काठमाडौं । नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री बन्ने तयारीमा जुटेकी छन् । पार्टीको जारी एकता महाधिवेशनमा उनले महामन्त्री पदमा दाबी गरेकी हुन् ।
नायिका थापाले अध्यक्षका उमेदवार राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्री बन्ने दौडधुप गरेकी छन् । लिङ्देननिकट स्रोतका अनुसार नायिका थापाले आफू महामन्त्री बन्ने प्रस्ताव लिङ्देनसँग राखेकी छन् । “उहाँले आफ्नो कुरा राख्नुभएको छ । तर, हामीले निर्णय गरिसकेका छैनौँ,” स्रोेतले भन्यो ।
यो प्यानलबाट धवलशमशेर राणाले यसअघि नै महामन्त्रीमा उमेदवारी घोषणा गरिसकेका छन् । उनी नेपालगन्ज उपमहानगरपालिकाका मेयर हुन् ।
नायिका थापा राप्रपाकी केन्द्रीय सदस्य हुन् । तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट राप्रपा प्रवेश गरेर उनी केन्द्रीय सदस्यमा लडेकी थिइन् । उनी निर्वाचित केन्द्रीय सदस्य हुन् ।
उनीसँगै गायिका तथा सञ्चारकर्मी कोमल ओली पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । ओली नेकपा (एमाले)मा प्रवेश गरेर सामानुपातिकबाट सांसद हुँदै राष्ट्रियसभा सदस्य छिन् । मंगलबार सम्पन्न एमालेको १०औँ महाधिवेशनबाट कोमल ओली केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।