बुधबार, मंसिर २२, २०७८
इच्छाराज ठगी प्रकरण : अख्तियारका आयुक्त डा. सुमित्रा अमात्यदेखि पूर्वप्रधानसेनापति रुकमाङ्‍गत कटवालसम्म यसरी ठगिए

इच्छाराज ठगी प्रकरण : अख्तियारका आयुक्त डा. सुमित्रा अमात्यदेखि पूर्वप्रधानसेनापति रुकमाङ्‍गत कटवालसम्म यसरी ठगिए


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर २२, २०७८

काठमाडौं- संगठित ठगीको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको सिभिल सहकारीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बहालवाला आयुक्तदेखि पूर्वप्रधानसेनापतिसम्म ठगिएको पाइएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा परेका एक हजार ५०३ जना पीडितको सूचीमा अख्तियारका आयुक्त डा सुमित्रा श्रेष्ठ अमात्यदेखि पूर्वप्रधानसेनापति रुकमाङ्‍गत कटवालसम्मको नाम उल्लेख छ। आयुक्त अमात्य र छोरा सूर्यनरसिंह अमात्यको नामबाट सिभिल सहकारीमा एक करोड २२ लाख ५० हजार रुपैयाँ जम्मा भएको र हालसम्म त्यसको सावाँ-ब्याज नपाएको भन्दै उनका श्रीमान् दिवस अमात्यले जाहेरी दिएका थिए।

त्यसैगरी पूर्वप्रधानसेनापति कटवालसहित उनकी श्रीमती उमा र रुकमाङ्‍गत कटवाल ट्रस्टसमेत ठगिएको जाहेरी परेको छ। कटवाल परिवार र उनको ट्रस्टबाट मात्रै एक करोड ७७ लाख ३७ हजार ९३५ रुपैयाँ सिभिल सहकारीमा जम्मा गरेका थिए। त्यसको हालसम्म सावाँ-ब्याज भुक्तानी नभएको भन्दै कटवालको तर्फबाट सुलक्षणा ढकालले जाहेरी दिएकी हुन्। सुलक्षणा रुकमाङ्‍गत कटवाल ट्रस्टकी कोषाध्यक्ष हुन्। पूर्वप्रधानसेनापति कटवालको नामबाट मात्रै सिभिल सहकारीमा एक करोड रुपैयाँ जम्मा भएको थियो। त्यसैगरी उनकी श्रीमती उमाको नाममा आठ लाख रुपैयाँ जम्मा भएको थियो। बाँकी रकम भने ट्रस्टको नामबाट सहकारीमा जम्मा भएको भन्दै जाहेरी परेको थियो।

कलाकार तथा अभिनेत्री बसुन्धरा भुसालसमेत ठगिएको भन्दै इच्छाराजविरुद्ध जाहेरी परेको खुलेको छ। बसुन्धरा र उनका श्रीमान्समेतले सिभिल सहकारीमा रकम जम्मा गरेका थिए। बसुन्धराको नामबाट एकपटक २० लाख ३३ हजार ३५१ रुपैयाँ सिभिल सहकारीमा जम्मा भएको जाहेरीमा उल्लेख छ। अर्को एक पटक पनि उनकै नामबाट ११ लाख ७१ हजार ४९ रुपैयाँ जम्मा भएको थियो।

बसुन्धरा र उनका श्रीमान् चेतनारायणको नामबाट एक लाख १५ हजार ३१९ रुपैयाँ, बसुन्धरा र शैलेशको नामबाट छ लाख ७३ हजार ७४५ रुपैयाँ, प्रकाश शर्मा र चेतनारायण भुसालको नामबाट ३५ लाख ९८ हजार ५८ रुपैयाँ र चेतनारायण भुसालको नामबाट मात्रै १६ लाख ८५ हजार १९९ रुपैयाँ जम्मा भएको थियो। उक्त रकमको हालसम्म साँवा-ब्याज नपाएको भन्दै इच्छाराजविरुद्ध जाहेरी परेको थियो।

उनीहरुजस्तै ठूलो सङ्ख्यामा उच्चपदस्थ व्यक्तिहरु इच्छाराजको सिभिल सहकारीबाट ठगिएको सीआईबी स्रोतले जनाएको छ। ठगिनेहरु अधिकांश लोभमा परेर ठगिएको पाइएको छ। १७ प्रतिशतका दरले ब्याज दिने र रकम जम्मा गरेबापत उपहारस्वरुप सुनको सिक्कासमेत पाउने प्रलोभनमा ठगिएको अनुसन्धानबाट खुलेको छ।

उक्त प्रलोभनमा जितनीदेवी कोइरिनले २०६८ सालमा ८० लाख रुपैयाँ सिभिल सहकारीमा जम्मा गरेकी थिइन्। पछि जम्मा रकम बढाउँदै एक करोड १९ लाख ५४ हजारसम्म पुर्‍याएकी थिइन् भने रकम जम्मा गरेबापत उनले आठ वटा सुनका सिक्कासमेत उपहार पाएकी थिइन्।

चार करोड आठ लाख ९७ हजार रुपैयाँ जम्मा गरेका सुभाष्करराज राजकर्णिकारले चार थान सुनका सिक्का पाएका थिए। यसरी अधिकांशले प्रलोभनमा परेर सिभिल सहकारीमा रकम जम्मा गरेको खुलेको छ।

कतिसम्म भने विशुद्ध सेवा गर्ने उद्देश्यले स्थापना गरिएको रुकमाङ्‍गत कटवाल ट्रस्ट समेतले सिभिल सहकारीमा लगानी गरेर नाफा कमाउने उद्देश्य राखेको खुलेको छ। पूर्वप्रधानसेनापति कटवालले ‘सहाराविहीनका लागि परोपकारी अभियान’ नाराका साथ यो ट्रस्ट खोलेका थिए। तर, उही ट्रस्टले सिभिल सहकारीमा लगानी गरेर नाफा कमाउने उद्देश्य राखेको खुलेको छ।

-नेपाललाइभ बाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट