई कसरी यी देवी आत्मनिर्भर र पुरुषको नियन्त्रण बाहिरकी लागिन् ?

मिथकहरूमा महिलालाई प्रायः दुई स्वरूपमा देखाइएको हुन्छ । पहिलो : शान्त, भद्र र नरम, अनि सधैँ उनीहरूका पतिका साथमा रहने, जस्तो : पार्वती । अनि दोस्रो : अविवाहित तथा पुरुष साथीबिना एक्लै रहेकी, अनि आक्रमक र लडाकु स्वभावकी, जस्तो : दुर्गा वा काली ।
तर, स्वस्थानी देवी एक जटिल चरित्र हुन् र अन्य सबैभन्दा फरक छिन् । शान्त र भद्र भईकन पनि उनलाई चन्द्रावतीको कथामा उग्र र माफी दिन नसक्ने जसरी देखाइएको छ ।

उनका साथ कुनै उल्लेख्य पुरुष छैनन् भनी मानिसहरू मान्दछन् । स्वस्थानी व्रतका केही प्रचलित कथाहरूमा भने उनलाई शिवका साथमा देखाइएको छ । काठमाडौँको मखनमा भएको एक मूर्ति लगायत केही स्थानमा पनि उनलाई शिवका साथ रहेको देखाइएको छ । तर पनि अझ लोकपि्रय बुझाइ भनेको साँखुमा भएजस्तो अष्टमातृकाका बीचमा, कमलको फूलमा बसेकी स्वस्थानी नै हुन् ।

त्यसोभए स्वस्थानी व्रतकथाको परम्परालाई नारीवादी दृष्टिकोणबाट कसरी हेर्नुपर्ला ?

कथाको कुरा गर्नुहुन्छ भने समग्र व्रतकथाभित्रका ससाना कथा पितृसत्तावादी छन्, र त तिनको धेरै आलोचना भएको छ । सतीदेवीको आत्मदाह, गोमाको बालविवाह र वृन्दाको बलात्कारलाई मान्यता दिइएको छ । यद्यपि केही मानिसहरू भने यस्ता कथाले महिलालाई सशक्त भएको, सङ्घर्ष गरेर सफलता पाएको स्वरूपमा देखाएको मान्छन् र समग्र कथालाई आज पनि सान्दर्भिक एवं सिकाइमूलक भएको दाबी गर्छन् ।

तपाईँ यसलाई कसरी हेर्नुहुन्छ भन्ने कुरा हो । तपाईँ कहाँ बसेर, कथाको कुन पक्षलाई जोडेर बोल्दै हुनुहुन्छ भन्ने कुरा बुझ्नु महत्वपूर्ण छ । त्यसै अनुसार के कुराले महिलालाई सशक्त बनायो वा केमा सहमत हुन सकिएन भन्ने निर्धारण हुन्छ ।

मेरो बुझाइमा प्रायः नेपालीमा लेखिएका पुस्तकमा पाइने स्वस्थानीका कथाहरू ब्राहृमण पुरुषले ब्राहृमण पुरुषका लागि लेखेका नियन्त्रणमुखी दस्ताबेज हुन् । यिनले कुनै नारीकेन्दि्रत आवाज मुखरित गर्दैनन् । सायद् हिन्दु, ब्राहृमण संस्कृति र शासकहरूको प्रभाव परेको होला ।

एक नारीवादीका रूपमा मैले व्यक्तिगत तहबाट भन्नुपर्दा स्वस्थानीलाई नारीवादी कथाका रूपमा हेर्न सकिदैन । विश्लेषक भएका नाताले मलाई कसैले स्वस्थानी पढोस् तर आलोचना नगरोस्, प्रश्न नगरोस् वा ‘हाम्रो संस्कृति हो, त्यसैले मान्नुपर्छ’ भनेर भनोस् भन्ने सोच्न कठिन हुन्छ ।

हालसालै, रामायणको कथालाई सीताका आँखाबाट हेरेर ‘सीतायन’ प्रकाशित भएको छ । म स्वस्थानी कथामा पनि यस्तै नारीवादी दृष्टिकोणबाट पुनव्र्याख्या होस् भन्ने चाहान्छु । त्यसपछि हामी केही फरक देख्न सक्छौँ, फरक बहस सुरु हुन सक्छ ।

भनेपछि तपाईँको विचारमा स्वस्थानीमा अझै धेरै अध्ययन हुनुपर्छ, अर्थात् यसको सान्दर्भिकता समाप्त भइसकेको छैन ?

स्वस्थानी व्रतकथा ज्ञानको ठूलो भण्डार हो । यसको अध्ययन गर्दैमा पनि हामी कथा कसरी बदलिए, लेखोट कहाँ-कहाँ पुगे, केके थपिए, तिनमा केके समानता वा भिन्नता छन् थाहा पाउन सक्छौँ । अर्थात्, ती सबै पक्षको अध्ययन हुनुपर्छ ।

मैले यसको थप अध्ययन हुनुपर्छ भन्नुको अर्को (राजनीतिक) कारण पनि छ । आज अमेरिका लगायतका देशमा हिन्दु धर्म वा दक्षिण एसियाका बारेमा अध्ययनको कुरा हुँदा मूलतः भारतको अध्ययनलाई हिन्दु अध्ययन वा दक्षिण एसियाली अध्ययनको पर्यायका रूपमा लिइन्छ । नेपालबारे हुने अध्ययनलाई भारतीय अध्ययनको विस्तार मात्र मानिन्छ । अतः (भारतको) नियन्त्रणमुखी हैसियतसँग जुध्न तथा नेपालको छुट्टै संस्कृति र इतिहासलाई बाहिर ल्याउन यस्ता हिन्दु ग्रन्थको अध्ययन हुनुपर्छ ।

म अहिले नेपालीबाट स्वस्थानी व्रतकथालाई अङ्ग्रेजीमा उल्था गर्दै छु । यो मैले पहिल्यैदेखि गर्न चाहेको काम हो । नेपाली, नेवारी वा संस्कृत भाषमा भएको कथालाई नेपालीभाषी बाहेक विश्वका अन्यले पढ्न पाएका छ्रैनन् । यदि अन्य समुदायका लागि पनि यो ग्रन्थ उपलब्ध हुने हो भने यसले स्वस्थानीको कथा, यसबाट सिक्न सकिने पाठ, यसको ऐतिहासिक तथा मिथकीय महत्वसँगै कथामा आएका परिवर्तनबारे नयाँ बहस सुरु हुन्छ । मलाई लाग्छ यस प्रक्रियाले नारीवादी दृष्टिकोणबाट पनि यहाँ सङ्कथन सुरु गर्न सक्छ ।

साभार – अनलाइनखबरमा नसना बज्राचार्यको आलेखबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट