शनिबार, माघ १, २०७८
सरकारले खोपकार्ड अनिवार्य भनेको छ तर धनुषामा भने …

सरकारले खोपकार्ड अनिवार्य भनेको छ तर धनुषामा भने …


  • स्वदेश नेपाल
  • शनिबार, माघ १, २०७८

धनुषाको सबैला नगरपालिकामा खोप वितरणमा लापरबाही भएको देखिएको छ। वडा नम्बर ५ स्थित मखनाहा स्वास्थ्य चौकीमा खोप कार्ड नदिई स्थानीयलाई खोप लगाइएको पाइएको हो।

स्वास्थ्य चौकीकी इन्चार्ज रम्भा यादवका अनुसार पछिल्लो चरणमा मात्रै साढे तीन सय भन्दाबढी व्यक्तिलाई सादा पेपरमा खोप लगाइएको लेखेर दिइने गरिएको छ। ‘हामीलाई नगरपालिकाले कार्ड नपठाएपछि तत्काल सादा पेपरमा लेखेर दिएका छौं। पछि कार्ड बनाइदिने भनेका छौँ,’ उनले भनिन्।

तर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सञ्जयकुमार मण्डलले खोप भन्दाबढी कार्ड स्वास्थ्य चौकीलाई पठाइएको बताए। ‘यहाँबाट सय जनाका लागि खोप लान्छ र पाँच सय कार्ड लान्छ। तैपनि पुगेन भन्छ, हामीसँग सीमित कार्ड हुन्छ। अझै कहाँबाट दिनु?,’ उनले भने, ‘खोप जसरी लगाउदै गएको छ त्यसरी नै कार्ड पठाइएको छ।

तर पहिले खोप लगाएको मान्छेलाई कार्ड बाँड्न बाँकी छ भनेर थप कार्ड मागेको मागै छ। जबकि पहिले पनि खोपभन्दा बढी कार्ड यहाँबाट लगेको थियो।’कार्डबिना खोप नलगाउन सम्झाई बुझाई गरे पनि उनीहरूले नमानेको स्वास्थ्य प्रमुख मण्डलको भनाइ छ।

‘स्वास्थ्य चौकीका कर्मचारीलाई सम्झाई बुझाई गरेँ तर उनीहरू बुझ्नेवाला छैनन्, त्यति कार्ड लगेर के गरे उनीहरूलाई सोध्नुस्,’ उनले थपे। उनका अनुसार ३ सय ९० जनालाई पहिलो चारणमा लगाउन पठाइएको खोपसँगै ६९० कार्ड नगरपालिकाले पठाएको थियो। स्वास्थ्य चौकी इन्चार्ज रम्भा यादवले भने स्वास्थ्य शाखाले खोपभन्दा कम कार्ड पठाएर झुटो बोलेको दाबी गरिन्।

सरकारी काम तथा पसल जाँदा अनिवार्य खोप कार्ड भनिरहेका बेला स्वास्थ्यकर्मीहरुले यस्तो कार्य गर्नु कतिको उचित हो यो भने स्वस्थ्यकर्मीहरुले नै बुझ्ने कुरा हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट