बुधबार, मंसिर २२, २०७८
नेपालका यी चार ताल विस्फोटको उच्च जोखिममा, घटाउन थालियो पानी

नेपालका यी चार ताल विस्फोटको उच्च जोखिममा, घटाउन थालियो पानी


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर २२, २०७८

सरकारले विस्फोटको उच्च जोखिममा रहेका कोसी र गण्डकी जलाधार क्षेत्रका चार हिमतालको पानीको सतह घटाउने भएको छ । राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को हरित जलवायु कोष (जीसीएफ) बाट प्राप्त हुने ३ करोड ३० लाख अमेरिकी डलर र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को २५ लाख गरी ३ करोड ५५ लाख अमेरिकी डलरको आयोजनामार्फत काम गर्न लागेको हो ।

विस्फोटको उच्च जोखिममा रहेका सोलुखुम्बुका लुम्दिङ च्छो र होङ्गु–२, संखुवासभाको तल्लो बरुण र गण्डकीको ठुलागी (डोना) हिमतालको पानीको सतह घटाउने गरी आयोजना डिजाइन गरिएको छ ।

चारवटै तालको पानीको सतह घटाउने आयोजना (प्रोटेक्टिङ लाइभ्लीहुड्स एन्ड एसेस्ट्स एट रिस्क फर्म क्लाइमेट चेन्ज इन्डियुस्ड फ्लडिङ इन ग्लासियल रिभरबेसिन्स् अफ नेपाल) सञ्चालनका लागि आगामी महिना अर्थ मन्त्रालयमार्फत विस्तृत प्रतिवेदन जीसीएफमा पेस गरिँदै छ । जीसीएफको मान्यताप्राप्त निकाय अर्थले सोमबार उक्त आयोजनाबारे सरोकारवाला निकायहरूसँग छलफल गरेको छ । यूएनडीपीले यो आयोजनाको डिजाइन गरेको हो ।

विश्वमा जलवायु परिवर्तनको असर बढ्दै गएपछि न्यूनीकरण र अनुकूलन कार्यक्रमका लागि विभिन्न देशमा जीसीएफको रकमबाट आयोजना सञ्चालन भइरहेका छन् । जीसीएफले विकासशील, अतिकम विकसित मुलुक (एलडीसी), साना टापु राष्ट्र तथा अफ्रिकी मुलुकलाई मुख्य प्राथमिकतामा राखेर आयोजना सञ्चालनका लागि पैसा दिने गरेको छ । आयोजनाको नेतृत्व भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गर्नेछ ।

कोरियाको सोङ्दोमा मुख्यालय रहेको जीसीएफको रकममार्फत अहिले पनि नेपालमा जलवायुजन्य जोखिम न्यूनीकरणका तीनवटा आयोजना सञ्चालनमा छन् । आईयूसीएन र राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत गण्डकी जलाधार, विश्व खाद्य तथा कृषि संगठन र वन तथा वातावरण मन्त्रालयले चुरे क्षेत्र र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सुधारिएको चुल्हो कार्यक्रम सञ्चालनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट