सोमवार, कार्तिक २९, २०७८
बाबासँग डिभोर्स गरेर नयाँ जीवन सुरू गर्नुस् ममी !

बाबासँग डिभोर्स गरेर नयाँ जीवन सुरू गर्नुस् ममी !


  • स्वदेश नेपाल
  • सोमवार, कार्तिक २९, २०७८

रवीन्द्र केसी –

मानवले फेसबुकमा पोष्ट गरेको हाम्रो फोटो र त्यसमा गरिएको लाइक, कमेन्ट हेरेर दंग पर्दैछु। चार के लाइक र छ सय पचहत्तर कमेन्ट्स… पर्फेक्ट कपल, मेडफर इच अदर…, यस्तै अरू के के…।

अचम्मको भूल-भूलैया यो समाजिक सञ्जाल! कर्मकाण्डी र आत्मीयताहीन कमेन्टहरू। फोटोका कमेन्ट हेर्दै उपेक्षापूर्ण हाँसो हाँस्छु। त्यहीबेला ल्यान्डलाइन टेलिफोनमा घण्टी बज्छ, छोरीले फोन उठाउँछिन्।

एकदमै संक्षिप्त कुरानकानी गर्छिन् र मलाई हेर्दै भन्छिन्, ‘मामु आज बाबा आउन ढिलो हुन्छ रे!’ ऊ सधैं नै ढिला आउँथ्यो, मलाई कुनै आश्चर्य लागेन। म मोबाइल हेर्नमै व्यस्त भएँ, मेसेन्जरमा संगीतालाई अनलाइन देखें।

उनी र उनका पति सबिन दुवै मेरो कलेजका साथी हुन्। सबिन अहिले अमेरिकामा छन् र यता संगीता सासू र छोरी हेरेर बसेकी छन्। संगीता र मैले छोटो च्याट गर्यौं र साँझ होटल हेभनमा भेट्ने कार्यक्रम मिलायौं।

कुरा सकिनासाथ म स्कुटी लिएर होटलतिर हानिएँ। होटलमा संगीताले एक जना केटा पनि सँगै लिएर आइन्। आफ्नो आँखाको गग फुकालेर टेबलमा राखिन् र मसँग उसको परिचय गराइन्।

उहाँ सरोज सिंह, मेरो अत्यन्त निकट मित्र।

त्यसपछि हामीले मेनु हेर्‍यौं, केही स्न्याक्स मगायौं। तीनै जनाले मजाले वाइन पियौं। नशा चढ्दै गएपछि उनीहरू उन्मुक्त हुँदै गए। सरोजको फोनको घण्टी पटक-पटक बज्न थाल्यो र आफ्नो मोबाइल साइलेन्ट मोडमा राखेर उसले भन्यो ‘आई हेट द्याट’ संगीताले सोधिन्, ‘हु वाज द्याट हनि?’ संगीतालाई अँगाल्दै उसले भन्यो, ‘इग्नोर द्याट बेबी’ साँझ छिप्पिँदै गयो, उनीहरू वाइल्ड हुँदै गए र म त्यहाँबाट बिदा भएर हिँडें।

भोलिपल्ट दिउँसो संगीता मेरो अफिसमा आइन्। कुराकानी बढ्दै गयो र उनले भनिन्, ‘जिन्दगी त खुसीले बिताउनुपर्छ मालती! रूप र यौवन छउन्जेलमात्र हो। त्यसपछि कसैले पनि पुछ्‌दैन, बुझ्यौ।’

म सुन्दै गएँ, उनी अझै उत्साहित हुँदै बोल्दै गइन्। ‘सबै सम्बन्धहरू स्वार्थका मात्र हुन्। के मेरो लोग्ने अमेरिकामा मै भनेर चोखै बसेको होला ? बाहिर नैतिकवान् बन्छन्, भित्र यौनकै लागि मरिमेट्छन् सबै!’

बिना प्रसंगका ती कुराले मलाई अचम्म लाग्यो र मैले उनलाई सोधें, ‘तिम्रो कुरा बुझिनँ, मैले संगीता।’ मलाई आश्वस्त पारेझैं गरी उनले भनिन्।

‘हेर मालती! यो जैविक आवश्यकता हो। त्यसैले सरोज र म तीन चार दिनको लागि दार्जलिङतिर घुम्न जाँदैछौं। उसको अर्को एक जना केटा साथी पनि छ, तिम्रो के विचार छ ? जाऔं हिँड तिमी पनि, मुड फ्रेस पनि हुन्छ, कसैलाई केही पनि थाहा हुँदैन!’

संगीताको कुरा सुनेर म रन्थनिएँ र त्यही भावमा उनलाई सोधें, ‘यति लामो भूमिका यसैको लागि थियो संगीता ?’ मेरो बदलिएको अनुहार देखेर शान्त हुँदै उनले भनिन्,’तिम्रो लोग्ने हरेक रात नयाँ केटी फेर्दै हिँड्ने! तिमीले चाहिँ उसैलाई परमेश्वर मानेर पूजा गर्नुपर्ने किन मालती ? मन त सबैको उस्तै होइन र?’

एकछिन अडिएर उनले फेरि भनिन्, ‘मनको पिँजडाबाट बाहिर निस्केर त हेर, जिन्दगी कति सुन्दर छ! राम्ररी सोचेर जवाफ देऊ मलाई।’ यति भनेर मेरो जवाफै नसुनी उनी उठेर हिँडिन्।

अफिसबाट साँझ घर आएँ। कोठामा पत्रिका समाएर बसें तर पढ्न मन लागेन। लामो सुस्केरा लिएँ र जिन्दगीको सुन्दरताको परिभाषामा गहिरिएँ। प्रेम, विश्वास र निष्ठाको क्षितिजसम्म फिजारिएँ। सम्बन्धका फरक-फरक बिम्बहरू दिमागमा सल्बलाए।

कोही म जस्ता, कोही संगीता जस्ता, कोही मानव र कोही सबिनजस्ता। कतिखेर सबै उस्तै लाग्थे, कतिखेर बिकलुकै फरक! त्यही बेलामा मोबाइलमा टेक्स्ट नोटिफिकेसन आयो। ‘म एक हप्ताको लागि इन्डोनेसिया हिँडें, टेक केयर।’ मानवको त्यो मेसेज पढें।

मनमा भावनाको अँध्यारो मुस्लो उर्लियो र मेरो चेतनालाई धमिलो बनायो। यस्तै मानसिक अन्तरद्वन्द्वमै थिएँ, फेरि संगीताकै टेलिफोन आयो।

मातिएको आवाजमा उनले सोधिन्, ‘मालती के निर्णय गर्‍यौ त ?’ मैले शान्त भावमा जवाफ दिएँः सरी संगीता, म जान्नँ तिमीहरू जाऔ।

उत्तेजित आवाजमा उनले भनिन्, ‘ठिकै छ मालती, यो दुनियाँ यस्तै छ, मर्नेहरू तिमीजस्तै भित्र-भित्रै मर्छन्, रमाउनेहरूले जिन्दगीको भरपुर मजा लिन्छन्’ उनको कुरा मलाई नमिठोसँग बिझ्यो र मैले प्रतिवाद गर्दै भने, ‘तिमी पनि जिन्दगीको भरपुर मजा लिएर बाँच न संगीता, मेरो शुभकामना छ।’

त्यसपछि केही आक्रोशित लवजमा उनले भनिन्, ‘अचेल कसको विवाहेत्तर सम्बन्ध हुँदैन ? को दाम्पत्य जीवनमा खुसी छ र ? सब नाटक गर्छन्। तिम्रो लोग्ने कसलाई लिएर किन इन्डोनेसिया गएको छ, तिमीलाई थाहा छ ?’

संगीताको भनाइ सुनेर मलाई असह्य भयो र मैले पनि कठोर भावमा भनें, ‘तिमीलाई नै थाहा होला संगीता, तर सबै सम्बन्ध नाटक होइनन्। आफ्नै दाम्पत्य जीवनमा खुसी हुनेहरू धेरै छन्, आफ्नो मर्यादाभित्रै रमाउनेहरूको कुनै कमी छैन। खुसी भनेको केवल अमर्यादित र अनियन्त्रित यौन सम्बन्ध मात्रै होइन बुझ्यौ। तिमी जति सक्छौ रमाउनु तर आफ्नै नजरबाट चाहिँ नगिर्नू।’

यति भनेर मैले फोन काटिदिएँ।

केहीबेर दिमाग शून्य भयो त्यसपछि लगत्तै केवल यौन स्वच्छन्दतामै जीवनको सुन्दरता देख्ने धेरै आधुनिक संगीता र मानवहरू मानसपटलमा सलबलाए।

तिनीहरूको भ्रमित चेतनाप्रति विस्मित भएँ र महिलालाई यौनको लागि मात्रै उपयोग गर्न चाहने विकृत पुरूष सोचप्रति घृणा जागेर आयो।

संगीतासँगको गलफतीले मन ज्यादै शिथिल थियो। दराजबाट वाइन झिकें र एक्लै बसेर पिउन थालें। नशासँगै विस्तारै भावुकता पनि बढ्दै गयो र जिन्दगीलाई पछाडि फर्केर हेरें।

फिक्का हुँदै गएको हाम्रा प्रेमिल सम्बन्धले मर्माहत बनायो। निकै बेरसम्म प्रेमयात्राका स्वर्णीम पलहरूमा पोखिएँ। कलेज बंक गरेर बरालिएका दिनहरूको सम्झनाले उकुसमुकुस भएँ। डेटिङमा गएको स्वप्निल दिनहरू मानसपटलमा सल्बलाए।

संघर्ष गरेर विवाह गरेको दिनहरू पनि सम्झिएँ। सप्तरंगी इन्द्रेणीजस्ता ती सबै यादहरूले भावुक बनायो।
रात छिप्पिँदै गयो र म अनुभूतिको विचित्र अवस्थामा पुगें।

भित्तामा टाँगिएको मानव र मेरो फुङ्ग उडेको तस्वीर हेरें, मनमा नमीठो पीडा भयो। झ्यालबाट बाहिर हेरें, निष्पट्ट अँध्यारो थियो।

घर अगाडिको डाँडामा लस्करै ताराहरू दौडिएजस्तो देखें। अचम्म मान्दै तिनलाई गहिरिएर हेर्दा ताराहरू नभइ सडकमा गुडेका गाडीका बत्ती रहेछन्।

आफ्नो भ्रमित चेतनाप्रति दंग परेर लामो सास फेरें ! यसरी नै मेरा थुप्रै एक्ला रातहरू वाइनको सहारामा बित्दै गए।

एकदिन बिहान बैठक कोठामामा मानव पत्रिका पढिरहेको रहेछ। मलाई देखेर उसले एउटा फिक्का हाँसो हाँस्यो र मैले पनि त्यसै गरें। सधैंको जस्तै आज पनि हामीले एक अर्काप्रति कुनै चासो राखेनौं।

केही वर्षदेखि दिनहरू यसरी नै आत्मीयताविहीन भएर बितिरहेका थिए। न कुनै सरोकार, न माया र न गुनासो। ऊ अझै पनि पत्रिकैमा व्यस्त थियो र म पनि मोबाइल हेर्न थालें। केहीबेर पछि हामी दुवै जना आ-आफ्नो अफिसतिर लाग्यौं।

अफिस पुगेर सोचें, कति सजिलै टुट्दा रहेछन् आत्मीय सम्बन्धहरू पनि। मेरो अधिकृत स्तरको सरकारी जागिर र फैलिँदै गएको मानवको व्यवसाय, अरू के चाहिँदो रहेछ मान्छेलाई पराई बनाउन।

हामी थाहै नपाई समयको गजबको परिबन्दमा पर्‍यौं। केही भ्रम, केही अन्धविश्वास, केही अभिमान र केही आशक्ति। यी सबै कुरा यति निर्मम बने कि, हाम्रो आत्मीयता सिसाजस्तै चर्कियो।

समयले कहिलेकाहीँ अनुभूतिभन्दा पनि टाढा पुर्‍याउँथ्यो र केहीबेर म शून्य हुन्थें। फेरि, पछि मनमा अर्को भाव आउँथ्यो र सोच्थें, के जिन्दगीको यो बिरानो बाटो हामीमध्ये एक जनाले मात्रै कोरेका थियौं ? यस्तोबेला अक्सर मेरो चेतना धमिलो हुन्थ्यो।

मानवका अत्यधिक मदिरामय रातहरू सम्झेर निकै पीडा भयो। उसका अनेकौं केटीहरूसँगको अमर्यादित सम्बन्धले दिएको तनाव सम्झरे झन मर्माहत भएँ।

कहिलेकाहीँ छोरीको कारण चिसो सम्बन्धमा आउन खोजको न्यानोपन पनि सम्झें।

सम्बन्धहरू केबल औपचारिकतामा खुम्चिसके पनि आत्मीयता देखाउन हामी दुवैले सामाजिक सञ्जालमा गर्ने गरेको नाटक सम्झेर पनि विस्मित भए । घडी हेरेँ, रातको बाह्र नाघिसकेछ, निन्द्रा लागेन र फेरि वाइनकै सहारा लिएँ।

भोलिपल्ट बिहान, काम सघाउने केटी चिया लिएर आइन्। उनको त्यो हँसिलो मुहारमा आज गहिरो उदासी थियो। उनले चियाको कप टेबलमा राख्दै गहभरि आँसु पारेर भनिन्, ‘अब म यो घरमा बस्न नसक्ने भए दिदी।’

मलाई अचम्म लाग्यो र मैले मायालु भावमा सोधें ‘किन रूपा ? के भयो र? कसैले केही भन्यो र तिमीलाई ?’ उनले आँसु पुछ्‌दै भनिन्, ‘होइन दिदी, तर घर, घर जस्तो भए पो ? बटुवाहरू बास बस्ने पाटीजस्तै भएको छ। कसैमा कुनै भावना छैन, केवल तनावपूर्ण सन्नाटा छ। एकअर्काप्रति माया, ममता र विश्‍वास भए न घर हुन्छ, त्यही नै नरहे पछि के भनेर बस्नु र दिदी’ उनका शब्दहरू मलाई नमीठोसँग बिझाए र म केही पनि बोल्न सकिनँ।

उनी भन्दै गइन्, ‘सम्बन्ध त कलिलो बिरूवाजस्तै हो, गोडमेल र स्याहार गरे पो मौलाउँछ त। मन फाटेको भए पनि, बेलैमा जोड्नु पर्छ। नत्र झन् ठूलो धाँजा फाट्छ। कति दिन यसरी बस्नु हुन्छ तपाईंहरू, एउटै घरमा अपरिचत भएर। त्यो मायालु छोरीलाई कता पठाउनु हुन्छ दिदी ?’ सँगै ल्याएको चिया टेबलमा राखेर उनी गइन्।

मलाई भने भावुकताको पराकाष्ठामा पुर्‍याइन्।

समय यसरी नै बित्दै गयो। शरद ऋतुको एउटा बिहान, छतमा कलिलो घाम ताप्दै, हिउँदे टुसारोले ठिंगुराएका फूलहरू सुमसुम्याउँदै थिएँ।

मोबाइलमा नोटिफिकेसन आयो, कठ्याङ्ग्रिएका हातले मोबाइल समाएर हेरें, संगीताको मेसेज थियो,’तिम्रो पतिदेव र म यतिबेला थाइल्याण्डमा जिन्दगीको भरपूर मजा लिइरहेका छौं।’

मेसेज पढेर दिमाग रन्थनियो, फेरि अर्को मेसेज आयो, त्यसमा दुवै जनाको आपत्तिजनक तस्वीर देखेर म चकित परेँ र त्यो निकृष्टता देखेर उनीप्रति झन घृणा जाग्यो।

एकै छिनमा दिमाग शून्य भयो र घरअगाडि ठण्डीले पात झरेको नास्पातीको रूखलाई हेरें र सौन्दर्यविहीन त्यो नांगो रूखले मनलाई झन् उदास बनायो।

यसैबीच छोरीले पछाडिबाट आँखा छोपी, मेरो आँसुले उनका कोमल हातमा स्पर्श गर्‍यो।

आश्चर्य भावमा उनले मलाई सोधिन्, ‘ममी, हजुर बिहानैदेखि रूनु भएको ?’ मैले ढाँट्दै भनें, ‘होइन छोरी, आँखा बिझायो’ उनले मेरो मोबाइल खोसिन् र त्यो आपत्तिजनक तस्वीर पनि देखिन्।

त्यसपछि निकै बेरसम्म केही बोलिनन् र पछि बिस्तारै भनिन्, ‘मलाई बाबाको चरित्रमाथि शंका थियो ममी … ‘ एउटा बाबु आफ्नै किशोर छोरीको नजरबाट नगिरोस् भन्ने मेरो प्रयास विफल भयो तै पनि, मैले कुरा बनाएर भनें, ‘यो तस्वीर त मेरै साथीले फोटोसपबाट त्यस्तो बनाएर ठट्टा गरेकी हो।’

छोरी आक्रोशित हुँदै भनी, ‘कति लुकाउनु हुन्छ ममी ? के हजुरको आँखाको आँसु पनि ठट्टा नै हो ?’

म नाजवाफ भएँ।

छोरी अमिलो अनुहार लिएर कोठातिर लागी, म आफ्नै जिन्दगीको तमासा हेरिरहेँ।

धेरै दिनपछि मेसेन्जरमा सबिनको मेसेज आयो। उसले लेख्यो ‘म नेपालमै छु, भेटेर कुरा गरौं न’।

हामी त्यहि दिन अपरान्ह बानेश्वरको रोज क्याफेमा भेट्यौं।

केही समय कलेजका पढ्दाका स्मृतिहरूमा नोष्टालजिक भयौं। पछि, उसले लामो सुस्केरा लिँदै भन्यो, ‘हेर मालती! अब म फर्किने बेला भयो, आमालाई त दिदीको जिम्मा लगाएँ तर छोरी होस्टलमा छिन्, उनकै गहिरो चिन्ता लिएर जाँदैछु म।’

मैले आश्चर्य भावमा सोधें, ‘अनि संगीता ?’

कहीबेर अकमकिएर उसले भन्यो, ‘दुई महिना जति भयो कुनै खबर छैन। सुन्छु, इन्डियाको कुनै रियल स्टेट व्यवसायीसँग हिँडेकी छ रे।’ उसको कुरा सुनेर म अवाक भएँ।

सबिनले रसिला आँखा पारेर भन्दै गयो ‘के गर्नु मालती, परदेशमा बसेर सुखद सपनाहरूको खात लगाउँदै गएँ तर कुन बेला तिनमा आगो लाग्यो पत्तै पाइनँ ! घर उसैको नाममा थियो, उताबाट पठाएको लाखौं रुपैयाँको त कुरै छोडौं! भाग्यमै नलेखिएपछि पाइँदो रहेनछ मालती! आज अकस्मात जिन्दगीले ढुंगामाथि पछारिदियो मालती ! भित्रैदेखि टुटेको छु। हेरौं फेरि उठ्न सक्छु कि सक्दिनँ !’

उसको कुरा सुनेर निःशब्द भएँ, धेरै बेरसम्म उसका आँखा ओभाएनन्। म पनि उस्तै हालतमा घर फर्किएँ।

मन थकित थियो, त्यही भावमा घर पुगें र बैठक कोठामा बसें। घृणा, सहानुभूति र मायाको फरक-फरक अनुभूतिले गिजोलिरहे।

नियतिको एउटा कुरूप चेहरा आँखाअगाडि आयो।

केही बेरपछि अनुहारमा गहिरो उदासी लिएर छोरी आइपुगिन् र मेरोअगाडि पत्रिका फ्याँकेर सोफामा बसिन्। के होला पत्रिकामा भनेर मनमा चिसो पस्यो र केही नभनी चुपचाप पत्रिका पढ्न थालें।

पढ्दै गएँ, थाहै नपाई आँसु बगेर ओठसम्म आइपुगे, त्यो नुनिलो आँसु पुछ्‌दै छोरीको अनुहार हेरें।

‘सबै लिलाम हुने भो होइन ममी ?’ उनको आँखाको आँसु हेर्न सकिनँ र नजर लुकाउँदै सम्झाएँ, ‘चिन्ता नगर छोरी, मेरो अफिसबाट पैसा आउँछ, मसँग केही बचत पनि छ, मामाघरबाट पनि सहयोग मागौंला, पाँच करोड त हो, म जसरी पनि तिरौंला नि, किन चिन्ता लिन्छौ तिमी ?’

छोरी निकै बेरसम्म रोइरहिन्, मैले कपाल सुमसुम्याउँदै उनलाई फुल्याउने कोसिस गरें।

केही समयपछि उठेर छोरीले भनिन्, ‘ममाथि अन्याय भयो मामु! तपाईंहरूको सम्बन्धको दरारमा मेरो स्वर्णीम बाल्यकाल यसरी च्यापियो कि म कहिल्यै पनि खुसी हुनै पाइनँ। जीवनको अठार वर्ष वात्सल्यविहीन भएर होस्टलमा बिताएँ। बाबा-ममीको ओठमा हाँसो कहिल्यै पनि देखिनँ। कसलाई के भनौं म खोई ? यो सम्बन्धले हामीलाई पीडाबाहेक केही दिएन। बुवाको चरित्रहीनताले त झन् सडक मै पुर्‍याइदियो।’

म उनका कारुणिक शब्दहरू विस्मित भएर सुनिरहें।

उनलाई रोक्न पनि मन लागेन, गुम्सिएर बसेका पीडाहरू पोखिन दिएँ।

उनी भन्दै गइन् ‘अचम्म लाग्छ ! वर्षौंदेखि यति बिरानिएर पनि किन यो सम्बन्ध टुटेको छैन ? अझै पनि कुन आशा, भरोसा र दबाबमा झुण्डिरहनु भएको छ तपाईं ? खोई कहाँनिर छ तपाईंको जीवन ? केमा छ तपाईंको खुसी ? आफ्नो लागि पनि त बाँच्नुहोस् ममी! परम्परा, परिवार र मर्यादाको नाममा जिउँदै नमर्नुहोस्, डिभोर्स गरेर एउटा नयाँ जीवनको सुरू गर्नुहोस् र किनभने जिन्दगी लामो छ।’

छोरीका कुराहरूले म आश्चर्यमा परेँ, हाम्रो सम्बन्ध र जीवनप्रति उनको परिपक्व दृष्टिकोण देखेर म कायल भएँ।

त्यही बेला मोबाइलको घन्टी बज्यो।

मैले फोन उठाएँ।

मानवको कार्यालय सहयोगी हतार-हतारमा बोल्यो ‘म्याडम ! घर लिलामीको सूचना पढेपछि सरलाई हर्ट-अट्याक भयो, अहिले गंगालालमा हुनुहुन्छ, होस छैन, एकदम सिरियस हुनुहुन्छ।’

उसको कुराले मलाई करेन्ट लागेजस्तो भयो, मेरो चेताना डगमगायो।

म जुरूक्क उठें, कसैलाई केही पनि नभनी गाडीमा बसें, छोरी पनि पछि-पछि ‘ममी के भयो ?’ भन्दै आइन्, उनले समाएर झड्कालेपछि मात्र मेरो तन्द्रा भंग भयो र भनें, ‘बाबा, गंगालाल हस्पिटलमा’

‘के भयो बाबालाई?’ मैले कुनै जवाफ दिइनँ। गाडी स्टार्ट गरें, छोरी पनि सँगैको सिटमा बसिन्।

राति बाटो खाली थियो, अस्पतालबाट फेरि फोन आयो, मनमा कुनै अनिष्टको कल्पना गरें, छोरीले फोन उठाइन्। फोन राख्दै छोरीले भनिन्, ‘गाडी अलि छिट्टो चलाउनु न ममी!’

मेरो हात खुट्टा काँप्न थाल्यो, बडो मुश्किलले गाडी अस्पतालसम्म पुर्‍याएँ।

हामी दौडिएर वार्डमा पुग्यौं, डाक्टरले भने, ‘हेर्नुहोस्, समय एकदम कम छ, उहाँको तत्काल अपरेसन गर्नुपर्छ, त्यो मात्र एउटा विकल्प बाँकी छ। तर केस यति सिरियस छ कि, अपरेसन पछि पनि के हुन्छ भन्न पनि सकिँदैन।’

मैले कागजमा हस्तक्षर गरें।

अचेत मानवलाई अपरेसन थिएटरमा लैजाँदै गरेको देख्यौं। उसको मुखमा अक्सिजनको मोटो पाइप, शरीरभरि अनेक थरिका उपकरण र तारहरू बेरिएको थियो।

आफ्नो बाबुलाई त्यो हालतमा देखेर छोरी मुर्छा पर्लिन् जस्ती भइन्। मैले पनि जिन्दगीको अनित्यपन र क्षणभंगुरतालाई एक्कैपटक भित्रैबाट अनुभूत गरें, आँखाबाट आँसु थामिएन।

जब मानवको जीवनको प्रश्न आयो त्यसपछि मेरो दिमागमा अरू केही आए ।

उसलाई केही भयो भने…भन्ने सोचले विचलित भएँ। नाम थाहा पाएका सबै देवी-देवताहरूसँग मनमनै प्रार्थना गरें। भाग्यवश उसको अपरेसन सफल भयो तर पूरा होस आउन अर्को आठ घण्टा लाग्यो।

मानव होसमा आएपछि हामी आमा-छोरी नै उसको अगाडि गयौं। मलाई देखेर उसको आँखाबाट आँसु बगिरह्यो र मैले पनि आफूलाई रोक्न सकिनँ।

उसको आँखाको आँसु पुछिदिएँ, काँपेका दुवै हातले उसले मेरो हत्केला च्याप्प समायो र आँखा चिम्लियो। बन्द आँखाबाट ढिक्का-ढिक्का भएर आँसु झरिरहे।

उता, छोरी पनि दाँतले ओठ टोकेर आफ्नो रूवाई रोक्ने प्रयास गर्दै थिई।

सायद, त्यही एक पलले सारा सोच बदलिए। मैले अवरूद्ध गलामा उसलाई भनें, ‘तिमीलाई केही हुँदैन मानव …’

उसले बडो मुश्किलले याचना भरिएको आवाजमा भन्यो, ‘मालती ! जिन्दगीले त फेरि अर्को मौका दियो ! तर के तिमी पनि मलाई माफ गर्न सक्छ्‌यौ ?…

उसका आँखाबाट अविरल आँसु बगिरहे र म अनुभूति शून्य भएर उसलाई हेरेको हेर्‍यै भएँ।

(केसीको कथा ‘बाबासँग डिभोर्स गरेर नयाँ जीवन सुरू गर्नुस् ममी !’ सेतोपाटीबाट साभार गरिएको हो)

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट