शनिबार, पुस १०, २०७८
‘पैतालामा हिउँ, आँखामा हिमाल’को सिन्धुली लोकार्पण सम्पन्न

‘पैतालामा हिउँ, आँखामा हिमाल’को सिन्धुली लोकार्पण सम्पन्न


  • स्वदेश नेपाल
  • शनिबार, पुस १०, २०७८

पैतालामा हिउँ,आँखामा हिमाल’ अर्थात् नियात्रा क्षेत्रको कोसेढुङ्गो । अग्रज पर्यटन व्यवसायीहरूको अग्रसरतामा यही नियात्राकृतिको सिन्धुली लोकार्पण गत शनिबार मूलकोटमा सुसम्पन्न भएको छ ।

भव्य समारोबीच सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि प्राडा रामप्रसाद ज्ञवालीले कृति बेजोड अनुभूति, वस्तुपरक परिवेश चित्रण र गतिशीलताको त्रिवेणी भएको दाबी गर्नुभयो । जीवनलाई गतिसँग तुलना गर्दै ज्ञवालीले समाजशास्त्रको कलात्मक उत्खनन भएकाले कृति उत्कृष्ट भएको जिकिर गर्नुभयो । उहाँले पर्यावरणीय सन्तुलनका पक्षमा आफ्नो अभिमत प्रकट गर्न सक्नु यो कृतिको वैशिष्ट्य भएको राय व्यक्त गर्नुभयो ।

कार्यक्रमका अर्का अतिथि श्रीओम श्रेष्ठ ‘रोदन’ले नियात्राकृतिले आफूलाई स्थापित दाबी गर्ने नियात्राकारको मथिङ्गल हल्लाउन सफल भएको दलिल पेस गर्दै स्थानीयताको यथेष्ट प्रयोग र समाजसँगको जीवन्त संवाद नै कृतिको शक्ति भएको यथार्थता औंल्याउनुभयो । हरेक पाठकलाई अक्षरका माध्यमले यात्रा गराउन सक्ने डङ्गोलको नाम नियात्रा क्षेत्रमा भरभराउँदो भएको तर्क गर्नुभयो।

त्यसरी नै कवि तथा समालोचक डा• बिन्दु शर्माले पर्यावरणीय संरक्षणविना मानव विकास असम्भवप्राय: हुने भन्दै आशावादिता,स्थानीय वासिन्दाको पीडा, हाँसो र रोदनलाई नियात्राको क्यान्भासमा दुरुस्त उतार्न सक्नु राजेन्द्रमान डङ्गोलको अनमोल क्षमता भएको अभिमत जाहेर गर्नुभयो ।

कवि,आख्यानकार तथा समालोचक विवश वस्तीले जलवायु परिवर्तनबाट हुनसक्ने भयावह क्षति,सामाजिक, आर्थिक, सांस्कृतिक पाटापक्ष र स्थानीय जीवनशैलीलाई काव्यिक रङ्ग भरी तथा लयबद्ध एवं मिठासपूर्ण भाषाशैलीमा पठनीय बनाई यात्राको कैरन प्रस्तुत गर्न सक्नु राजेन्द्रमान डङ्गोलकोअतुलनीय सामर्थ्य भएको मत प्रकट गर्नुभयो ।

आयोजकको तर्फबाट अतिथि र उपस्थित श्रोतागणलाई स्वागत गर्दै अग्रज पर्यटन व्यवसायी बोधराज भण्डारीले मूलकोटको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनका निम्ति कृति कोसेढुङ्गा सावित हुने भएकाले कृतिको सिन्धुली लोकार्पण कार्यक्रम आयोजना गर्न आफूहरू लालायित भएको अवगत गराउनुभयो ।

रचनागर्भ उत्खनन गर्ने दर्मियानमा नियात्राकार डङ्गोलले आयोजक ताज रिभरसाइड रिसोर्टप्रति कृतज्ञता व्यक्त गर्दै यात्राका अनगिन्ती आरोह-अवरोह आफूले झेलेको र त्यसैलाई कृतिमा रूपान्तरित गरेकाले कृतिमै अधिकांश सामग्री समाविष्ट भएको बताउनुभयो । एउटा अकल्पनीय दुर्घटनाको प्रसङ्ग कोट्याउँदै फिलिप नामका पर्यटकलाई हिमाल पारिको जिल्ला मनाङको अनकन्टार नारफू क्षेत्रमा यात्रा गराउने सिलसिलामा उनका पिताको असामयिक कीर्तिशेष भएपछि अनुभूत गरेको पीडाको सङ्क्षिप्तमा सजीव चित्रण गर्नुभयो ।

प्रकाशकको तर्फबाट सङ्क्षिप्त अभिमत राख्ने क्रममा फिनिक्स बुकका गणेश सुवेदीले हरियो साइकल र उपल्लो थलो जस्ता नियात्रामात्र आफूले प्रकाशन गरेकोमा अत्यन्त लोभलाग्दो भएकाले यो कृति प्रकाशन गर्न पाउनु आफ्नो अहोभाग्य भएको अभिमत व्यक्त गर्नुभयो।
साहित्यानुरागी माधव घिमिरे ‘अटल’ले सहजीकरण गरेको सो कार्यक्रमको अध्यक्षता तेजबहादुर जर्घाले गर्नुभएको थियो । स्थानीयको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा राजधानीबाट सशक्त युवा कवि प्रज्वल अधिकारी, गायिका सुजिता अविरल लगायत स्रष्टाहरूको पनि सक्रिय संलग्नता रहेको थियो । लोकार्पण कार्यक्रमको भोलिपल्ट आयोजकले स्रष्टाहरूलाई सिन्धुलीगढी पनि अवलोकन गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट