बिहिबार, माघ ६, २०७८
चिनियाँ राजाको मुकुटमा रञ्जना लिपिमा कुँदिएको सँस्कृतको वीजाक्षर मन्त्र भेटिएपछि

चिनियाँ राजाको मुकुटमा रञ्जना लिपिमा कुँदिएको सँस्कृतको वीजाक्षर मन्त्र भेटिएपछि

पाटनको हिरण्यवर्ण महाबिहारमा सुनले कुँदिएको रञ्जना लिपिमा रहेको ‘प्रज्ञापारमिता’ सबभन्दा पुरानो किताब मानिन्छ।


  • स्वदेश नेपाल
  • बिहिबार, माघ ६, २०७८

”ॐ आः हूँ” – सँस्कृत भाषाको यो शब्द वीजाक्षर मन्त्र हो। वीजाक्षर, अर्थात भगवान पुकार्ने छोटो तरिका।

यो मन्त्र लेख्नु वा पढ्नुको अर्थ हुन्छ– ब्रह्ममाण्डको शक्ति आफूमा समाहित गर्नु।

१७ औं शताब्दीमा चीनको छ्वान राज्यका राजाको मुकुटमा यो मन्त्र कुँदिएको छ। यो मन्त्रसँगै बौद्धधर्मको मन्त्र ‘ॐ मणिपद्मे हूँ’ पनि लेखिएको छ।

तर यो मन्त्र चिनियाँ भाषामा लेखिएको छैन। रञ्जना लिपिमा कुँदिएको छ। रञ्जना लिपि, अर्थात नेपालको लिपि।

यो लिपि चीनको सांघाईस्थित मन्दिरमा पनि कुँदिएको छ। चीनका लागि तत्कालिन नेपालका राजदूत लिलामणि पौडेलले त्यो बेला ट्विट गर्दै भनेका छन्- चिङआनको मन्दिरमा रञ्जना लिपि कुँदिएको देख्दा खुसी लाग्यो।

चीनको छ्वान राज्यका राजाको मुकुटमा कुँदिएको रञ्जना लिपि।

त्यस्तै ‘ग्रेटवाल अफ चाइना’ मा पनि रञ्जना लिपिमै विभिन्न अक्षर कुँदिएका छन्।

नेपालको लिपिलाई चिनियाँहरूले आफ्ना महत्वपूर्ण र विशेष स्मारकहरूमा कसरी स्थान दिए? चीनबाहेक अरू ठाउँमा पनि यो लिपि छ? के रञ्जना नेपालकै मौलिक लिपि हो?

यही प्रश्न भन्दा पहिले रञ्जना लिपिको इतिहासबारे बुझौं।

रञ्जनाको विकास एघारौंदेखि अठारौं शताब्दीमा भएको मानिन्छ। यही समयमा बौद्ध तथा हिन्दु ग्रन्थहरू, मन्त्र, श्लोक, स्वास्थ्य उपचार विधि, शिलालेख, ताम्रपत्रहरू धमाधम रञ्जनामा लेखिन थालिएको लिपि विज्ञ काशीनाथ तमोट बताउँछन्।

उनका अनुसार १३ औं शताब्दीतिर नै ग्रेटवालमा रञ्जना लिपि फेला परेको थियो। ग्रेटवालमा सन् १३४५ मा बनेको युन्थाई (क्लाउड टेरेस) भन्ने नगरढोकामा सँस्कृत मन्त्र कुँदिएको छ। यो रञ्जना लिपिमा छ। त्यो बौद्ध सूत्र सितातो पत्रोष्णीषधारणी हो। यसको अर्थ शीत र घामबाट बचाउने हुन्छ।

यही सूत्र चिनियाँ, मंगोलियन, तिब्बेतियन, उइगुर र सिस्या भाषाको लिपिमा पनि अनुवादित छ।

यो लिपि सुरुमा ब्राह्मी थियो। ईशापूर्व २२६ देखि २३२ तिरै ब्राह्मी लिपि विकास भएको मानिन्छ। यो परिमार्जन हुँदै चौथोदेखि सातौं शताब्दीसम्ममा गुप्त लिपिका रुपमा विकास भयो। यसलाई नेपालमा ‘पूर्व लिच्छवी लिपि’ भन्न थालियो। यसका अक्षरहरूले पूर्ण आकार भने पाइसकेका थिएनन्।

चीनको मन्दिरमा कुँदिएको रञ्जना लिपि।

सातौं देखि बाह्रौं शताब्दीमा लिपिको आकार पूर्ण भयो। अहिले देखिआएको रञ्जना जस्तै। यसलाई कुटिल, सिद्धमात्रिका वा सिद्धम लिपि भनिन थालियो। नेपालमा भने ‘उत्तर लिच्छवी’ भन्न थालिएको नेपाल लिपि गुथीका उपाध्यक्ष अनिल  स्थापित बताउँछन्।

‘सिद्धम लिपिसम्म नेपाल, भारत, तिब्बत लगायतमा एउटै खाले लिपि थियो,’ स्थापितले भने, ‘त्यसपछि भने परिमार्जन भयो। सिद्धम लिपिमा लेखिएका शिलालेख अझै नेपालमा भेटिन्छन्।’

‘रञ्जना लिपि भनेको मनै आनन्द हुने लिपि हो। यसलाई संसारकै सुन्दर लिपि पनि मानिन्छ,’ लिपि विज्ञ तमोटले भने, ‘यसमार्फत कुनै पनि कुरालाई एकै अक्षरमा जोडेर छोटो तरिकाले लेख्न सकिन्छ। विशेषगरी, शब्दको सुरुमा गोलो र अन्तिममा डिको तानेर निकै कलात्मक तरिकाले कुँदिन्छ।’

काठमाडौं, हनुमानढोका दरबारबाहिर भित्तामा यसैको एक उदाहरण देख्न सकिन्छ। प्रताप मल्लले नेपाल सम्वत् ७४४ मा विश्वका १५ भाषामा अक्षर कुँदेर आफ्नो कलादक्षता प्रदर्शन गरेका इतिहासविद्हरू बताउँछन्। तीमध्ये उनले ‘रँजआखर’ भनेर रञ्जना लिपि उल्लेख गरेका छन्।

‘सायद त्यो समयमा रँजआखरका नामले यो लिपि प्रचलित थियो,’ स्थापितले भने।

विशेषगरी, नेवार समुदायले बनाउने मण्डलमा रञ्जना कुँदिएको पाइन्छ। शाक्त गुरु एवं तान्त्रिकहरूले भगवान पूजा गर्दा मूर्तिमा गर्दैनन्। उनीहरूले छुट्टै मण्डल बनाएर साधना गर्छन्। त्यही मण्डलमा केहीले रञ्जना लिपिमा मन्त्र कुँदेका हुन्छन्।

रञ्जना लिपिको आधिकारिक किताब भने ११ औं शताब्दीपछि मात्रै फेला परेको छ। पाटनको हिरण्यवर्ण महाबिहारमा सुनले कुँदिएको ‘प्रज्ञापारमिता’ सबभन्दा पुरानो किताब मानिन्छ।

‘यो किताब महायाना बुद्धमार्गीहरू महामञ्जुश्रीले आफ्नै औंलाले कुँदेको भन्ने विश्वास राख्छन्,’ स्थापितले भने, ‘त्यही भएकाले रञ्जनालाई देव लिपि भनेर सम्मान गरेको पाइन्छ।’

‘मञ्जुश्रीले नै लेखेको मान्ने भएकाले धर्मगुरुहरु पनि यो किताबलाई आधिकारिक मान्छन्। यसैले विश्वमा जहाँजहाँ महायाना बैद्धमार्गी र बुद्ध विहार छन्, त्यहाँ रञ्जना लिपि पनि कुँदिएका हुन्छन्,’ उनले जानकारी दिए।

विश्वका धेरै ठाउँमा रञ्जना लिपि फैलनुमा अर्को कारण पनि छ।

त्यो समयमा भारतको कान्यकुञ्ज विश्वविद्यालय, बंगालको नालन्दा विश्वविद्यालय, ओदन्तपुरी लगायतका विद्यालय अध्ययनका लागि प्रसिद्ध थिए।लिपि विज्ञ तमोटका अनुसार नेपालीका साथै जापान, इन्डोनेसिया लगायत अन्य देशका विद्यार्थी यी विश्वविद्यालयमा अध्ययनका लागि जान्थे। उताकाहरू पनि अध्ययनका लागि नेपाल आउँथे।

त्यो बेला बंगलादेश छुट्टै राज्य थिएन। गौड भनिन्थ्यो। १३ औं शताब्दीतिर मुस्लिम राजाले त्यहाँका महाविहारहरु भत्काए। त्यसपछि त्यहाँका विद्यार्थीहरू नेपाः मण्डल (त्योबेला यहाँ नेपाः मण्डल राज्य थियो) आउने क्रम झनै बढ्यो। त्यही क्रममा रञ्जना लिपि विस्तार भएको तमोट बताउँछन्।

‘नेपालीहरू बंगाल, भारत र तिब्बतमा अध्ययनका लागि जान्थे। उताकाहरू पनि अध्ययनका लागि यता आउँथे,’ उनले भने, ‘त्योसँगै उनीहरूबीच किताब आदानप्रदान र साटासाट हुने, उपहार दिने हुन थाल्यो। बिहेवारी समेत चल्थ्यो। यही क्रममा रञ्जना लिपि विभिन्न मुलुकमा फैलियो। भाषा र लिपिमा कुनै बन्देज हुँदैन नि।’

‘हाम्रा पुरानो गीत एवं किताबमा पनि नेपालीसँगै बंगाली, उर्दू, मैथिली लगायत विभिन्न भाषा जोडेर लेखिएको पाउँछौ। त्यहाँका किताबमा पनि हाम्रो लिपि पाउनु यसैको उदाहरण हो,’ उनले भने।

त्यसो त रञ्जनाको पुरानो किताबमध्ये ‘पंचरक्षा ग्रन्थ’मा बंगालका राजाको नाम पनि उल्लेख छ। सन् १०५२ तिरको यो ग्रन्थमा रञ्जना लिपिमै बंगालका राजा महिपाल र नयपालको नाम छ।

‘यसमा ती राजाको विजयराज्य सम्वतको उल्लेख छ,’ तमोटले भने, ‘यी ग्रन्थमा बंगालका राजाको नाम भएकाले त्यहाँको लिपि हो कि भन्ने पनि परेको छ। तर त्यहाँ २–४ वटा मात्रै रञ्जनामा किताब भेटिन्छन्। त्यहीँको लिपि भए धेरै किताब एवं मन्दिर, शिलालेखमा लेखिन्थे होला।’

तमोटका अनुसार चीनमा अन्य देशको तुलनामा रञ्जना लिपि धेरै फेला परेका छन्। यसमा मुख्यतया अरनिको (१२४५–१३०६) र अन्य नेपाली कलाकारको प्रभाव रहेको उनी बताउँछन्। अरनिको र अरू नेपाली कलाकारले चीनमा बनाएका स्मारक तथा कलामा रञ्जना लिपि प्रयोग गरेका थिए। अरनिकोका सिर्जनाले चिनियाँ सभ्यतामा गहिरो प्रभाव पारेको छ।

‘त्यो बेला नेपालबाट आइकोनोग्राफीका किताब चीन लगियो। त्यसलाई चीनमा ‘चाउस्याङ तुल्याङ चिङ’ भनिन्छ,’ तमोटले भने, ‘यो भनेको मूर्ति बनाउने प्रविधि हो। त्यो किताबमा रञ्जनाको महायानी बौद्धसूत्र, वीजाक्षर लगायत लेखिएको छ।’

रञ्जना लिपि त्यो समयपछि चीनमा निकै प्रसिद्ध भयो। मिङवशी राजा तायी मिङले नेपाःमण्डलको शाषक महामात्य (महाथ) शक्तिसिंहरामलाई तिब्बतको लामा तिङ तासि रिजिन मार्फत आदेशपत्रसमेत रञ्जनामै कुँदेर पठाएछन्।

‘त्यसमा नेपाल सम्वत् भनेर महाचीनाब्द ५३५ आषाद शुक्लदशमी उल्लेख छ,’ तमोटले भने, ‘१६ जुन १४१५ मा लेखिएको यो पत्र राष्ट्रिय अभिलेखालयमा संरक्षित छ।’

तमोटलाई चीनको एक शिलालेखमा रहेको भुजिंमोल लिपि अध्ययन गर्न बोलाइएको थियो। रञ्जनामा अगाडि गोलोजस्तो हुन्छ भने भुजिंमोलमा माथि गोलो हुन्छ। रञ्जना लिपि विकासक्रममा यो लिपि प्रचलनमा थियो। रञ्जना भने देव लिपि र सुन्दर देखिने भएकाले प्रयोगमा आइरह्यो। यो लिपि भने कुँद्न छाडियो।

‘चीनले यति महत्वका साथ लिपिमा अध्ययन गरिरहेको छ,’ उनले भने, ‘हामीले भने आफ्नै पनि जगेर्ना गर्न सकेका छैनौं।’

विश्वमा धमाधम रञ्जना लिपि प्रसिद्ध भइरहँदा नेपालमा भने यसको बेवास्ता भएको लिपि गुथीका उपाध्यक्ष स्थापित गुनासो गर्छन्। शाहकालीन समयमा धेरै किताब नष्ट भए। स्थापितका अनुसार काठमाडौंका सात मुख्य पुस्तकालयका किताब शाहकालमा एकै ठाउँमा थुपारियो।

‘राणाहरूले त पछि गाडाका गाडा किताब फाले। कलकत्ताको एसियाटिक सोसाइटीमा अझै पनि ती फालिएका किताबको ६ पोका बाँकी छ भनिन्छ,’ स्थापितले भने, ‘त्योसँगै नेपाल आएका ब्रिटिस रेसिडेन्टल अफिसर ब्रयान हडसनले पनि धेरै किताब ब्रिटेन पुर्याए।’

‘ती किताब संरक्षण गरिएको भए रञ्जनाको इतिहासबारे थप अनुसन्धानमा सहयोग पुग्थ्यो,’ उनले भने।

उनका अनुसार रञ्जनालाई महायाना बौद्ध धर्मावलम्बीले देव लिपि मानेर किताब, गुम्बा लगायतमा लेखेर फैलाए पनि शाक्तहरू भने यसलाई गोप्य राख्नुपर्ने बताउँछन्। शाक्तहरू पवित्र लिपि भएकाले यसलाई लुकाएरै राख्नुमा जोड दिन्छन्। यसैले यसमा धेरै अध्ययन–अनुसन्धान हुन नसकेको स्थापित बताउँछन्।

नेपाल लिपि गुथीले रञ्जना लिपि सिकाउँदै, प्रचारप्रसार एवं अनुसन्धान गरिरहेको छ। यही विषयमा सातादिनमा कार्यशाला पनि हुन्छ। विश्वमा फैलिएका रञ्जना लिपि पनि अध्ययन गरिरहेको छ। अध्ययनक्रममा विदेशीहरूले नक्कल गरेर शिलालेख एवं मठ–मन्दिरमा कुँदेको फेला परेको स्थापितले जानकारी दिए।

‘सुन्दर भएकाले नक्कल गर्ने क्रममा पनि विभिन्न देशमा रञ्जना फैलिएको हुनुपर्छ,’ स्थापितले भने, ‘नक्कल गर्दा केही अक्षरहरू तलमाथि पनि भएको छ। मूल शैलीलाई कसरी लान सकिन्छ भनेर अन्तर्राष्ट्रिय छलफल गर्ने तयारीमा छौं।’

रञ्जना लिपि जसरी फैलिएको छ, यसको मौलिकता संरक्षणमा पहल हुनुपर्ने स्थापित र तमोट दुवैको भनाइ छ।

-सेतोपाटीमा सबिना श्रेष्ठको आलेखबाट साभार

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट