बिहिबार, पुस १५, २०७८
आज ‘तमु ल्होसार’ मनाइँदै, सरकारले दियो सार्वजनिक विदा-प्रधानमन्त्री र राष्टपतिबाट शुभकामना

आज ‘तमु ल्होसार’ मनाइँदै, सरकारले दियो सार्वजनिक विदा-प्रधानमन्त्री र राष्टपतिबाट शुभकामना


  • स्वदेश नेपाल
  • बिहिबार, पुस १५, २०७८

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ ।

तमु ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

तमु ल्होसारबाट बृहत् राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुग्नेछ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएकी छिन् ।

उनले आज तमु ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिन् ।

“मुलुकको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा संवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमार्फत आर्थिक र सामाजिकरूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय छ”, सन्देशमा भनिएको छ ।

राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको शुभकामना पनि व्यक्त गरिन् । गुरुङ समुदायले आज पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै यस पर्व मनाउने गर्छन् । सो समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की, पर्वतलगायत जिल्लामा यो पर्व मनाउने गरिन्छ ।

प्रधानमन्त्री देउवाद्वारा ल्होसारको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।

बिहीबार तमु जातिले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो(वर्ष) को स्वागत गरी ल्होसार पर्व मनाउँदै छन् । प्रधानमन्त्री देउवाले आज जारी गर्नुभएको शुभकामना सन्देशमा विशेषगरी गुरुङ समुदायले मनाउने ल्होसार पर्व हाल एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा देशभर मनाइने गरेको उल्लेख छ ।

“नेपाली संस्कार र संस्कृतिमा आआफ्नै विशिष्ट पहिचान र विशेषता रहेको छ, विविधता भित्रको एकता र समाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण पनि हुन्”, सन्देशमा भनिएको छ, “यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने उदाहरणीय पर्वमध्येको एक ल्होसार पनि हो ।”

प्रधानमन्त्री देउवाले सन्देशमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि अवलम्बन गरिएका नीति प्रभावकारी देखिए पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै पर्व हर्षोल्लाहपूर्वक मनाउन आग्रह गरे । उनले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावना अझ प्रगाढ र सुदृढ बनाउने प्रेरणा प्रदान गरोस् भनी कामना पनि गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार