बिहिबार, मंसिर २३, २०७८
…त्यसपछि आँशु बगाउँदै पौडेलले भने, ‘साथीहरुले न आपसमा सहमति गर्नुभयो, न मलाई स्विकार्नुभयो, म पार्टीबाट अलग बस्छु, महाधिवेशनमा पनि आउँदिनँ’

…त्यसपछि आँशु बगाउँदै पौडेलले भने, ‘साथीहरुले न आपसमा सहमति गर्नुभयो, न मलाई स्विकार्नुभयो, म पार्टीबाट अलग बस्छु, महाधिवेशनमा पनि आउँदिनँ’


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर २३, २०७८

काठमाडौँ – पार्टी सभापतिमा शेरबहादुर देउवाविरुद्ध साझा उम्मेदवार छान्ने प्रतिस्पर्धी समूहको प्रयास कठिन मोडमा बल्झिएको छ । कांग्रेसका अग्रणी नेताहरू बीपी कोइराला र गणेशमान सिंहका पारिवारिक उत्तराधिकारीहरू नेतृत्वका लागि आमनेसामने छन् । उनीहरूले आपसमा सहमति गर्न नसकेको र आफूलाई पनि नेतृत्वमा स्वीकार नगरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीबाटै अलग हुने चेतावनी दिएका छन् ।

पार्टी र सत्ताको केन्द्रमा रहेका देउवा महाधिवेशन प्रतिनिधिहरूको अंकगणितमा समेत बलियो बनेपछि उनीविरुद्ध साझा उम्मेदवार बनाउन दबाब बढेको छ । साझा उम्मेदवार छान्न संस्थापनबाहेक सोमबार र मंगलबार दिनभर बैठक बसेका नेताहरूले आफ्ना शुभचिन्तकलाई शुभ समाचार सुनाउन सकेनन् ।

संस्थापनबाहेक समूहबाट साझा उम्मेदवार तय हुने वा नहुने आधारमा आफ्नो टिम घोषणा गर्ने रणनीतिमा देउवा छन् । देउवाले बुधबार बोलाएको आफ्नो समूहको बैठक ‘प्यानल घोषणा’ को गृहकार्यमा प्रवेश नगरी छलफलमा सीमित राखेका थिए । उता कृष्णप्रसाद सिटौला पनि आफैं उम्मेदवार दिने वा देउवासँगै मिल्ने भन्ने निर्णयमा पुग्न सकेका छैनन् ।

अघिल्लो दिन पौडेल र महामन्त्री शशांक कोइरालाले आकांक्षीद्वय प्रकाशमान र शेखर एक भएर आएमा आफूहरूले छाडिदिने बताएका थिए । बुधबार दिनभर भएका छलफलमा शेखर र प्रकाशमानले अडान नछाडेपछि साँझ पौडेल भावुक अभिव्यक्ति दिएर गणेशमान निवास चाक्सीबारीबाट बिदा भए ।

‘शेरबहादुरबाट पार्टी चल्दैन, नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने मेरो मिसन हो । साथीहरूले मेरो कुरा बुझिदिनु भएन, आपसमा मिल्न पनि सक्नु भएन । मलाई स्विकार्नु पनि भएन । अब, मैले सकिनँ,’ बैठकमा पौडेलको भावुक अभिव्यक्ति उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘अबदेखि म बैठकमा आउँदिनँ । महाधिवेशनमा पनि सहभागी हुन्न । पार्टीबाट अलग भएर घरमै बस्छु ।’ त्यसो भन्दा पौडेलका आँखामा आँसु रसाएको उनले बताए । पार्टीभित्रको अन्तरद्वन्द्वकै कारण जीवनको आखिरी पलमा गणेशमान पनि पार्टीबाट अलग बनेका थिए ।

रामशरण महतले प्रकाशमान र शेखरबीच एकले अर्कालाई नछाड्दा सहमति हुन नसकेको बताए । ‘दुई जनाबीच सहमति हुन सकेन भने पार्टीको वरिष्ठ नेता पनि भएकाले पौडेलजीलाई नेता मानेर जाऔं भन्ने साथीहरूको भनाइ थियो,’ उनले भने । ‘त्यसका लागि दुई जना तयार नभएपछि पौडेल भावुक हुनुभएको हो,’ महतले भने, ‘तर सहमतिको प्रयासमै छौं, भोलि (बिहीबार) सम्म प्रयत्न जारी राख्छौं ।’ शुक्रबार महाधिवेशन सुरु हुँदै छ ।

समूहनजिक रहेका जिल्ला सभापति, सभापतिका प्रत्याशी, प्रदेशका सभापति र प्रत्याशीहरूबाट राय लिन बुधबार बिहान बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा छलफल भएको थियो । बैठकमा पौडेलबाहेक अरू आकांक्षी सहभागी भएनन् । प्रकाशमान र शेखरबीच को बलियो हुन सक्छ भन्ने परामर्श लिन बोलाइएको बैठकमा सहभागीहरूले चार जना आकांक्षी र केही नेता बसेर गरिने निर्णय मान्न नसकिने चेतावनी दिएका थिए । लगत्तै चाक्सीबारीमा आकांक्षीसहित नेताहरूको बैठक बसेको थियो ।

केहीछिन सामूहिक बसेपछि चार जना आकांक्षीबीच छुट्टै छलफल चल्यो । तर बैठकमा शेखरभन्दा पनि प्रकाशमानले बलियो अडान राखेका थिए । बीपीका पालादेखि नै गणेशमानले सधैं त्याग गर्दै आएको स्मरण गर्दै प्रकाशमानले आफू यसपालि भने पछाडि नहट्ने भनाइ राखेका थिए । ‘गणेशमानले सधैं बीपीका लागि त्याग गर्नुभयो । मैले पनि १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य मात्रै लडेर रामचन्द्र दाइलाई छाडेको हो । जहिले पनि गणेशमानको परिवारले मात्रै त्याग गर्नुपर्छ भन्ने छ ? कोइराला परिवारले त्याग गरे हुन्न ?’ सिंहको भनाइ उद्धृत गर्दै एक नेताले भने । घुमीफिरी आफूलाई उम्मेदवार बनाउन हुन्न भन्ने भनाइ मात्रै आएकाले सहमति हुने सम्भावना नदेखेको प्रकाशमानको भनाइ छ ।

-आजको कान्तिपुर दैनिकमा खबर छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट