सोमवार, मंसिर ६, २०७८
अनुगमन गरेकै ‘विवादित’ सहकारीमा रजिष्ट्रार निरौला प्रमुख अतिथि, सञ्चालकसँग शंकास्पद हिमचिम

अनुगमन गरेकै ‘विवादित’ सहकारीमा रजिष्ट्रार निरौला प्रमुख अतिथि, सञ्चालकसँग शंकास्पद हिमचिम


  • स्वदेश नेपाल
  • सोमवार, मंसिर ६, २०७८

झापा –

प्रदेश सहकारी रजिष्ट्रार कार्यालय प्रदेश नम्बर–१ इटहरीका प्रमुख बलराम निरौलाले आफैले अनुगमन गरेको झापाको बिर्तामोडस्थित एक सहकारीको भवन उद्घाटन गर्न आएका छन् ।

आर्थिक अपचलनको आरोप लागेको झापाको बिर्तामोडस्थित शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय भवन उद्घाटन गर्न रजिष्ट्रार निरौला प्रमुख अतिथि भएर आएका हुन् ।

निरौलासहितको टोलीले साउन पहिलो साता बिदाको दिन पारेर शिखर बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरेको थियो । शिखर साकोसको नयाँ भवन गत कात्तिक १८ गते उद्घाटन गरिएको थियो ।

थुप्रै अनियमितता भेटिएको शिखर सहकारीको अनुगमन प्रतिवेदन एक साताभित्र सार्वजनिक गर्ने बताइए पनि उक्त विषय गुपचुप राखिएको छ ।

‘अनुगमनका क्रममा आर्थिक अपचलनदेखि अध्यक्ष दीपेन्द्र राउतसहितका पदाधिकारीले सहकारीको विधि विधान विपरीत ऋण लिएको देखिएको थियो, तर रजिष्ट्रार कार्यालय प्रमुख निरौलाले कारबाही प्रक्रिया अघि बढाउनु भएन,’ रजिष्ट्रार कार्यालयका एक कर्मचारीले भने ।

अनुगमनपश्चात प्रमुख निरौलाले शिखरका अध्यक्ष राउतलाई बाक्लै भेटेको ती कर्मचारीले बताए । यसैगरी, शिखर सहकारीकै एक कर्मचारीले प्रमुख निरौलासँग आर्थिक अनियमितताको विषयमा ‘अन्डर्स्टान्डिङ’ भएको बताएका छन् ।

‘आर्थिक अनियमितताको आरोप लागेको मात्रै होइन, शिखर सहकारीबाट अध्यक्ष राउतसहितको केही पदाधिकारीले आफूखुशी पैसा निकालेर चलाएका छन्, त्यसको हिसाबकिताब केही गरिएको छैन, मनपरी छ,’ ती कर्मचारीले भने ।

तर, अनुगमनकै लागि आएका सरकारी कर्मचारीले पनि ‘लेनदेन’मा कारबाही प्रक्रिया अगाडि नबढाएपछि आफूहरू निरास भएको ती कर्मचारीले बताए ।

‘प्रदेश रजिष्ट्रार कार्यालयका प्रमुख निरौलाले शुरुमा निकै कडाई गर्नेजस्तो गर्नुभयो, तर अनुगमन गएर गएपछि बोलीको भाका फेरियो, त्यसमाथि अहिले अध्यक्ष राउतसँग निकै राम्रो हिमचिम छ, त्यसैले शंकाको प्रशस्त ठाउँ यहाँ छ, हाम्रो माग छ, निरौला, राउतसहितका पदाधिकारीहरूमाथि छानवीन हुनुपर्छ,’ ती कर्मचारीले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट